बारा- टिकटक बनाउने क्रममा दुधाैरा खाेलामा हाम फालेर बेपत्ता भएका युवक साेमवार मध्यान्ह सम्म फेला परेका छैनन् । बाराको प्रसौनीस्थित दुधौरा पुलबाट टिकटक बनाउने क्रममा आइतबार एकै साथ दुई युवक पुलबाट नदीमा हाम फालेका थिए ।
उनीहरु मध्ये एक जना पाैडी खेलेर नदीबाट निस्किन सफल भए पनि एक जना नदीमै अझै बेपत्ता छन ।
बेपत्ता युवकको आज पनि खोजीकार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
देशभर बाढी पहिराेले वितण्डा मचाईरहेकाे बेला दुधाैरा नदीमा ठुलाे बाढी आएकाे बेला टिकटकमा भाईरल बन्न स्थानीय २१ वर्षीय बिक्की गोसाई नदीमा हाम फालेकाे स्थानीयले जनाएका छन ।
सुरक्षाकर्मीले आईतवार दिनभरी खोजतलास गर्दा समेत ती युवक फेला परेका थिएनन् ।
ती युवकको खाेजीमा सोमबार बिहानै देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
उनको खोजी कार्यका लागि नेपाल प्रहरीको १० जना, सशस्त्र प्रहरीको १० जना र नेपाली सेनाको २३ जना गरी ४३ जना सुरक्षाकर्मी खटिएका छन ।
तर अहिले सम्म बेपत्ता युवकलाई फेला पार्न नसकिएकाे प्रहरीले जनाएको छ ।