बारा- देशैभर असाेज ३ लाई सविधान दिवसकाे रूपमा मनाईरहदा जनमत पार्टी बाराले आजको दिनलाई बलिदानी दिवस तथा कालाे दिनकाे रुपमा मनाएकाे छ ।
जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेलकाे अगुवाइमा कलैया भरत चाेकमा शहिदहरुकाे सम्झनामा दिप प्रज्वलन गर्दै शाेक प्रकट समेत गरिएकाे हाे ।
देशको रक्षाको लागि आहुति दिनु भएका, संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लड्नु भएका, अधिकार, पहिचान र आत्मसम्मानका लागि जीवन समर्पण गर्नु भएका र देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम गर्न बलिदानी दिनु भएका समस्त शहिदहरूप्रति जनमत पार्टीको तर्फबाट श्रद्धाञ्जली समेत दिईएकाे कार्यक्रममा सहभागी जनमत युवासंघका अध्यक्ष रनबहादुर गुप्ताले बताए ।
यो संविधानले हामीले चाहेका सबै अधिकार पूर्ण रुपमा दिएका छैनन् र संशोधन आवश्यक छ, तर यही जनताद्वारा निर्मित अभूतपूर्व संविधान हो जसले दशकौंको संघर्ष, क्रान्ति र बलिदानी पश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको छ, हाम्रो पहिचान र अधिकारलाई संस्थागत गरेको छ, हाम्रो भेषभूषा, भाषा र संस्कृतिलाई आफ्नो भनेर इतिहासमा पहिलोपटक अंगीकार गरेको उनले बताए ।
अनेकौं बहानामा यसलाई खारेज गर्ने, पहिचान र अधिकार सहितको संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने र पुन: एकल जातीय एकतन्त्रीय नश्लवादी शासन व्यवस्था लादने षड्यन्त्र भईरहेकाे उनले आराेप समेत लगाए ।
शहीदको रगतलाई साक्षी राखेर सचेत हुँदै आजकाे कार्यक्रम आयाेजना गरिएकाे र सने कार्यक्रममा जनमतका जिल्ला देखी केन्द्र सम्मका नेता कार्यकर्ताहरुकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे । मधेसी दलहरूले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनाउँदै आएका छन ।