बीरगन्ज नाकाबाट एक खर्ब ३५ अर्ब ५९ करोड बढीको मालबस्तु भारत तथा तेस्रो मुलुकबाट आयात

गढी न्यूज

बीरगन्ज — मुलुकको प्रमुख स्थल नाका वीरगन्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा आयात, निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ। तर आयातको वृद्धि निर्यातको तुलनामा धेरै रहेकाले व्यापार घाटा भने अझै उच्च नै रहेको देखिएको छ।
वीरगन्ज भन्सार कार्यालयको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै ९ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवमा ८ खर्ब ५० अर्ब ८४ करोड बराबरको आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयातमा १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ बढीको मालबस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएको छ। जुन करिब १६ प्रतिशतले बढी हो ।
यस्तै, गत आवमा यो नाका हुँदै १ खर्ब १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा १ खर्ब ८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तुलनात्मक रुपमा निर्यात ६ अर्ब ८३ करोड रुपैयाँले बढेको छ । जुन ६ प्रतिशतले बढी हो ।
आयातको तुलनामा यसको हिस्सा निकै न्यून भएकाले व्यापार सन्तुलनमा उल्लेख्य सुधार आउन सकेन। राजस्व संकलनतर्फ पनि सकारात्मक वृद्धि देखिएको छ। गत आवमा कुल २ खर्ब ४३ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने अघिल्लो आवमा २ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । तुलनात्मक रुपमा १८ अर्ब २३ करोड रुपैयाँ बढी राजश्व संकलन भएको छ । जुन ८ प्रतिशतले बढेको हो ।
यद्यपि निर्यात बढेको देखिए पनि आयातको परिमाण अत्यधिक भएकाले व्यापार घाटा घट्न सकेको छैन। औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, सवारीसाधन तथा उपभोग्य वस्तुको उच्च आयातले कुल व्यापार सन्तुलनमा दबाब कायम राखेको देखिन्छ। निर्यात वृद्धिदर आयातको तुलनामा निकै कम रहेकाले व्यापार घाटा अझै चुनौतीकै रूपमा रहेको तथ्यांकले पुष्टि गरेको छ।
यो नाकाबाट आयात हुने मुख्य बस्तुमा नयाँ सवारी साधन, इन्धन, फलाम तथा फलामबाट बनेका सामान, मेशिनरी तथा पार्टपुर्जा, कपडालगायत रहेका छन् । त्यसैगरी निर्यात हुने मुख्य बस्तुहमा भटमासको प्रशोधित तेल, फलफुलको जुस, सूर्यमुखीको प्रशोधित तेल, बिभिन्न किसिमका कपडा, सेन्थेटिक यार्नलगायत रहेका छन् । आयात र निर्यात दुबै भारतबाटै र भारतमा बढी हुने गरेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम व्यापार घाटा कम गर्न स्वदेशमा स्वदेशी कच्चा पदार्थबाटै औद्योगिक उत्पादन वृद्धि नगरेसम्म सम्भव नरहेको बताउँछन् । बिशेषगरी दैनिक उपभोग्य बस्तु र औद्योगिक कच्चा पदार्थ उत्पादन कार्यलाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको उनको बुझाई छ ।

Share This Article