
रौतहट- मधेस प्रदेशमा केही महिना देखि विभिन्न सञ्चार माध्यममा तस्करीसम्बन्धी समाचार सार्वजनिक भएपछि तस्करी नियन्त्रणका लागि प्रदेश प्रहरी सक्रिय बनेको छ।
मधेस प्रदेशका प्रहरी प्रमुख डि.आई.जी.गोविन्द थापालियाको निर्देशनमा गठन गरिएको विशेष तस्करी नियन्त्रण टोलीले बुधबार बिहान ठुलो सफलता हात पारेको छ।
बिहान करिब ०६:३० बजे बौधीमाई नगरपालिका–७, बंकुल बजारस्थित नाकामा भारततर्फबाट अवैध रूपमा भित्र्याइएको सामानसहित एक तस्कर पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत, अगर्वा गाउँ निवासी अर्जुन यादव रहेका छन्। उनी ना.६ प ८०२१ नम्बरको नेपाली मोटरसाइकल प्रयोग गरी घोडासाहन बजारबाट ल्याइएको गूड्ड (मिठ्ठा) अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार करिब रु. १ लाख २५ हजार बराबरको तस्करीका सामान बरामद गरिएको छ। नियन्त्रणमा लिइएको तस्कर र सामान आवश्यक अनुसन्धान तथा कारवाहीका लागि स्थानीय प्रहरी चौकी बंकुलमा बुझाइएको मधेस प्रदेश प्रहरी प्रमुख डि.आई.जी. थापालियाले जानकारी दिए।

पक्राउ गरेको मालसामान मोटरसाइकल र तस्कर भारत अगर्वा गाउँ निवासी अर्जुन यादव समेतलाई गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसैबीच,स्थानीय जनप्रतिनिधिहरूले भने सीमाक्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्। बौधीमाई नगरपालिका–७ का वडा अध्यक्ष नरेन्द्र कुमार सिन्हाले पटक–पटक विरोध जनाउँदा पनि तस्करी पूर्ण रूपमा रोक्न नसकिएको बताएका छन्।
त्यस्तै, प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक रमेश प्रसाद कुर्मीमाथि समेत गम्भीर आरोपहरू उठेका छन्। स्थानीय स्रोतका अनुसार तस्करी नियन्त्रणमा कमजोरी हुनुका साथै अवैध गतिविधिसँग सम्बन्धित आर्थिक लेनदेन हुने गरेको आरोप लगाइएको छ। यद्यपि, यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
अर्कोतर्फ, बंकुल बजारस्थित एक होटलमा विगत केही वर्षदेखि अवैध यौन गतिविधि सञ्चालन भइरहेको भन्दै स्थानीयवासीले सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका छन्। तर यस विषयमा प्रहरी प्रशासन हालसम्म मौन देखिएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दो छ।
मधेस प्रदेश प्रहरी प्रमुख डि.आई.जी.थापालियाले सीमा नाकामा हुने तस्करी नियन्त्रणमा कडाइ गरिने स्पष्ट पार्दै, कुनै पनि प्रहरी कर्मचारी तस्करीमा संलग्न देखिए कडा कारवाही गरिने चेतावनी दिएका छन्। साथै, भारतसँग जोडिएका सबै जिल्लाका युनिट इन्चार्जहरूलाई कडाइका साथ निर्देशन दिइएको उनले बताए।
सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि प्रहरीको सक्रियता बढे पनि स्थानीय स्तरमा देखिएका समस्या र आरोपहरूको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

