रौतहटमा छठियारको भोज खाएर घर फर्केका दम्पती बाटैमा अस्ताए

गढी न्यूज

पवन यादव
रौतहट– रौतहटको दुर्गाभगवती गाउपालिका ४ मा मोटरसाईकल दुर्घटनामा परी आईतवार एकै साथ दम्पती अस्ताएका छन ।
रौतहटकै यमुनामाई गाउपालिका ४ निवासी २४ वर्षिय जितेन्द्र साह र उनकी श्रीमति २२ वर्षिया पुनम देवी साह एकै साथ अस्ताएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
आफन्त कहाबाट छठियारको भोज खाएर राती करीब ११ बजे हासीखुशी बि.आर. ३० यू १३७१ भारतिय नम्बरको मोटरसाईकलमा निस्केका दम्पती बाटैमा दुर्घटनामा परी गम्भिर घाईते भएका थिए ।
‘मोटरसाईकल चालक जितेन्द्र भोजमा मदिरा समेत सेवन गरेको आफन्तबाट बुझिन आएको छ,’ उनले भने, ‘सुनसान सडक भएको कारण दुर्घनाबारे समयमै जानकारी आउन सकेन ।’ राती ११ बजे दुर्घटनामा परेका दुबै जनाको टाउको मुख, हात, खुट्टा लगायतमा घाउचोट लागेको थियो ।
गौर–गंगापिपरा झाझ पुल नजिकै उनीहरु सवार मोटरसाईकल आफै अनियन्त्रित भई छेउकै सिसौंको रुखमा ठोकिदा शनिवार राती नै उक्त दुर्घटना भएको डिएसपी बस्यालले जानकारी दिए ।
दुर्घटनामा परी दुबै जना गम्भिर घाईते भएका थिए । दुर्घटनाबारे स्थानीयले बिहान करीब साढे ५ बजे खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले अचेत अवस्थामा रहेका दुबै जनालाई गौर अस्पताल पुर्याएको थियो ।
अचेत दुबै जनालाई उपचारकै क्रममा चिकित्सकले बिहान करीब साढे बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । समयमै उनीहरुलाई अस्पताल पुर्याउन नसक्दा उनीहरुको ज्यान गएको प्रहरी अधिकारीहरुको भनाई छ ।
मृतक दुबै जनाको शव गौर अस्पतालमा राखिएको र दुर्घटनामा संलग्न मोटरसाईकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सवारी साधन नियन्त्रित गतिमा नचलाउदा पछिल्लो समय रौतहट, बारा, पर्सा, सर्लाही लगायतका जिल्लामा सवारी दुर्घटना बढेको प्रहरी तथ्यांकले देखाएको छ ।

Share This Article