काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा दुई जनाबाहेक सबै नयाँ मन्त्री नियुक्त भएका छन् । शिशिर खनाल र विराजभक्त श्रेष्ठ मात्रै यसपटक दोहोरिएका हुन् ।
नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल २०७९ माघमा पुष्पकमल दाहाल सरकारमा शिक्षामन्त्री थिए । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन सरकारमा उनले करिब तीन साता मन्त्री बन्ने अवसर पाए ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पनि दाहाल सरकारका युवा तथा खेलकुद मन्त्री थिए । त्यसबेला कांग्रेस, एमाले र रास्वपा गठबन्धन सरकार थियो ।
यी दुईबाहेक सबै मन्त्री नयाँ हुन् । अर्थमन्त्री स्वर्णिम वाग्ले २०७४ साउनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका थिए । मन्त्रीका रुपमा नयाँ भए पनि उनले नेपालको अर्थराजनीतिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।
शुक्रबार नियुक्त भएकाहरुमा सुधन गुरुङ गृहमन्त्री, खड्कराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । यस्तै, विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, दीपककुमार साह श्रम तथा रोजगारमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् ।
कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्रीमा गीता चौधरी र स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्रीमा निशा मेहता नियुक्त भएका छन् । प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन् ।