बैंगलुरु — देवदत्त पाडिकल र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय १ रनको साझेदारी गरेपछि शनिबार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन आरसीबीले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।
आरसीबीले एम चिन्नास्वामी रंगशालामा २ सय २ रनको लक्ष्य १५.४ ओभरमै २ सय ३ रन बनाउँदै पूरा गर्यो । कोहली ६९ र टिम डेविड १६ रनमा अविजित रहे । कोहलीले ३८ बल खेल्दै समान ५ चौका र छक्का तथा डेबिडले १० बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे ।
फिल सल्ट ८ रनमै आउट भए पनि कोहली र पाडिकलले आरसीबीलाई विजयतर्फ डोर्याएका थिए । पाडिकलले २६ बल खेल्दै ७ चौका र ४ छक्कासहित ६१ रन बनाए । कप्तान रजत पाटिदारले पनि आक्रामक इनिङ्स खेले । उनले १२ बलमै २ चौका र ३ छक्कासहित ३१ रन बनाए । जितेश शर्माले खाता खोल्न भ्याएनन् । सनराइजर्सका डेविड पायनेले २ तथा जयदेव उनडकड र हर्ष दुबेले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाई २ सय १ रन बनाएको थियो । कप्तान इशान शर्माले ३८ बलमै ८० रन बनाए । उनले ८ चौका र ५ छक्का प्रहार गरे । अनिकेत वर्माले १८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरी ४३ रन बनाए । हेनरिक क्लासेनले २२ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोडे ।
ट्राभिस हेड ११, अभिषेक शर्मा ७, नितिशकुमार रेड्डी १, सलिल अरोरा ९, हर्ष दुबे ३ र हर्शल पटेल शून्यमा आउट भए । ओपनिङ बलर ज्याकोब डफीले ३ विकेट लिए । ४ ओभरमा २२ रनमात्र खर्चनेक्रममा उनले हेड, शर्मा र रेड्डीलाई आउट गरेका थिए । रोमारियो सेफर्डले पनि ३ विकेट लिए । तर उनले सोक्रममा ४ ओभरमा ५४ रन खर्चे । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सूयश शर्माले १–१ विकेट लिए ।
गत वर्ष आरसीबीको उपाधि यात्राका क्रममा भागदौड हुँदा रंगशालाबाहिर ११ युवाको मृत्यु भएको थियो । सोही कारण उद्घाटन खेलअघि दुवै टोलीले १ मिनेट मौनधारण गरेका थिए भने ११ सिट खाली राखिएको थियो । दुवै टोलीले कालोपट्टी बाँधेर खेलेका थिए ।
आरसीबीका सबै खेलाडीले खेल सुरु हुनुअघि ११ नम्बर जर्सी लगाएर अभ्यास गरेका थिए । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले मृतकको सम्झना तामझामबिना उद्घाटनमा खेल सुरु गरेको थियो । गत वर्षको घटनापछि बीसीसीआईले चिन्नास्वामी रंगशालामा खेल गराउनबाट प्रतिबन्ध लगाएको थियो । सुरक्षाको प्रत्याभूतिपछि हालै मात्र यस रंगशालाले खेलाउने अनुमति पाएको थियो ।