राैतहट-आइतबार बिहान गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक निलो रङको सुटकेसभित्र ३० वर्षीया रुबीकुमारी साहको शव फेला परेपछि प्रहरी नै आश्चर्यमा पर्यो । रुबीको हत्या कसले र किन गर्यो ? के यो घटना कुनै आपराधिक समूहले गरेको थियो वा यसका पछाडि अरु केही कारण थिए ?
अनुसन्धानमा जुटेको प्रहरीले यो हत्यामा रुबीकै प्रेमी लक्ष्मण पासवान जिम्मेवार रहेको निष्कर्ष निकाल्न नपाउँदै ९ मिनेटको भिडियो बनाएर लक्ष्मणले हत्याको जिम्मेवारी लिँदै आफैलाई आगो लगाए । रौतहटको माधवपुरबाट समनपुर जाने बाटो छेउबाट प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

उपचारकै क्रममा कीर्तिपुरस्थित बर्न अस्पताल लक्ष्मणको मृत्यु भयो । रुबीको हत्यापछि आफैलाई सिध्याउने मनोविज्ञानमा उनी किन पुगे ? यो सबै घटनाको लामो पृष्ठभूमि के थियो ? हामीले ७ प्रश्नोत्तरमा यो घटनाको अन्तर्य बुझाउने प्रयास गरेका छौं ।
१. रुबी र लक्ष्मणको सम्बन्ध कहिलेदेखि, कसरी सुरु भएको थियो ?
रौतहटको माधवनारायण नगरपालिका–६ स्थित माधोपुर माविमा कक्षा ६ पढ्दादेखि रुबी र लक्ष्मणबीच चिनजान थियो । दुवैको घरबीच अन्य पाँच घर मात्रै थिए । अर्थात् उनीहरु दुईको घरको दुरी करिब सय मिटर थियो । उनीहरु सँगै ट्युसन पढ्न जान्थे । स्कुलका साथीहरुका अनुसार त्यतिबेलादेखि नै उनीहरु एक-अर्कालाई माया गर्थे । नजिकका केही साथीलाई यसबारे थाहा थियो ।
१० कक्षामा पढ्ने बेला उनीहरुबीच मायाप्रेम भएको कुरा स्कुलमा मात्रै नभएर गाउँटोलका धेरैलाई थाहा भयो । तर स्थानीय बासिन्दा ‘जात नमिलेको’ भन्दै लक्ष्मणले किन प्रेम गरेका होलान् भनेर खासखुस गरेको सुनिन्थ्यो । लक्ष्मण र उनका परिवारलाई यस विषयमा रुबीका परिवारले सचेत समेत गराएका थिए । स्थानीय एवं दलित पत्रकार संघ मधेश प्रदेश समितिका सदस्य पत्रकार सुब्बासाहेब पासवानका अनुसार त्यतिबेलै केही अज्ञात व्यक्तिले लक्ष्मणलाई धम्क्याउने काम पनि गरेका थिए ।
२. दुवैको पारिवारिक पृष्ठभूमि कस्तो हो ? पहुँच सम्पर्क वा विरासतका हिसाबले दुई परिवारको अवस्था कस्तो छ ?
आफ्नै एक धुर घडेरीसमेत नभएका जयनाथ पासवानमा एक्ला छोरा थिए लक्ष्मण । विपन्न परिवारकै कारण उनी २०७६ सालमा वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगेका थिए । ५ वर्ष काम गरेर फर्किए । एक वर्षअघि बाबु जयनाथलाई प्यारालाइसिस भएकामा लक्ष्मण चिन्तित देखिन्थे । मलेसियामा कमाएको पैसा पनि उनले बाबुको उपचार र पुरानो कर्जा तिरनतारनमै सिध्याए ।

रुबीको पारिवारिक पृष्ठभूमि भने फरक थियो । उनी मध्यमवर्गीय परिवारकी माइली छोरी थिइन् । स्थानीय जनप्रतिनिधि राजीव यादवका अनुसार रुबीका बाबु २०७० सालदेखि नै रोजगारीका निम्ति भारतको गुजरातमा छन् । रुबीको हत्याको घटनाका बेला समेत उनी भारतमै थिए । बाबुको अनुपस्थितिमा रुबी आमाकै छत्रछायामा हुर्केकी थिइन् । स्थानीयका अनुसार लक्ष्मणसँग छोरी रुबी प्रेममा परेको घटनाले यी दुई परिवारबीच द्वन्द्व भएको थियो । त्यसै कारण रुबीको परिवार २०६८ मा गाउँबाट बसाइँ सरेर सदरमुकाम गौरमा डेरा गरी बस्दै आएको थियो ।
दलित र गैरदलित परिवार भएकाले दुई परिवारको सामाजिक प्रतिष्ठा र आर्थिक पृष्ठभूमि मात्रै होइन सामाजिक पहुँच पनि फरक थियो । एकअर्कालाई माया गर्ने भए पनि जातको कुराले थप समस्या सिर्जना गरेको कान्तिपुरले सम्पर्क गरेका ८ जना स्थानीयले बताएका छन् । लक्ष्मण दलित भएकै कारण उनी रुबीको परिवारको तारोमा थिए । यो प्रेम सम्बन्धलाई मान्यता नदिन समाजको जात व्यवस्था पनि जिम्मेवार देखिन्छ ।
३. त्यतिबेला उनीहरुले किन भागेर बिहे गर्न बाध्य भए ? र, त्यो बिहे किन कायम भएन ?
दलित र गैरदलितबीच प्रेम सम्बन्ध भएको घटनामा सिंगो समाज नै विभाजित देखिएको थियो । आफूहरुको प्रेमलाई समाजले छुट्याउने ठानेर २०६८ पुस २४ मा लक्ष्मण र रुबी भागेर भारतको चण्डीगढ पुगे । त्यतिबेला उनीहरु दुवै १० कक्षामा अध्ययनरत थिए । त्यतिबेला रुबी १६ र लक्ष्मण १७ वर्षका थिए ।

उनीहरु सात महिनापछि २०६९ साउनमा गाउँ फर्के । २०६९ साउन १५ गते सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारिज’ गरेको उनीहरु बताउँथे । तर प्रहरी अनुसन्धानमा उनीहरुले नक्कली कागजात जुटाएर बिहे दर्ता गरेको देखिन्छ । विवाह गरेर फर्किने बेला रौतहट प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । किनकि रुबीको परिवारले लक्ष्मण, उनका काका बैजनाथ हजार र भिनाजु खजान्ची पासवानविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखनमा प्रहरीमा मुद्दा दर्ता गरेका थिए । पक्राउ परेका लक्ष्मण १७ दिन हिरासतमा बसे । १५ हजार धरौटी बुझाएर छुटे । जिल्ला अदालत रौतहटका स्रेस्तेदार केसर अर्यालका अनुसार झन्डै २ वर्ष मुद्दा खेपेका लक्ष्मण, उनका काका र भिनाजुलाई २०७१ मंसिर २५ मा तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले सफाइ दिएको थियो ।
४. उनीहरूलाई एकअर्काबाट छुटाएपछि के भयो ?
मुद्दा दर्ता गरेर रुबी र लक्ष्मणलाई अलग पारेको ६-७ महिनापछि नै रुबीकी आमाले उनको बिहे भारतको मुजफ्फरपुर जिल्लाको रोक्साटोलस्थित एक केटासँग गरिदिइन् । रुबीले बिहे गरेको ठ्याक्कै कति समयपछि लक्ष्मणले बिहे गरे भनेर स्पष्ट जानकारी भने प्राप्त हुन सकेन । तर रुबीको बिहेको केही समयपछि लक्ष्मणले एक युवतीसँग मागी बिहे गरे । अहिले लक्ष्मणका ७ र ४ वर्षको छोरा छन् । भारतीय केटासँग बिहे गरेकी रुबीले पनि उतै छोरा जन्माइन् । दुई महिनाअघि रुबी ४ वर्षे छोरा पढाउन भन्दै गौरस्थित माइतीको डेरा आएकी थिइन् ।
५. पछिल्लो समय लक्ष्मण नै रुबीको सम्पर्कमा पुगे कि रुबी आफै लक्ष्मणको सम्पर्कमा आएकी हुन् ?
प्रहरीका अनुसार एक-अर्काबाट छुट्टिए पनि रुबी र लक्ष्मणबीचको सम्पर्क टुटेको भनेको थिएन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार उनीहरुबीच ह्वाट्सएपमा पटकपटक कुराकानी भएको देखिन्छ । रुबी भारतबाट फर्केको दुई महिनाअघि नै लक्ष्मण मलेसियाबाट फर्केका थिए ।उनी गाउँको घरमा बाबु, आमा, श्रीमती र दुई छोरा छाडेर सदरमुकाम गौरस्थित बालमन्दिर पटाडीमा डेरा लिई बस्न थालेका थिए । उनीहरु दुईको डेरा करिब डेढ किलोमिटरको दुरीमा थियो ।
घटना भएको दिउँसो (शनिबार) रुबी पार्लर पुगेकी थिइन् । उनीहरुबीचको कुराकानीपछि ४ बजेर ५५ मिनेटमा रुबी लक्ष्मणको डेरामा पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले लक्ष्मणको डेराबाट हात पारेको केही तस्बिरमा दुवैले लक्ष्मणको ‘बर्थ डे सेलिब्रेट’ गरेको पनि देखिन्छ । उनीहरुले हत्याकै जन्मदिन मनाएका थिए वा अगाडि कुनै दिन भन्नेमा प्रहरी स्पष्ट छैन ।
६. लक्ष्मण किन रुबीको हत्या गर्नुपर्ने विन्दुमा पुगे ?
जुन दिन घटना भयो, त्यसको भोलिपल्ट रुबी भारतस्थित श्रीमान्को घर जाने तयारीमा थिइन् । प्रहरीका अनुसार त्यस दिन आफूबाट रुबी छुट्टिएर टाढा जाने कुराले पनि लक्ष्मण तनावमा आएको हुनुपर्छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरीहरुका अनुसार जातकै कारण रुबीको परिवार र समाज लागेर आफूहरुलाई छुटाएको कुराले उनी ‘विद्रोही’ बनेको देखिन्छ । आफूबाट छुटाएर रुबीलाई भारतीय केटासँग बिहे गरिदिएको बदला लिने योजना उनमा बनेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।लक्ष्मणले यही कारण आफू डिप्रेसनमा पुगेको र रुबीको हत्या गरी यो दुनियाँबाट बिदा हुन खोजेको कुरा भिडियोमा पनि भनेका छन् । रुबीको परिवारले आफूसँग भेट्न नदिएको बारे पनि उनी जानकार थिए । यही पृष्ठभूमिमा उनीहरुबीच कुनै विषयमा विवाद भएको र हत्यासम्म पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
७. रुबीको हत्यापछि लक्ष्मणले केके गरे ?
गत शनिबार राति लक्ष्मणले आफ्नै डेरामा रुबीको घाँटी थिचेर हत्या गरे । प्रहरीका अनुसार हत्यापछि उनी शव व्यवस्थापनमा जुटेको देखिन्छ । शवलाई सुटकेसमा प्याक गरेर ई-रिक्सामा हालेर बागमती नदीमा फाल्ने योजना बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
ई-रिक्सा चालक राजकुमार महराले ५ सय रुपैयाँमा शव व्यवस्थापनको जिम्मा लिएका थिए । तर बाटोमा जाँदै गर्दा ई-रिक्साको चक्कामा समस्या देखियो । राजकुमारले अर्को ई-रिक्सा बोलाउन खोजेका थिए । तर लक्ष्मणले मानेनन् । त्यसपछि लक्ष्मणले शवसहितको सुटकेस मुडबलवा गेट नजिकैको सडकमा छाडेर हिँडेपछि यो घटना सार्वजनिक हुन पुग्यो ।
प्रहरीका अनुसार त्यसपछि लक्ष्मण भागेर सीमापारि भारतीय भूमि पुगेको देखिन्छ । तीन दिन भारतमा बसेर उनी मंगलबार गाउँ आए । मंगलबार बिहान शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गर्दैगर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर उपचारका निम्ति गरुडास्थित बेटर अस्पताल पुर्यायो । उपचारका क्रममा लक्ष्मणले त्यस दिन डेरामा सम्बन्धकै विषयमा एक-अर्काबीच भनाभन भएको र त्यही क्रममा आफूले हत्या गरेको बताएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि उपचार सम्भव भएन । अनुहारसहित शरीरका अन्य भाग जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो ।