पवन यादव
बारा- छुरा प्रहार गरी बारामा एकै परिवारमा दुई जनाकाे विभत्स हत्या गरिएकाे छ । साेही घटनामा दुई जना गम्भीर घाईते भएका छन ।
बाराकाे परवानीपुर गाउपालिका वडा नं. १ रहरियाडिहमा एकै परिवारमा दुई जनाकाे हत्या भएकाे हाे ।
स्थानीय जगरुप महताे धानुककाे घरमा मंगलवार राति करीब एक बजे उक्त घट्ना भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।

धारिलो हतियार छुर्राले घाटी रेटेर जगरुपकी श्रीमती ५० वर्षिया सुमित्रा देवी र छाेरा ३२ वर्षिय रामेश्वर महताे धानुकाे हत्या भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे डिएसपी पंडितले जानकारी दिए ।
साेही घटनामा भएकाे छुर्रा प्रहारबाट घरमुली जगरुप र उनकी छाेरी २० वर्षिया रिना कुमारी गम्भीर घाइते भएका छन ।
उनीहरुको बीरगंजस्थित न्यूराे अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।
घटनाका बेला घरमै रहेकी जगरुपकी बुहारी अर्थात मृतक रामेश्वरकी श्रीमती २५ वर्षिया मनिता कुमारी मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेकाे छ ।
मृतक दुबैजनाकाे शव परिक्षणकाे लागी प्रादेशिक अस्पताल कलैयामा ल्याईएकाे प्रहरीले जनाएकाे छ । निर्वाचनको प्रचारप्रसार तिब्र भईरहेकाे बेलामा यसरी विभत्स हत्या हुनुले पुरै रहरियाडिह गाउलाई त्रसित बनाएकाे छ ।

घटनाबारे रातकाे समयमा कुनै किसिमको हाे हल्ला समेत नसुनिएकाे छिमेकी एवम एमाले बाराका जिल्ला कमिटी सदस्य सुरेश प्रसाद यादवले बताए ।
घटनापछि त्यो घरकाे सानो बच्चाले घरकाे ढाेका ढकढकाउदै गुहार मागेपछि मात्र जानकारी पाएकाे र तत्कालै प्रहरीलाई खबर गरिएको उनले जाकारी दिए ।
घटनाले जिल्लामा सुरक्षा चुनाैती समेत थपिएको स्थानीयले गुनासाे गरेका छन ।


