बारा- आदर्श कोतवाल गाउँपालिका अध्यक्षले उजुरी दिएकै आधारमा बारा प्रहरीले जिल्लाका दुई जना सामाजिक अभियन्तालाई हिरासतमा लिई अनुसन्धान सुरु गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला अदालतबाट पाँच दिनकाे म्याद अनुमति लिई दुबै जना अभियन्तालाई रित पुर्वक हिरासतमा राखी थप अनुसन्धान सुरु गरेकाे छ ।
बाराकाे आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका ३० वर्षीय सामाजिक अभियन्ता प्रदीप प्रसाद कुशवाहा र वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंहलाई शुक्रबार अनुसन्धानका लागि जिल्ला अदालत बाराले पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
आदर्शकोतवाल गाउँपालिकामा भएको तोडफोड तथा तालाबन्दी घटनासम्बन्धी गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीका आधारमा उक्त दुवै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आपराधिक उपद्रव मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप लिइ दुवै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
जिल्लामा उपद्रव फैलाउने कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउने कार्य प्रहरीले सुरु गरी सकेको जनाईएकाे छ ।