काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनपछि पहिलोपल्ट केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् ।
जेन–जी आन्दोलन पछिको प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले देउवा दम्पतीमाथि सांघातिक आक्रमण गरेका थिए । त्यस क्रममा देउवाको घाँटी र गर्धनमा गहिरो चोट लागेको थियो । सेनाको ब्यारेकमै बसेर स्वास्थ्य उपचार गरेका देउवा केही दिनअघि मात्रै चुनदेवी क्षेत्रस्थित एक घर भाडामा लिएर बस्दै आएका थिए । उनी एक महिना ५ दिनपछि पहिलोपल्ट सार्वजनिक भएका हुन् ।
जेन–जी आन्दोलन र प्रदर्शनपछि पार्टी नेतृत्व छाड्न तीव्र दबाब परिरहेको छ । यसबीचमा संस्थापन इतरपक्षका एक समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर समेत गराएको छ । केन्द्रीय सदस्य मधु आचार्यका अनुसार नेतृत्व र नीति परिवर्तनका लागि ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर भइसकेको छ । उक्त हस्ताक्षर अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘आजको बैठकमा सभापतिले आफ्नो धारणा राखेर सकेपछि हामीले बुझाउने तयारी गरेका छौं ।’