बीरगन्ज–मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले वीरगन्जमा देखिएको हैजाको महामारी नियन्त्रण गर्न तीनवटै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकमा उनले वीरगन्जका अस्पतालहरूमा जनशक्ति र औषधिको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाएका छन ।
वीरगन्जमा खडेरी लगत्तै हैजाको प्रकोप देखिनुमा खानेपानी नै मुख्य कारक रहेकाले त्यसतर्फ सबै सचेत हुन आग्रह समेत गरे । मन्त्री सिंहले महामारीको समयलाई कुनै पनि अस्पतालले कमाउधन्दा बनाउन खोजेमा कारबाही गरिने चेतावनी समेत दिए । वीरगन्जमा तिब्र गतिमा हैजाको संक्रमण फैलिँदै गएपछि मन्त्री सिंहले चिन्ता समेत व्यक्त गरेका छन ।
वीरगन्जका दर्जन बढी अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहले जानकारी दिए । आइतबार साँझ ७ बजेसम्मको तथ्यांक अनुसार बीरगन्जमा ७१ जनामा हैजा प्रमाणित भईसकेको उनले जानकारी दिए ।
उनका अनुसार, संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् । यस्तै तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डाइग्नोस्टिक सेन्टरमा पनि बिरामीहरू भर्ना गरिएका छन् । वीरगन्जका प्रायः सबै अस्पतालमा अहिले झाडापखालाका बिरामीले भरीभराउ छ ।
मधेश प्रदेश सरकारका स्वास्थ्य सचिव डा। ओम अर्यालले वीरगन्जमा हैजाको उपचारमा प्रयोग हुने औषधिको अभाव नभए पनि कृत्रिम अभाव हुन सक्नेतर्फ सचेत रहेको बताएका छन् । प्रकोपको समयमा नारायणी अस्पतालमा निर्माण भए पनि प्रयोगविहीन अवस्थामा रहेको नयाँ भवनलाई प्रयोगमा ल्याएर बिरामीको उपचार सुरु गर्नुपर्ने बताएका छन् ।
हैजाको प्रकोप फैलिएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदी नेतृत्वको एउटा टोली वीरगन्ज आएको छ ।
उनको टोलीमा संघीय स्वास्थ्य विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका डा. राहुल झा र विश्व स्वास्थ्य संगठनमा आबद्ध चिकित्सक डा. निशान्त ठाकुर समेत छन् ।
टोलीले सरोकारवालाहरूसँग समन्वय गरी प्रकोप नियन्त्रणका लागि कार्य गर्ने सुवेदीले बताए । यस्तै, गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आवश्यकताअनुसार मेडिकल टिम परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवस्था हेरेर परिचालित हुन तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् ।
वीरगन्ज महानगर क्षेत्रमा हैजाको प्रकोप फैलिने जोखिम बढिरहेका बेला महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरका सम्पूर्ण कर्मचारीलाई सतर्कतापूर्वक र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
उनले हालको अवस्था आत्तिने नभई संयम र धैर्यका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरेका छन् । आइतबार महानगरपालिकाको कार्यालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै उनले हालसम्म डराई हाल्नुपर्ने अवस्था आइनसकेको बताएका थिए । महानगरमा हैजा नियन्त्रणउन्मुख नै रहेको र आफूहरूले आवश्यक सबै उपायहरू अपनाइरहेको पनि उनले बताएका थिए ।
साथै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले झाडापखाला, हैजा रोकथामका लागि सबै सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया, सञ्चारकर्मी, विभिन्न दातृ संस्थाहरूको समन्वय एवं सहयोगमा आवश्यक सामग्रीहरूको व्यवस्थापन गरी माइकिङ, घरदैलो एवं सचेतना जागरणका अभियान तत्कालै सघन रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका कर्मचारीहरूलाई अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्ने एवं आवश्यक भएको खण्डमा जिल्लास्थित स्थानीय तहका स्वास्थ्यकर्मीरस्वास्थ्यसम्बन्धी जनशक्तिलाई केन्द्रीकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय पनि बैठकले गरेको छ ।
औषधि, किट, खानेपानी निर्मलीकरणका लागि आवश्यक औषधि पर्याप्त मात्रामा सुनिश्चित गर्न स्वास्थ्य कार्यालय, पर्साले आवश्यक पहल गर्ने र सोका लागि प्रदेश सरकार र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले ज्वाइन्ट अपरेसन सेन्टरको स्थापना गरी महामारी नियन्त्रणको सम्बन्धमा फोकल पर्सनसमेत तोकी आवश्यक सूचना सम्प्रेषणको आवश्यक व्यवस्था मिलाउने लगायतका निर्णय बैठकले गरेको छ ।
वीरगन्जको हैजा प्रभावित क्षेत्रबाट खानेपानी संस्थानको धाराको पानीको नमुना संकलन गरिएको छ । । खानेपानी मन्त्रालय प्रादेशिक कार्यालय जनकपुरबाट आएको प्राविधिक टोलीले शनिबार वीरगन्ज महानगरको ११, १२ र १३ नम्बर वडाबाट नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले वितरण गरेको पानीको नमुना संकलन गरेर लगेको हो ।
नेपाल खानेपानी संस्थानले वीरगन्जका तीन वडामा खानेपानीको नमुना संकलन गरेको छ । संस्थान वीरगन्ज शाखाका सूचना अधिकारी एवम् इन्जिनियर सञ्जीव यादवका अनुसार, तीनवटै वडाका विभिन्न स्थानका १५ वटा धाराबाट पानीको नमुना संकलन गरिएको छ । ‘
जनकपुरबाट पानी परीक्षण घुम्ती सेवाको सवारीमा केमिस्ट नेतृत्वको टोली नै आइपुगेको थियो,’ उनले भने, ‘तीन वटा वडाको विभिन्न स्थानबाट संस्थानले वितरण गरेको पानीको धाराको नमुना संकलन गरी शनिबार साँझ नै उक्त टोली जनकपुर फर्किएको छ ।’
शुक्रबार देखि वीरगन्जमा देखा परेको हैजाको प्रकोप समुदायस्तरमा फैलिन नदिन वीरगन्ज महानगरपालिकाले आइतबार र सोमबार दुई दिन महानगरका सम्पूर्ण विद्यालय तथा कलेजमा अनिवार्य बिदाको निर्देशन दिएको छ ।