काठमाडौँ —एमालेको माघ २०५९ मा जनकपुरमा भएको सातौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव राखे तर पारित हुन पाएन । तत्कालीन महासचिव माधवकुमार नेपालले त्यसलाई अस्वीकार गर्दा ओलीले स्थगित गर्नुपर्यो । तर पनि उनले त्यसलाई निरन्तर अघि बढाए ।
बुटवलमा फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा ओलीको पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव पारित भएपछि एमाले बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण भयो । एमालेको आन्तरिक लोकतन्त्रमा यो कोशेढुंगा मानियो । संस्थापनको पेलानमा पर्दा पनि ओलीले फरक मत राखेका थिए ।
तर ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनसम्म आइपुग्दा आफैंले अघि सारेको पार्टीको लोकतान्त्रीकरणसम्बन्धी प्रणालीलाई एमाले अध्यक्ष रहेका ओली स्वयंले भत्काएका छन् । १९ भदौको केन्द्रीय सचिवालय बैठकले लिखित फरक मत दर्ता गरेका नेतालाई महाधिवेशनमा बोल्न दिने निर्णय गरे पनि शनिबार त्यसमा रोक लगाइएको छ ।
ओलीले आफै भत्काउदै पार्टी भित्रकाे लाेकतान्त्रिक पद्धति