काठमाडौंमा बिहिबार कांग्रेसका सभापति देउवा र महामन्त्री शर्माले अबिर, टीका लगाएर पार्टी प्रवेश गराएका यादवको सदस्यता शुक्रवार रद्द

गढी न्यूज

महोत्तरी — मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई हत्या आरोपमा फरार देवेन्द्र यादव कांग्रेसमा प्रवेश गरेको दोस्रो दिन सदस्यता खारेज भएको छ ।

काठमाडौंमा बिहिबार कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले अबिर, टीका लगाएर पार्टी प्रवेश गराएका यादवको सदस्यता शुक्रबार खारेज भएको हो ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव, महोत्तरीका प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवले काठमाडौं पुगेर सशस्त्र प्रहरीको हत्या आरोपमा फरार सूचीमा रहेका यादवलाई पार्टी प्रवेश गराएका थिए ।

हत्या आरोप लागेर फरार सूचीमा रहेको जानकारी नभएकोले पार्टी प्रवेश गराएको र जानकारी आएपछि शुक्रबार सदस्यता खारेज भएको कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले बताए । कांग्रेसले बिहीबार दिएको सदस्यता शुक्रबार रद्द गरेको यादवले बताए ।

सद्भावना, राजपामा आबद्ध भई मधेश आन्दोलनमा लागेका थिए । २०७४ को संसदीय निर्वाचनमा राजपाबाट टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार भएपछि कुनै दलमा आबद्ध नभएका यादव मुद्दामा सहयोग पाउने उद्देश्यले कांग्रेस प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरी जिल्ला नफर्किंदै सदस्यता खारेज भएपछि देवेन्द्र यादवले अधिकारको लागि भएको आन्दोलनमा राजनीतिक प्रतिशोध लिन मुद्दा लगाइएको र अदालतबाट मुद्दा किनार लगाउन आफू अगाडि बढ्ने बताए ।

यादव जोडिएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरु रमेहप्रसाद साह, सविन्द्र चौधरी, चन्देश्वर साह, राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विकी साह, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु विन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर लगायतका फरार छन् ।

सोही मुद्दामा लोसपाका प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको आदेश दिएको छ । महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो । जन्म कैदको सजाय पाएकाहरु समेत फरार छन् ।

फरार भएर उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको छ । उनीहरुको पेशी पटकपटक स्थगित हुँदै आएको छ । विकको हत्या मुद्दामा एमाले सांसद कोइरीसहित पवन कापरलाई सफाइ दिएको थियो ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिइ लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍याएको र जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी वडा नम्बर ८ सनोखडाको धान खेतमा आन्दोलनकारीले हत्या गरेको घटनामा यादव प्रहरीको सूचीमा फरार अभियुक्त हुन् ।

महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ । यादव फरार रहेकै मुद्दामा पूर्वप्रदेश सांसद कौशलकुमार यादव थुनामा छन् । मधेश आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि ०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जना विरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो ।

Share This Article