बारा – पन्ना देवी कन्या माध्यमिक विद्यालय, कलैयाले विद्यालयको नाम जोडेर प्रकाशित गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न छापा तथा अनलाइन संचार माध्यममा प्रकाशित समाचार तथ्यहीन, अपुष्ट तथा आधारहीन रहेको दाबी गरेको हो।
विज्ञप्तिअनुसार विद्यालयको जग्गाबाट भएको आम्दानी तथा आर्थिक प्रशासनसम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारले विद्यालयको प्रतिष्ठामा आँच पुर्याउने प्रयास गरेको उल्लेख गरिएको छ।

विद्यालय परिवारले यस्ता भ्रामक समाचारको कडा शब्दमा भर्त्सना गर्दै सरोकारवाला सबैलाई सत्यतथ्य बुझ्न आग्रह गरेको छ।
विद्यालयले बक्यौता रकम रहेका जग्गा जोताहामाथि रकम असुलउपरका लागि सम्बन्धित निकायमार्फत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी समेत दिएको छ।
साथै, आगामी दिनमा विद्यालयको मर्यादा र प्रतिष्ठामा असर पर्ने गरी तथ्यहीन तथा आधारविहीन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई सचेत गराइएको छ।