हुथीका बिग्रेडियर जनरल याया सारेले आफ्नो लक्ष्य हासिल नहुदाँसम्म यस युद्धमा सहभागी हुने बताए । उनले इजरायलका संवेदनशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको बताए ।
इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको छ । बियर सेब्बा आसपास र इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक हुथीले आक्रमण गरेपछि शुक्रबार राति चेतावनीस्वरुप साइरन बजेको थियो ।
इजरायल र पश्चिम एशियाका देशहरुले इरानमाथि विद्रोही संगठनहरुको मलजल गरेर क्षेत्रीय अस्थिरता फैलाएको आरोप लगाउँदै आएका छन् ।
इरानको सहयोगी संगठन हिजबुल्लाहले २ मार्चदेखि नै इजरायलसँग लेबनानमा लडिरहेको छ । जवाफमा इजरायलले हिजबुल्लाह बाहुल्य दक्षिण लेबनानमा आक्रमण गर्दै आइरहेको छ । अहिलेसम्म ११ सयभन्दा धेरै जनाले लेबनानमा ज्यान गुमाइसकेका छन् ।
इरानसँग निकटमध्ये हुथी एक प्रमुख संगठन हो । सन् १९९४ मा यमनमा स्थापना भएको कट्टरपन्थी सिया इस्लामिक संगठन हुथीलाई प्रशिक्षण, हतियार तथा आर्थिक सहयोग उपलब्ध गराएको आरोप इरानमाथि लाग्दै आएको छ । इरानी सत्ताजस्तै यस संगठनले इजरायल-अमेरिका विरोधी तथा इस्लाम धर्मको प्रवर्द्धन गर्ने मान्यता राख्छ ।
सेप्टेम्बर २०१४ मा हुथीले राजधानी साना कब्जा गरेसँगै यमनमा गृहयुद्ध चर्किएको थियो । अहिलेसम्म देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएर गृहयुद्धको प्रमुख शक्तिका रुपमा हुथीले आफुलाई उभ्याएको छ ।
यसक्रममा सर्वसाधारणको हत्या, लुटपाट, डकौती तथा बलात्कारजस्ता गम्भीर मानव अधिकार उल्लंघनको आरोप यस समुहका लडाकुमाथि लाग्दै आएको छ । जसलाई यस समुहले अस्विकार गर्छ ।
अमेरिकाले १० जनवरीदेखि १६ फेब्रुअरी २०२१ सम्म यस समुहलाई विशेष विदेशी आतंककारीको सुचीमा राखेको थियो । तर यमनमा मानवीय राहतका सामाग्री पुर्याउन कठिन हुने देखिएपछि बाइडेन प्रशासनले केही समय हुथीलाई सुचीबाट हटाएको थियो ।
डोनाल्ड ट्रम्पले दोस्रोपटक कार्यकारी राष्ट्रपतिको सपथ लिएको दुई दिनमै २२ जनवरी २०२५ मा हुथीलाई विशेष विदेशी आतंककारीको सुचीमा राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । ४ मार्चदेखि कार्यान्वयनमा आएको यो आदेश अहिलेसम्म पनि कायमै छ ।
अमेरिका–इजरायलले इरानमा २८ फेब्रुअरीमा आक्रमण गरेपछि केही समय हुथीले समय ‘पर्ख र हेर’ नीति लिएको थियो । तर, युद्धले क्षेत्रीय र वैश्विक अर्थतन्त्रलाई नै गरेपछि यसमा सहभागी हुनुपरेको हुथीले जनाएको छ ।
‘यो अपरेशन हाम्रा दाजुभाईहरु, इरानमा लडाकु र लेबनानमा हिजबुल्लाहले गरिरहेको अपरेशनसँगै चलिरहेको छ,’ हुथीले भनेको छ, ‘यस अपरेशनले हाम्रो लक्ष्य सफलताका साथ हासिल गरेको छ ।’
रेड सी अवरोधको जोखिममा
हर्मुजको जलघाँटीमा अवरोध सिर्जना भइरहेको अहिलेको समयमा साउदी अरेबियाले पाइपलाइनमार्फत रेड सी हुँदै बाहिरी विश्वमा सिमित मात्रामा इन्धन पठाउँछ ।
यमनको समुद्री क्षेत्रमा हुथीको नियन्त्रण भएकाले द्वन्द्वमा हुथीको प्रवेशलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसले तेलको प्रमुख निर्यातकर्ता साउदी अरेबियालाई ठूलो समस्यामा पार्नसक्छ ।
एशिया र युरोपबीचको व्यापारका लागि रेड सी महत्वपूर्ण कोरिडोर मानिन्छ । यस जलघाँटी हुँदै वार्षिक १ ट्रिलियन मुल्य बराबरको सामाग्री बाहिरिने गर्छ ।
समुद्र हुँदै व्यापार हुने कच्चा तेलको दश प्रतिशत हिस्सा बाब इल मान्देब जलघाँटी हुँदै जान्छ । यो चोकपोइन्ट निकै साँघुरो छ । केवल १६ माइल चौडाइले अरब प्रायद्वीपलाई अफ्रिकाको हर्नसँग छुट्टयाउँछ ।
हुथीले यसअघि अक्टुबरमा २०२३ इजरायल र हमासबीचको युद्धका दौरान गाजापट्टीमा भएको आक्रमणको विरोधमा रेड सी क्षेत्र हुँदै जाने व्यवसाहिक जहाजहरुमाथि आक्रमण गरेको थियो ।
जसकारण २०२४ को मध्यसम्म आइपुग्दा रेड सी, स्वेज क्यानल हुँदै भूमध्यसागरमा हुने ढुवानी घटेर ७० प्रतिशतमा झरेको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास एजेन्सीले जनाएको थियो ।
अमेरिकी ऊर्जा सुचना प्रशासनका अनुसार त्यसबेला बाब इल मान्देव जलघाँटीमा कच्चा तेलको ढुवानी आधाले घटेको थियो ।
हुथीले यसपटक पनि यस्तै अवरोध सिर्जना गर्नसक्ने लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर फावाज जर्जेसले एनबीसी न्युजसँग बताए ।
‘इरानमा अमेरिका–इजरायलको युद्ध कुनै सिमित युद्ध होइन । यो पूरा क्षेत्रभर फैलिएको द्वन्द्व हो,’ उनले भने,‘ मेरो चिन्ता यो अब केवल सैन्य द्वन्द्वमात्रै रहेन र अब आर्थिक युद्ध बन्यो, जसमा आपुर्ति चक्रहरु संलग्न छन् । वैश्विक ऊर्जा प्रणाली र सामुद्रिक मार्गहरु जोडिएका छन् भन्ने हो ।’
‘शनिबारको आक्रमणमार्फत हुथीले अमेरिकी र इजरायलीहरुलाई अब के हुनसक्छ भन्ने सन्देश दिएको छ,’ उनले थपे ।
गत वर्ष मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध भीषण बम अभियान चलाएका थिए । युद्धविराम हुनअघि झन्डै ६ साता चलेको लडाइँमा १ बिलियन अमेरिकी डलर बराबरमा महँगा बम र मिसाइल खर्च भएको थियो ।
अमेरिकाले झन्डै १ हजारभन्दा धेरै स्थानमा आकाश र समुद्रबाट आक्रमण गरेको थियो । ६ मेइ २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गर्दै हुथीहरुले हार स्विकार गरेको बताएका थिए ।
ओमानको मध्यस्थतामा भएको यस युद्धविरामपछि हुथी समुहले अमेरिकी जहाजमाथि आक्रमण गरेन, तर इजरायलका जहाजमाथि आक्रमण जारी नै राखेको थियो । लामो समयसम्म युद्धले प्रभावित भएको यस क्षेत्रमा डिसेम्बरमा आएर मात्रै पुरानै संख्यामा जहाजहरु फर्कन थालेका थिए ।
इरानले पनि यस जलमार्गमा आक्रमण गर्नसक्ने संकेत गरेको छ । केही समयअघिसम्म यस क्षेत्रमा अमेरिकी युद्धपोत जेराल्ड फोर्ड बसेको थियो । तर युद्धपोतमा आगलागीको घटना भएपछि यो युद्धपोत ग्रिकको क्रेटे टापु किनारमा मर्मतका लागि गयो ।
इरानले गत सोमबार यस युद्धपोतसँग सम्बन्धित समुहहरुलाई सहयोग गर्ने पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिएको छ ।
ट्रम्पले केही दिनका लागि इरानका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने बताएपनि युद्धमा दुबै पक्षले एकअर्कालाई आक्रमण गर्ने क्रम रोकिएको छैन ।
यसअघि ट्रम्पले इरानसँगको वार्ता अन्तिम चरणमा रहेको दाबी गरेका थिए । तर इरानले यस दाबी अस्विकार गर्दै आएको छ ।
शुक्रबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा इरानले मिसाइल आक्रमण गर्दा केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सैनिक स्रोतले जनाएको छ ।
तर, कोही पनि सैनिक गम्भीर अवस्थामा नरहेको स्रोतले एनबीसी न्युजसँग बताएको छ । कम्तिमा एउटा विमान यस आक्रमणमा क्षतिग्रस्त भएको छ ।
अहिलेसम्म इरानविरुद्धको युद्धमा कम्तिमा ३ सय ३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन् । त्यसमध्ये १० जनाको अवस्था गम्भीर छ । बिहीबारसम्म इरानमा कम्तिमा १९ सय ३७ जनाको मृत्यु भएको र २५ हजारभन्दा धेरै घाइते भएको इरानका सहायक स्वास्थ्यमन्त्री अली जाफारिनले अलजजिरासँग बताएका छन् ।
पाकिस्तानले क्षेत्रीय छलफल आयोजना गर्ने
पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टबीच आइतबारदेखि इरान युद्धको विषयमा दुई दिने छलफल चलाउने भएको छ । चार देशका विदेशमन्त्रीबीच क्षेत्रीय तनाव कम गर्ने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको इस्लामावादको विदेश मन्त्रालयले जनाएको छ ।
इस्लामावादले आफुलाई अमेरिका–इरान सम्भावित वार्तास्थलका रुपमा प्रस्तुत गर्न खोजेको छ । यस बैठकले युद्ध रोक्ने उपायहरुको खोजी गर्ने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताए ।
‘यो युद्धमा सम्झौता कहाँ पुगिरहेको छ ? चार देशले अवस्थालाई कसरी लिएका छन् ? के गर्न सकिन्छ भन्ने विषयमा बहस गर्नेछौं,’ फिदानले भने ।
यसअघि पाकिस्तानले इरानलाई अमेरिकाको तर्फबाट १५ बुँदे युद्धविराम प्रस्ताव पठाएको थियो । इरानी अधिकारीहरुले कुनै पनि सम्झौता पाकिस्तान वा टर्कीमा हुनसक्ने संकेत गर्दै आएका छन् ।