भारत र बंगलादेशमा गरी वर्षमा साढे १७ अर्बको बिजुली निर्यात

गढी न्यूज

काठमाडौँ — नेपालले आर्थिक वर्ष २०८१र८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको हो । यही अवधिमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो ।
बंगलादेशमा भने बिजुली निर्यात सुरु भएको थिएन । त्यो वर्ष २०८०र८१ मा भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । गएको आर्थिक वर्षमा भारतमा २ अर्ब ३४ करोड ९९ लाख ८६ हजार ९ सय ५५ र बंगलादेशमा ३ करोड ३ लाख ९ हजार ७ सय ६० किलोवाट–आवर बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज आईएक्स को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।
भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । बंगलादेशसँग भने डलरमा बिजुली निर्यात भइरहेको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको हो । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन घटेका बेला स्वदेशको माग धान्न हिउँदका केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले २०८०र८१ मै आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको दाबी गरेका थिए । तर स्वदेशी उद्योगीले मागअनुसार बिजुली नदिई भारत निर्यात गरेर खुद विद्युत् निर्यातकर्ता बनेको टिप्पणी गरेका थिए । पछिल्लो आर्थिक वर्षमा भने आयात अझ घटेर निर्यात बढेको तथ्यांक छ ।
भारत सरकारले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत् लैजान अनुमति दिएको थियो । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
अहिले ७ सय ८ सय मेगावाटसम्म बिजुली निर्यात गरिरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । चुहावट, बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुग्दा, प्रसारणलाइनका क्षमतालगायतका कारण पूर्ण क्षमतामा बिजुली निर्यात गर्न नसकिएको ढकालको भनाइ छ । ‘अहिले केही आयोजना बन्द छन् ।
धमिलो पानीलगायतले पूर्ण उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘भदौ तेस्रो सातादेखि सफा पानी हुन्छ, पूर्ण क्षमतामा उत्पादन हुन्छ । त्यसपछि एक हजार मेगावाट नै निर्यात गर्न सकिन्छ ।’ भारतलाई थप साढे तीन सय मेगावाट बराबरको जलविद्युत् आयोजनाको स्वीकृतिका लागि माग गरिएको प्रवक्ता ढकालले जानकारी दिए । ‘त्यसमा २ सय मेगावाट निर्यात गर्न छिट्टै स्वीकृति आउँछ भनिएको छ,’ उनले भने ।
प्राधिकरणले नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय सम्झौताअनुसार गत १ असार ९१५ जुन० देखि पुनः ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । यसअघि गत १५ नोभेम्बर ९३० कात्तिक २०८१० मा पहिलो पटक १२ घण्टा मात्रै बिजुली निर्यात गरिएको थियो । बंगलादेशलाई हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्ने सम्झौता छ ।
विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबी र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारत एनभीभीएन बीच १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र भारत–बंगलादेशबीचको बेहरामपुर भारत–भेडामारा बंगलादेश ४०० केभी प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्छ ।
प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८।६० र २१।४० गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यातका लागि स्वीकृति छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि पनि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट पाउने सम्झौता छ ।

Share This Article