वडा ११ र १७ को डुबान क्षेत्रमा बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको छ । विद्यालय र धर्मशालामा प्रभावितलाई राख्न थालिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगन्जसहित जिल्लाभरि आवश्यक सतर्कता र सावधानी अपनाइएको बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीनवटै सुरक्षा निकाय उद्धारका लागि तयारी अवस्थामा जुटेको उनले बताए ।
भेडाहा खोलाले विगतमा वडा ३० र ३१ मा क्षति पुर्याउने गर्थ्यो । वीरगन्ज महानगर–३१ का वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले डुबान भए पनि त्यति धेरै क्षति नभएको बताए । भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पुर्याएको उनको भनाइ छ ।
वेल्वा गाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिम पुलतर्फ बाँधिएको बाँध पनि क्षतिग्रस्त भएको छ । वडा १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावे पुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए । अलौंको कोनिया टोल डुबानमा पर्न सक्ने उच्च जोखिममा रहेको उनले बताए ।
उक्त टोलमा करिब सय घरधुरी रहेका छन् । एक्स्काभेटर लगाएर पानी कटाउने काम भइरहेको उनले बताए । डुबान भइहालेमा कोनिया टोलका सर्वसाधारणलाई धर्मशालामा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाले श्रीपुरको नयाँबस्तीमा समस्या भएको बताए । डुबानले कृषि सामग्री लिमिटेडको पछाडि बसोबास गर्ने दलित बस्तीका डेढ सय स्थानीयलाई श्रीपुरको धर्मशालामा राखिएको उनले बताए । २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले सवैठवादेखि ठाकुरराम क्याम्पससम्मका सिर्सिया नदीको किनाराको बस्ती डुबानको उच्च जोखिममा रहेको बताए ।
ब्रह्मटोल, मनमोहन नगर, ज्योति कोलनी, बज्रङ टोललगायतमा डुबानको समस्या देखिएको उनको भनाइ छ । वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखिएको उनले बताए । २६ का वडाध्यक्ष शम्भु मिश्रले पानीको निकास नहुँदा डुबानको समस्या भएको बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकअनुसार सिर्सिया नदीलगायतका अन्य नदीले खतराको तह पार गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीनवटै सुरक्षा निकायलाई उद्धारमा परिचालन गर्ने निर्णय भएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणले वीरगन्ज महानगर–५ स्थित वीरगन्ज कारागारमा जमेको पानीलाई मोटर लगाएर निकालेको छ । सशस्त्र प्रहरी उपरीक पुरन भट्टले वीरगन्ज महानगर–१६ भुटनदेवीनजिकै बस्ने दीपक श्रीवास्तवको नयाँ घर वरपरबाट चार जनाको परिवारलाई सकुशल उद्धार गरेको बताए ।
वडा ११ स्थित विद्यापति नगर बस्ने ७ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । शनिबार पोखरिया नगरपालिकामा खटिएको उद्धार टोलीले पोखरिया नगरपालिका–२ लमरियास्थित डुबानमा परेका २० परिवारका सदस्यलाई सकुशल उद्धार गरेर आफन्तको घरमा स्थानान्तरण गरेको थियो ।