पर्सा — बीरगन्ज कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा अचेत भएका वीरगन्ज कारागारका एक कैदीको मंगलबार उपचारको क्रममा वीरगन्जकै नारायणी अस्पतालमा मृत्यु भए भएपछि मृतकका आफन्तले विरोध प्रदर्शन सुरु गरेका छन ।
मृतक कैदीका आफन्तले आफूहरुले माग गर्दा पनि बिरामीलाई अन्य अस्पतालमा रेफर नगरिएको र समयमा उपचार सुरु नगरिएको भन्दै विरोध प्रदर्शन गरेका हुन । उनीहरुले नारायणी अस्पताल अगाडिको सडकमा टायर बालेर नाराबाजी समेत सुरु गरेका छन् ।
समयमा उपचार नपाएकै कारण बीरगन्ज कारागारमा कैदी जिवन बिताईरहेका वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहाको मृत्यु भएको पीडितले आरोप लगाएका छन ।
कारागारको जिम हाउसमा बिहान करिब सवा ८ बजेतिर शारीरिक कसरत गरीरहेकै क्रममा कैदी तुराहा अचेत भएको बीरगंज कारागारका जेलर खेमराज भुषालले जानकारी दिए ।
जेलर भुषालका अनुसार, उनलाई कारागारका अधिकृत तथा स्वास्थ्यकर्मीको टोलीसहित तत्कालै उपचारका लागि नारायणी अस्पताल पठाइएको थियो । ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुराहा २०७९ सालमा कारागारमा आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले तुराहाको हृदयघात भएको जानकारी दिए । उनले कारागारमा शारीरिक कसरत गर्दाको अवस्थामा उनी अचेत भएर लडेको बताए ।

‘अस्पतालमा ल्याउँदा बिरामीको रक्तचाप नरहेको र मुखबाट रगत तथा सेतो फिज आइरहेको अवस्था थियो,’ उपचारमा संलग्न डा. उदयनारायण सिंह भने, ‘त्यति बेला आईसीयु कक्षमा एउटा पनि बेड खाली नरहे पनि हामीले विष सेवन गरी मृत्यु भएका अर्का बिरामीको बेड खाली गराइरहेका थियौं ।’ त्यस क्रममा बिरामीका आफन्तले रेफर गराई अन्य अस्पताल लग्ने प्रयास गरे पनि आफूहरुले बिरामीको अवस्था अत्यन्त नाजुक रहेकाले अन्यत्र लग्दा बाटोमै मृत्यु हुने सम्भावना देखेर आईसीयुमै भर्ना गर्ने प्रयास गर्दैगर्दा आकस्मिक कक्षको भेन्टिलेटरमै कैदी तुराहाको मृत्यु भएको डा. सिंहले जानकारी दिए ।
युवा उमेर समूहका व्यक्तिहरुमा विशेष गरी अत्यधिक शारीरिक अभ्यास गर्दा अचानक मुटु निष्क्रिय हुने घटना भइरहेको र यो पनि त्यही घटनाको पुनरावृत्ति रहेको उनले बताए । बिहान साढे ९ बजे कैदी तुराहाको मृत्यु भएको उनले बताए ।
यसअघि वीरगन्जमै एक पत्रकार र अर्का सशस्त्र प्रहरीका उपरीक्षकको पनि यसरी नै मृत्यु भएको डा. सिंहले बताए । तनावग्रस्त अवस्थालाई साम्य पार्न मृतक पक्षसंग संवादको प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले नारायणी अस्पताल क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ ।
