नारायणीमा पानीको सतह बढ्दो क्रममा, गण्डक ब्यारेजमा पानीको सतह १ लाख ६५ हजार ६ सय क्यूसेक लिटरभन्दा माथि पुग्यो

गढी न्यूज

चितवन– हिजो बेलुका देखि नै देशका विभिन्न भूभागमा निरन्तर वर्षा भईरहेको छ । कतिपय ठाउँमा वर्षाका कारण सडक अवरुद्ध छ भने कतै नदीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । लगातार भईरहेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ।
मंगलबार बिहान सवा ९ बजे त्रिवेणीधामस्थित गण्डक ब्यारेजमा पानीको सतह १ लाख ६५ हजार ६ सय क्यूसेक लिटरभन्दा माथि पुगेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएकाले नारायणीमा पानीको सतह बढ्दै गएको हो। त्रिवेणीधामस्थित नारायणी नदीमा बाँध बाँधेर भारतले बिहार र उत्तर प्रदेशमा सिँचाइका लागि नहरमार्फत पानी लैजाने गरेको छ। नारायणी नदीलाई भारतमा ‘गण्डक’ भनिन्छ।
त्यस्तै, मंगलबार बिहान सवा ९ बजे चितवनको नारायणगढस्थित नारायणी पुलमुनि पानीको सतह ८ दशमलव ८१ मिटर पुगेको छ। त्यहाँ पानीको सतह ११ मिटर पुगे चेतावनी तह अर्थात वार्निङ लेभल मानिन्छ। स्थानीय प्रशासनले नारायणी आसपासको क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।

Share This Article