
बारा- एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे रिहाइको माग गर्दै एमाले बाराले आईतवार बारा सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेकाे छ ।
कलैया स्थित पार्टी कार्यालयबाट निस्केको विराेध जुलुसले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बारामा पुगेर विरोध पत्र बुझाएको छ ।
एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा निस्केको विराेध जुलुसका सहभागीले बालेन सरकार मुर्दावाद, श्रद्धय अध्यक्षलाई रिहा गर, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाउदै नगर परिक्रमा गरेका थिए ।
जुलुस सहित जिल्ला प्रशासन कार्यालय बारामा पुगेका जिल्ला अध्यक्ष पाण्डेले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई विराेध पत्र हस्तान्तरण गर्दै यसलाई प्रधानमन्त्री पठाईदिन आग्रह गरेका थिए ।

कार्की आयाेगद्वारा प्रस्तुत प्रतिवेदन प्रतिशाेधपुर्ण, पुर्वाग्राही र न्यायिक सिद्धान्त विपरीत रहेकाे आराेप विरोध पत्रमा लगाईएकाे छ ।
त्यही प्रतिवेदनकाे आधारमा राजनीतिक प्रतिशाेध साध्न पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको आराेप लगाउदै एमालेले देशव्यापी आन्दोलन सुरु गरेकाे छ ।
एमालेकाे आन्दोलनलाई मध्य नजर गरी जिल्लाकाे सुरक्षाव्यवस्था कडा पारिएको छ ।
अहिले बारा सदरमुकाम कलैयाकाे मुख्य चाेकमा ठुलाे संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएकाे प्रत्यक्षदर्शीले बाताएका छन ।
जुलुसमा सहभागी हुन एमाले बारा पार्टी कार्यालयमा गाउँ गाउबाट नेता तथा कार्यकर्ता भेला भएका थिए ।

