बारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीसहित तीन जनाको मृत्यु

गढी न्यूज

पवन यादव

बारा- बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार साँझ करिब ५ः४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका अन्दाजी ३५ वर्षीय एक पुरुष पैदल यात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदल यात्रीसहित मोटरसाइकलमा सवार दुई जना युवक गम्भीर घाइते भएका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौला नेतृत्वको टोली तथा ट्राफिक प्रहरी घटनास्थलमा खटिएको थियो। घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल तथा बयोधा अस्पताल पठाइएको थियो।

उपचारका क्रममा अन्दाजी ३५ वर्षीय नाम, थर र वतन नखुलेका पैदल यात्रुलाई साँझ ६ः१५ बजे नारायणी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी मोटरसाइकलमा सवार काठमाडौं टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी र बारा जितपुरसिमरा उपमहानगरपालिका- १ पथलैयाका प्रभु अधिकारीका अन्दाजी २० वर्षीय छोरा सभ्य अधिकारीलाई बयोधा अस्पतालका चिकित्सकले साँझ ६ः०० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनास्थलमा कुनै सडक अवरोध नभएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share This Article