पवन यादव
बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी फेला परेको छ।
प्रहरीका अनुसार बा १४ च ८९२५ नम्बरको खाली बोलेरो गाडी मिति २०८३ साउन १९ गतेदेखि सो स्थानमा रहेको जानकारी स्थानीयले दिएका थिए। वडा सदस्य राकेश सुब्बाले बुधबार बिहान करिब ११ बजे टेलिफोनमार्फत प्रहरी चौकी पथलैयालाई गाडी बेवारिसे अवस्थामा रहेको जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) धर्मबहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा गाडी खाली अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त बोलेरोलाई नियन्त्रणमा लिएर प्रहरी चौकी पथलैयामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ। घटनास्थल प्रहरी चौकी पथलैयाबाट करिब एक किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको धर्मेश्वर मन्दिर अगाडि पर्छ।
हाल गाडी कसको हो, किन बेवारिसे अवस्थामा छोडिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। साथै गाडीका वास्तविक धनीको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बाराको प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिनु भयो ।
