कैलाली— शुक्रबार राति एक जनाको मृत्यु र ४७ जना भन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झपपपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ। कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेहरुको विवरण प्राप्त हुन सकेको छैन ।
कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएकोमा गएरातिको झडपमा परी धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरु कारागार भित्र प्रवेश गर्न सकेको छैनन् ।
कारागार बाहिर कैदीबन्दीका आफन्तहरु चिन्तित छन् । यतिबेला जिल्ला प्रशासन कार्यालयमा चारवटै सुरक्षा निकायका प्रमुख सहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् ।
रातिको झडपमा धनगढी उपमहानगरपालिका ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइतहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचार र सुरक्षामा सुरक्षा निकायलाई हम्मेहम्मे भइरहेको छ । विहान उनीहरुलाई कोरोनाका बेला बनाइएको बेग्लै कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
यसअघि बिहीबार पनि कैदीबन्दीहरुबीच आपसमा झडप भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएपनि एक जना भने अहिले पनि उपचारकै अवस्थामा रहेको कारागारमा कार्यरत खरिदार रामप्रसाद चौधरीले बताए । कारागार प्रमुख बसन्त खत्री विदामा छन् । एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।
कैलाली कारागार झडपपछि अवस्था तनावग्रस्त, झडपमा एकको मृत्यु ४७ घाईते