राैतहट- राैतहट जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा रातदिन खुलेआम तस्करी भइरहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। बनजराहा, औरैया, मठ्ठीया, लतमरी, जयनगर, घिउरा, रामपुरखाप, नरकटिया, बंकुलको बासघारी, अरुवा खोला र बडा बंकुल लगायतका नाकाबाट रातिको समयमा निर्बाध रूपमा तस्करी भइरहेको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार सीमावर्ती क्षेत्रमा दारु, कपडा, खैनी, स्पेयर पार्ट्स, धानको बीउ लगायतका सामान व्यापक रूपमा भित्र्याइँदै आएको छ। बनजराहा निवासी अमजित साह, मिश्रिलाल, मोहन कुशवाहा, नुर सैयद, जितेन्द्र, कासिम, अजय सिंह, मुस्ताफा, राजु जयसवाल, मुकेश पटेल, नवल तथा भारतीय तस्कर श्यामसुन्दर, सन्तोष, जयप्रकाश साह, राजु गिरी लगायतको सक्रिय संलग्नता रहेको स्थानीयको दाबी छ।
स्थानीय पत्रकार कमल यादवका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बिओपी सरमुजवामा कार्यरत वरिष्ठ हवलदार रामजनम यादवले रातिको समयमा नरकटिया नाकामा बसेर तस्करहरूसँग मोटाे रकम असुल्ने गरेको आरोप छ। उनलाई सप्रनि नबिन अलीको “कमाउपुत्र” का रूपमा चिनिने गरिएको स्थानीयको भनाइ छ।
यस्तै बिओपी सरमुजवा, बिओपी औरैया र बिओपी फतुवाका इन्चार्जहरू राति बिओपी रामपुरखापमा भेला भएर तस्करीको लाइन मिलाउने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। सीमामा खटिनुपर्ने सुरक्षाकर्मी नै तस्करको संरक्षक बनेपछि राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठेको स्थानीय बताउँछन्।
स्थानीयवासीका अनुसार रातिको समयमा दर्जनौं मोटरसाइकल र साइकलमार्फत भारतीय बजारबाट अवैध सामान नेपाल भित्र्याइँदा पनि सम्बन्धित निकाय मौन बसेको छ। “सीमामा सरकार छैन, तस्करको राज चलेको छ,” एक स्थानीयले आक्रोश पोख्दै भने।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट ले खुला सीमाका कारण चोरी तथा तस्करी बढेको प्रतिक्रिया दिएको छ।
उता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले चोरी–तस्करी जस्ता गैरकानुनी गतिविधिमा संलग्न जोकोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।
जिल्लाका शान्ति सुरक्षा कायम गर्न र अवैद्ध काराेवार राेक्न आफू प्रतिवद्ध रहेकाे उनले बाताएका छन । खुला सिमाना भएकाे कारण काम गर्न कठिन भएकाे बताउदै उनले सिमा क्षेत्रमा हुने गरेकाे अवैध गतिविधि राेक्न जिल्लाका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिईसकेकाे जानकारी दिए ।