बारा- बाराको प्रसौनी गाउँपालिका -२ स्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय बिकी गोसाईकोे शव ६ दिनपछि त्रिवेणीमा फेला परेको छ।
बेपत्ता भएका गोसाईका बुवा शम्भु गोसाईले घटनाबारे ईलाका प्रहरी कार्यालय प्रसौनीमा जानकरी गराएका थिए।
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले संयुक्त रूपमा गाेसाईकाे खाेजतलास गर्दै आएकाे थियाे ।
शव नपाएर खाेज तलाश स्थगित गरेका ईप्रका प्रसाैनीलाई आज शव फेला परेकाे घटनाबारे मृतकका आफन्तले सूचना दिएका थिए ।
त्यसपछि ईप्रका प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलिले बारा जिल्लाको फेटा गाउँपालिका– १ त्रिवेणी खोलाको पुलबाट अन्दाजी १०० मिटर दक्षिण ३ फिट मुनी खोलाको बिच भागमा बालुवाले पुरिएको अवस्थामा गोसाईको शव फेला पारेको हो।
खुट्टा र कपडा देखिरहेको आधी भाग बालुवा रहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अनुसन्धान तथा मुचुल्काको कार्य सम्पन्न गरी शव परिक्षणकाे लागी प्रादेशिक अस्पताल कलैयामा पठाइएको उनले बताए।
असोज १९ गते दुधौरा खोलाको पुलबाट टिकटक बनाउन हाम फालेका बिक्की गोसाई र २० वर्षीय अनुराग केसरी मध्ये अनुराग आफैं पौडी खेलेर बाहिर निस्किए भने बिक्की गोसाई बेपत्ता भएका थिए।