लोकतन्त्रसम्बन्धी प्रख्यात आहान छ— ‘लोकतन्त्रको रूखलाई बेलाबखत सहिदको रगतले सिञ्चिरहनुपर्छ ।’ किञ्चित क्रूरताको झल्को पाइए पनि यस उक्तिले लोकतन्त्रको व्यापक स्वास्थ्यको चिन्ता र चिन्तन नै गरिरहेको आभास मिल्छ ।
हामी नेपाली युगौंदेखि अभिशप्त छौं– लोकतन्त्रको विशाल रूखलाई रगतले सिञ्चित गर्न । जसरी ८५ वर्षअघि गंगालालहरूले लोकतन्त्रको बिरुवा रोप्न छातीमा तातो गोली थापे, त्यसैगरी ०८२ को तातो भदौ–विद्रोहमा लोकतन्त्रको त्यो रूख जोगाउन सडक–मार्चमा आएका अगणित जेन–जीले जीवन दाउमा राखे । जेन–जीको आक्रोश बिनाआधारको थिएन । उनीहरूका शत्रु थिए, ‘भ्रष्ट’ शासक । लेखक सीके लाल लेख्छन्, ‘सहिदको कोही शत्रु नै हुँदैन भने ऊ युद्ध कोसँग लड्न जान्छ ? सत्यसँग प्रेम गर्ने र साक्षी बस्ने ‘सहिद’ हुन्छन् ।’
कवि गोपालप्रसाद रिमालको ‘म्यागनम अपस’ कविता ‘आमाको सपना’ (वि.सं. २०००) ले भन्छ— आमा, त्यो आउँछ र ?/हो, बा, त्यो आउँछ/त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ/त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ/त्यसैले ऊ अधर्मसित लड्नेछ ।
रिमालले ८२ वर्षअघि भनेको ‘त्यो’ क्रान्तिको सपना थियो । अब त्यो सपना रक्तमुछेल विपना भएर ब्युँझिएको छ । कवि भूपी शेरचन जब सहिद–सम्झनामा लेख्छन्, उनका शब्दमा राष्ट्र र नागरिकको सम्बन्ध–सेतुस्वरूप एउटा चेतना–दर्शन देखा पर्छ– हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए/बन्दैन मुलुक दुई/चार सपुत मरेर नगए । उनी तिनै कवि हुन्, जो आमजीवनमा सत्ताको क्रूरता भयंकर अवरोध बनेर अगाडि खडा भएका बेला सपुतहरूको सम्बोधनमा लेख्छन्–मरेर सहिद हुनेहरू/जिएर त हेर/जिउन झन् गाह्रो छ ।
भूपीय कवितामा छ– राज्यको अभिलेखमा भएका/नभएका ‘ज्ञात–अज्ञात सहिद’ माथिको श्रद्धा, जीवनका तमाम दुःखमाथि निस्वास र सहादतको सम्मान । ‘सहिद’ सधैं अभिनन्दनीय हुन्छन्, तर राज्य यति विसंगत छ कि गणतन्त्रमा पनि सहिदगेटको शिरमा राजाकै सालिक राख्छ र सहिदलाई राजाका पाउमुनि । र, राज्य मूर्तिमै किन नहोस् शासकको पूजा गरिबस्छ ।
क्रान्तिको अवहेलना गर्ने शासकविरुद्ध परिवर्तनमुखी कविहरू जनतालाई आह्वान गरिरहन्छन् । १९९७ सालका विद्रोही कवि सिद्धिचरण श्रेष्ठले लेखेका थिए, ‘क्रान्तिबिना थन जुइमखु शान्ति’ । क्रान्तिबिना यहाँ हुँदैन शान्ति भनेर आफ्नो समुदायलाई समेत झकझक्याउने ती कविको यो वाणी सार्थक रह्यो ।
त्यो ‘१९९७’ नेपाली क्यालेन्डरमा कहिल्यै विस्मृत नहुने समय हो, जुन नेपाली राजनीतिक इतिहासकै लोकतन्त्र उदयको पूर्व–बीजकथा बनेर अंकित छ । राणा शासन पतनको त्यो प्रवेशबिन्दु एक दन्त्यकथा जस्तो छ । त्यो सहिद—गाथा सहिदको मात्रै हेइन, देशकै ‘पोट्रेट’ हो, जहाँ नेपालीजनको छाया–चित्र पढ्न सकिन्छ । ती कठोरतम राणाकालीन दिनमा पनि नेपाली युवामा क्रान्ति–चेतनाको बीजारोपण कसरी भयो ? के यो विस्मय कथा पनि हो ?
इतिहासकार राजेश गौतमका विचारमा जनतामाथि राणाहरूको विसंगत व्यवहार र अंग्रेजविरुद्ध भारतले छेडेको आन्दोलनपछिको घटना थियो, वि.सं. १९९७ । ‘त्यसबेला भगतसिंहको सोसलिस्ट अर्गनाइनेजसनको बिहार सेक्सनका सचिव भइसकेका थिए— दशरथ चन्द । र, तिनैले नेपालमा परिवर्तन गर्नुपर्छ भन्ने दृष्टिकोण दिए, अहिंसात्मक आन्दोलन गरे, पर्चा छरे । ती सबै युवा थिए’, गौतम भन्छन्, ‘राणाहरूको व्यवहारबाट असन्तुष्ट युवाले ती आन्दोलन हाँके । मानवअधिकार खोसिएकाले स्वतन्त्रताका लागि युवाले पर्चा छरे । त्यसै घटनाहरूको परिणाम हो– राणा शासनको पतन–मार्ग । त्यस घटनाको रापतापले नेपालमा दलहरू खुल्न थाले । हाम्रा सबै परिवर्तनको आधार सहिदको बलिदान हो ।’

सहिदहरू दशरथ चन्द र शुक्रराज शास्त्री ।
त्यो समय थियो— दोस्रो विश्वयुद्ध र राष्ट्रिय स्वाधीनता संग्रामको । भारतमा ‘अंग्रेज भगाऔं’ नारासहित स्वाधीनताको आन्दोलन चलिरहेको थियो । उता चीनमा सल्किरहेको थियो– जनवादी क्रान्तिको आगो । हाम्रो युवा–मस्तिष्कमा पनि देखा परेकै थियो– सामाजिक, राजनीतिक रूपान्तरणको झिल्को । र, त्यही झिल्को थियो– नेपाल परिवर्तनको मूल स्तम्भ ।
विश्लेषक तथा संस्कृति अध्येता मल्ल के. सुन्दरको अध्ययनमा त्यसबेला नेपालमा परिवर्तनको द्योतक नेपाल प्रजा परिषद् पार्टी मात्रै थिएन, त्यसका अतिरिक्त थियो– नागरिक अधिकार समिति, जहाँ राजाराम कलवार, शुक्रराज जोशी, केदारमान व्यथित, गंगालाल श्रेष्ठ, कैलाशराम श्रेष्ठहरू राजनीतिक उद्देश्यसहित संगठित थिए ।
‘प्रेमबहादुर कंसाकारको नेतृत्वमा प्रजातन्त्र संघ अग्रसर भयो, जसमा सूर्यबहादुर भारद्वाज, नूतन थपलिया, विजयबहादुर मल्ल, सहाना प्रधान, साधना प्रधान, स्नेहलता वनः जस्ता युवा संलग्न थिए’, मल्ल के. सुन्दर भन्छन्, ‘रुढिग्रस्त सामाजिक परम्पराविरुद्ध रूपान्तरणको चाहनामा आर्यसमाजी अभियन्ताका रूपमा माधवराज जोशी अग्रपंक्तिमा थिए । यता उपत्यकाका बौद्ध समुदायमा अमृतानन्द, प्रज्ञानन्द, महाप्रज्ञा आदि प्रचलित मूल्य मान्यता नाघेर चीवर धारणा गर्दै प्रवर्जित बने । त्यसको सजायस्वरूप देश निकालामा परे ।’
त्यसैबेला तिब्बतबाट आएका क्यान्छे लामाको प्रभावमा विशेषतः नेवार बौद्ध परिवारमा उचनीच र जातभातको सीमा नाघ्ने खाले सामाजिक सुधारको अभियान चलेको थियो । ‘शासकहरूले तिनलाई आडम्बर मतको अभियोगमा दण्डित पनि गरे । त्यसैगरी फजुल खर्च, अन्धपरम्परा र कर्मकाण्डविरुद्ध चेतना जगाउन ललितपुरका ज्ञानबहादुर नेवाः, सिद्धिगोपाल वैद्य, काठमाडौंका जुद्धबहादुर श्रेष्ठ, भक्तपुरका पशुपतिभक्त धौभडेल, बनेपाका आशाकाजी सेवकजस्ता युवाको सक्रियता देखियो ।
काठमाडौंका मंगलमान प्रधान प्रवृत्तिका युवा जातभातको बन्धनबाट नेपाल मुक्त हुनुपर्छ भन्ने सन्देश दिन तात्कालीन समाजले होचोनिचो गर्दै गरेको पोडे–च्यामेसँग वैवाहिक सम्बन्ध गाँस्न अघि सरे । त्यस बखतका सचेत युवाले राजनीतिक, सामाजिक रूपान्तरणका लागि खेलेको भूमिका थियो– समाजमा शैक्षिक जागरणको अभियान,’ मल्ल के. सुन्दर भन्छन् ।

सहिदहरू गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमा।
त्यही अभियानअन्तर्गत थियो– चिनियाँलाल सिंहको नेतृत्वमा सञ्चालित पहिलो समुदायगत विद्यालय महावीर इन्स्टिच्युट । शुक्रराज जोशी (शास्त्री), गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा थिए– त्यस विद्यालयका गुरु । त्यही बेला दिवाकार भाजु (राजभण्डारी), भुवनलाल प्रधान, नन्दलाल जोशीहरूको परिकल्पनामा स्थानीय तहमा विद्यालय सञ्चालन गरियो ।
राणाविरुद्ध विशाल युवापंक्तिमाझ चेतना फैलाउने पहिलो पुस्तकालय थियो– प्रदीप्त पुस्तकालय । सामाजिक सेवाभावमा पनि एकथरी युवा अग्रसर थिए– तुलसीमेहर श्रेष्ठ (चर्खा प्रचारक गुथी), दयावीर सिंह परोपकार (स्वास्थ्य उपचार केन्द्र), सूर्यलाल (अभाव मृत्यु संस्कार संस्था) । मल्लका विचारमा ती सबै युवा राणा शासनविरुद्ध प्रत्यक्ष/अप्रत्यक्ष संलग्न थिए ।
त्यस बेला एउटै संस्कृति, जातजातिसँगै परिवारको शासन चलाउने शाह वा राणाहरूका लागि ‘राष्ट्र’ को मूल अर्थ थियो— ‘मुलुक’ अर्थात् नियन्त्रित भूभाग । र, त्यसको विपक्षमा भएका व्यक्ति र शक्ति थिए– ‘अराष्ट्रिय’, जो राज्य र शासकभन्दा फरक ढंगले सोच्थे, हिँड्थे, बोल्थे, प्रवचन दिन्थे, स्कुल–पुस्तकालय चलाउँथे, नागरिक अधिकारका लागि समाज बनाउँथे ।
त्यहीमध्येको अगुवा थियो, नेपाल प्रजा परिषद् । भूमिगत राजनीतिक दलका रूपमा स्थापित यो संगठनको उद्देश्य थियो, राणा शासन पल्टाउने । प्रजा परिषदघिका खुलेआम विद्रोह, नेपालबारे भारतीय पत्रपत्रिकामा प्रचार, आर्य समाज, मलामी गुठी, मकैको खेती, चर्खा प्रचार, लाइब्रेरी पर्व, आडम्बरी मत, प्रचण्ड गोर्खाजस्ता आन्दोलनका योगदान प्रशंसनीय छन् ।
हो, त्यो यस्तै समय थियो, जुन बेला शासकभन्दा भिन्न विचार बोक्ने स्वप्नदर्शी, परिवर्तनप्रेमी आर्यसमाजी युवा सिंहदरबारमै कुटिए, झ्यालखानै कोचिए । दुर्भिक्षका ती दिनमा दुनियाँसँग थिए आफ्नै वेदना ।
‘शासकहरूबाट जर्जर बनाइएको राज्य र मुखसमेत थुनिएको समाजमा आस्था र अभिव्यक्तिको स्वतन्त्रताका लागि विद्रोह भयो । गरिखाने किसानको कुतबाट मोटाएको सैनिक–राज्यका लागि त्यस्तो विद्रोह राजद्रोह–राष्ट्रद्रोह सावित भयो र तीन नेवाः र एक क्षत्री युवालाई बलि दिइयो भने उनीहरूका अगुवा ब्राह्मण भएकै कारण ‘जिउँदो सहिद’ भए,’ अध्येता राजेन्द्र महर्जन भन्छन्, ‘बलिदान भएका र जिउँदै सहिद भएका अगुवामध्ये अधिकांश मध्यमवर्गका थिए र कुनै न कुनै राणा शासकका दरबारसँग सम्बद्ध उच्च पदस्थ कर्मचारीका सन्तान थिए । उनीहरूले एउटा परिवारको तानाशाही र लुटतन्त्रविरुद्ध संघर्ष गरे, जुन प्रजातन्त्रको मुख्य अवयव हो ।’
देशका निम्ति चार होनहार युवा सहिद भएको त्यस काण्डका पछाडि भयानक अँध्यारो र डरमर्दो कथा छ । अब ती युवाका बलिदानी कथामा एक चरण पुनर्भ्रमण गरौं ।
१९०३ सालमा कोतपर्व मच्चाएर नेपालको पहिलो राणा प्रधानमन्त्री बनेका जंगबहादुर राणाका सन्तान–दरसन्तानको जहानियाँ शासन अन्त्य (२००७) हुनुमा त्यसअघि घटित ‘१९९७ काण्ड’ को विशिष्ट योगदान रहेको कुरा जगजाहेरै छ ।
इतिहासका पृष्ठ पल्टाई हेर्दा थाहा लाग्छ– राणा शासनविरुद्ध नेपाल प्रजा परिषद् पार्टीले व्यापक पर्चाबाजी गरेको थियो– १९९७ असार ९ को राति– काठमाडौं, पाटन र भक्तपुरमा । पर्चामा लेखिएको थियो– ‘राणाहरूले प्रजाको धन अपहरण गरी तिनैलाई गुलाम बनाउने कुकर्म गर्दै आएका छन् ।’
असार ३० मा दोस्रो पर्चा छरियो । लेखिएको थियो– ‘राणाहरू निरङ्कुश डाँका हुन् ।’ साउन १७ मा तेस्रो पर्चा छरियो, जहाँ लेखिएको थियो– ‘शासक भनेका प्रजाका नोकर हुन्’ र ‘प्रजाहरूको इच्छाविरुद्ध काम गर्नु अपराध हो ।’ भदौ २४ को राति चौथो पर्चा छरियो । पर्चा लेखेर लिथो–मेसिनबाट प्रतिलिपि निकालिन्थ्यो, जसको नेतृत्व गरेका थिए– प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले ।
उपाध्यक्ष थिए– दशरथ चन्द र सचिव रामहरि शर्मा । इतिहासकार सुजित मैनालीको अध्ययन छ, ‘प्रजा परिषद्को पर्चा अभियानबाट मानिसलाई प्रेरणा मिलेको र राणाहरूलाई बेचैन बनाएको थाहा पाउँदा प्रजा परिषद्का सदस्यहरू खुसी हुन्थे । र, पर्चा अभियानपछि प्रजा परिषद्मा आबद्ध हुन चाहने युवा बढ्दै गए ।’
लेखक भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ मा पर्चा–काण्डको कथा लेखेका छन्, ‘पाटनमा भोटो देखाउने दिन राति सर्वप्रथम प्रजा परिषद्को नामबाट जावलाखेल दरबारनिर जुवाका खालखालमा टंकप्रसादको हस्तलिखित राणालाई घोर गाली र चेतावनीपूर्ण लिथो पर्चा छरियो ।
दशरथ चन्द स्वयंले क्षेत्रपाटीको पुलिसलाई ‘आफ्नो हाकिमलाई दिनू’ भनी एक मुठी पर्चा भिडाए । कहाँ, कसले, कुन बेला पर्चा छर्द छ त्यसको कसैलाई अत्तोपत्तो हुँदैनथ्यो तर छरिएका पर्चा तुरुन्तै हातहातै सहरभरि फैलन्थे ।… खास गरेर कलेजका लडकाले ती छरिएका पर्चाहरू खल्तीमा हालेर हिँड्दथे ।…त्यसअघि नेपालमा पर्चा भनेको के हो, त्यो कसैलाई थाहा थिएन ।’
इतिहासले नै प्रसंगहरू पल्टाउँछ— वि.सं. १९९७, भदौ १८ मा धर्मभक्त माथेमाको घरमा गोप्य बैठक बस्यो– प्रजा परिषद्को । बैठकले पार्टीको घोषणापत्र पनि अनुमोदन गर्यो । घोषणापत्रको मस्यौदा दशरथ चन्दले लेखेका थिए । भनिन्छ– त्यसअगावै त्यो घोषणापत्र राजा त्रिभुवनबाट सदर गरिएको थियो । घोषणापत्रमा लेखिएको थियो– राणा शासन अन्त्य गरी राजाको संवैधानिक नेतृत्वमा बेलायतको जस्तै प्रजातान्त्रिक शासन व्यवस्था लागू गर्ने ।
पर्चा छर्नेहरू पत्ता लगाउन राणाहरूले केही गुप्तचर साधुसंन्यासीको भेषमा परिचालन गरेका थिए । यसका लागि ठूलो इनाम पनि घोषणा गरिएको थियो ।
त्यो पर्चा अभियानपछि वि.सं. १९९७ कात्तिक २ मा काठमाडौंका सडक–गल्लीमा अनेकन अड्कलबाजीबीच व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो, जहाँ राणाका गुप्तचरमार्फत पक्राउ परेका थिए— दशरथ चन्द, धर्मभक्त माथेमा, जोगवीर सिंह, सिद्धिचरण श्रेष्ठ, धर्मवीर सिंह, तीर्थराज सुवाल, जगतमान, फत्तेबहादुर सिंह, चिनियाँलाल सिंह, गंगालाल श्रेष्ठ, दुर्गाप्रसाद झट्टराई आदि । त्रूरतम प्रधानमन्त्री जुद्धशमशेर राणाको आदेशमा पक्राउ पर्दा शुक्रराज शास्त्री ४६, दशरथ चन्द ३८, धर्मभक्त माथेमा ३२ र गंगालाल श्रेष्ठ २२ वर्षका थिए ।
‘इनामको लोभमा परी प्रजा परिषद्का सदस्य रामजी जोशीसहितका केही मानिसले राणाहरूलाई पोल लगाइदिए । पक्राउ पर्नुभन्दा दुई महिनाअघि गंगालाल प्रजा परिषद्को सदस्य बनेका थिए,’ सुजित भन्छन्, ‘शुक्रराज इन्द्रचोकमा भाषण गरेको अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए ।
टंकप्रसाद पर्चा छरिनुअगावै बनारस पुगेका थिए ।’ राणा सरकारले टंकप्रसादलाई पक्रिने योजना बनायो । उनलाई पिताका नामबाट नक्कली चिठी पठाइयो । चिठी प्राप्तिपछि टंकप्रसाद नेपाल फिरे, जनकपुर रेल स्टेसनमै पक्राउ परे । उनलाई काठमाडौं जेलमा राखियो ।
राणाहरूले ऊ बेला जारी गरेको इस्तिहारमा लेखिएको थियो, ‘मुलुकको यस्तो बकबादी कुरा लेखी छपाउनेलाई हाम्रो राजकाज र जंगी ऐनबमोजिम बात लागी सजायसमेत पाउने हुनाले लेखिएको पर्चा छपाइ टाँसी खसालेको जसले जाने थाहा पाएको छ, हामी श्री ३ महाराजका हजुरमा जाहेर गर्न सिंहदरबारमा हाजिर भई सबुद प्रमाणसहितको जाहेरी दरखास्त लेखी मानिससमेत पक्राउ गराइदिनु सबुद प्रमाण दी साबित गराउन सक्नेलाई मोहरू ५००० इनाम बक्स मिल्नेछ । (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका, राजेश गौतम) ।
राणाहरूले गठन गरेको जाँचबुझ समिति र विशेष अदालतको निर्णय थियो– टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, गंगालाल श्रेष्ठ, चन्द्रमान सैंजु, गोविन्द उपाध्याय, चूडाप्रसाद उपाध्याय, गणेशमान सिंह, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डे, हरिकृष्ण श्रेष्ठ र मुकुन्दप्रसाद रिमाल गरी १३ जना मुख्य दोषी हुन् ।
गंगालाल, धर्मभक्त, दशरथ (प्रजा परिषद्) र शुक्रराज शास्त्रीसहित चार जनालाई मृत्युदण्ड सजाय सुनाइयो । गंगालालबारे भनिएको थियो– उनी नवयुवक भएकाले माफी मागे उनलाई नमारिने । नासु पूर्णनारायण प्रधानका हकमा– ‘ज्यान माफ पाई १८ वर्ष कैद, सर्वस्व भई मुडी दामल हुने’ । पूर्णनारायणको ८३ वर्षको उमेरमा वि.स. २०३५ मा मृत्यु भयो ।
जात व्यवस्थाअनुसारको दण्डविधानका कारण टंकप्रसाद आचार्य र रामहरि शर्मालाई सर्वस्वसहित कपाल मुण्डन र दामल सजाय मात्रै तोकियो, ब्राह्मण भएकैले तिनको जीवन जोगियो ।
ऐतिहासिक प्रसंगले भन्छ– शुक्रराज पहिलो सहिद भए, जसलाई माघ १० को राति १२ बजे टेकुको खरीको बोटमा फाँसी दिइयो, धर्मभक्त माघ १३ को राति १२ बजे सिफलमा फाँसीमा चढे । दशरथ र गंगालालको अन्तिम इच्छा थियो– गोली हानेर मारियोस् । माघ १४ को राति विष्णुमती खोलामाझ शोभा भगवतीमा लगियो र साढे १ बजे
मृत्युदण्ड दिइयो ।
वि.सं. १९९७ पछिका केही वर्ष कस्ता रहे ? इतिहासकार भुवनलाल प्रधानले ‘नेपालको जनक्रान्ति– २००७’ किताबमा लेखेका छन्, ‘जनतामा केही समयसम्म जुद्धशमशेरको पद–त्याग, पर्चाबाजी, द्वितीय विश्वयुद्ध, भिक्षुहरूको देश निकाला आदि समसामयिक घटनाहरूबारे चर्चा चलिरह्यो । तर, देशभित्र र बाहिरको परिस्थिति भने चाल पाइने र नपाइने ढंगले छिटोछिटो बदलिइरहेको थियो ।’
१९९७ मै राणा शासन अन्त्यको पहिलो अनुच्छेद लेखियो । र, जब जनता ताते, राणाहरूलाई सत्ताबाट हुत्याए । अनि २००७, फागुन ७ मा उदय भयो प्रजातन्त्रको पहिलो बिहानी ।पाठशालाको कक्षाकोठा, भव्य सभागार, अर्धउज्यालो, अर्धअँध्यारो बेला सहिदका कहानी सुिनरहँदा स्मृतियानमा सवार भएर एक थान छरिता पदचापमा आइबस्थे गंगालाल– देशलाई जीवन आहुति दिने एक अद्भुत र सुविख्यात युवा ! सहिदको छाया–छविका एक चुली ! स्वतन्त्रता–खोजका अजीव दास्ताँ ।
नेपालको एक अँध्यारो इतिहासको साक्षी बनेर उभिएको प्रभावशाली किताब ‘कारागारका सम्झना’ मा कवि सिद्धिचरण श्रेष्ठले कालकोठरी, यातना र तनावहरूको डायरी लेखेका छन् । राणाविरुद्ध लड्ने अमर सहिदहरूका अलावा गोपी च्यामे, चिनियाँलाल सिंह, चन्द्रमान मास्के, पूर्णबहादुर मानव, प्रेमराज शर्मा, पूर्णनारायण प्रधान, पण्डित मुरलीधर, राममाया च्यामिनीका कथा पनि छन् । डायरीमै संगृहीत एउटा चिठी छ— सहिद गंगालाल श्रेष्ठको । गंगालालले पितालाई लेखेको त्यस चिठीसँगै गंगालाल–स्मृतिले रफ्तार लिइरहेको छ—
बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्तै सकिनँ, म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु, सम्झनुपर्ने पाठचाहिँ मैले बिर्सन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका, अगणित भाइहरूका पहेंला मुखसित डराएर आँखा चिम्लन आँटेछु ! तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तस्करणबाट आगो रुमल्लिएर आयो ! के–के असह्य भयो, अब म सहन असमर्थ छु ! जताततै कोलाहलको ज्वाला देख्छु— आफैं सल्कन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् !
तपाईं मेरा पिता हुनुहुन्छ, तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ– म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छँदै छन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायविरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु । — बालक पुत्र गंगालालको दण्डवत् सेवा
किताबमा लेखिएको छ, ‘गंगालाललाई दिनहुँ बाँसमा झुन्डयाएर कोर्रा लगाउने र साबिति बयान गराउने कोसिस गरियो ।… तर, पनि उहाँ सावित हुनु भएन । माफी माग्नु भएन । गंगालाल दाइकी पत्नी हसिनादेवी त्यसै बेला गर्भवती हुनुहुन्थ्यो । सरल र सोझी हसिनादेवी गंगालालको गिरफ्तारी र यातनाबाट भयभीत हुनुहुन्थ्यो । कति दिन केही नखाई, राति नसुती, आँसु पिएर दिन बिताउनुभएको थियो ।’
विगतको पानाले देखाउँछ कि गंगालाल घरबाट झ्यालखानातिर गइरहेका हुन्थे । चार सहिदलाई मृत्युदण्ड दिने नरशमशेर राणाको आत्मकथामा उनले साबिती बयान गरेका छन्, ‘गंगालालकै इच्छाबमोजिम राति १० बजेतिर लहरीमा हाली प्याफलको बाटो लैजाँदा घरनेर गंगालालले आफ्नी श्रीमतीलाई ‘हसिना– हसिना’ भन्न भ्याए । उनकी श्रीमतीले एक–दुई दिनअघि मात्र छोरा जन्माएकी थिइन् ।… विष्णुमती नदीको बगरमा उनीहरूलाई लगी त्यहाँ गाडिराखेको बाँसको खाँबाहरूमा बाँधेर एकैसाथ गोली हानी मार्न केही दिनअघिदेखि नै तालिम गराइएका २ जना पोडेहरूलाई १२ बोरको बन्दुकमा १–१ नम्बरको टोटा हाली ‘एकैसाथ गोली पड्काई मारिदिनू भनी मैले पठाएँ ।’
मंगलादेवी सिंहको किताब ‘नारी संघर्षका पाइलाहरू’ मा सहिदहरूलाई फाँसी दिइएपछिको सन्नाटा लेखिएको छ, ‘पचली पुग्दा नपुग्दै माथिबाटै मानिस झुन्ड्याइएको देखियो । माघको जाडोमा अलि–अलि हुस्सु लागेको बिहानको वातावरणमा धोती लगाएका, छरिता जुँगा पालेका, गोलाकार, पावरवाला चस्मा लगाएका, कपाल तह लगाएर कोर्ने आर्य समाजका ती धुरन्धर विद्वान् शुक्रराज शास्त्री झुन्डिरहेको मैले पनि देखें । पार्थिव शरीरले मरेर पनि सन्देश दिइरहेको थियो– यस्तो अत्याचारको निरन्तरतालाई टुटाउनका लागि हे बाँचेका बन्धुहरू हो ! उठ, जाग, आफ्नो जिउँदोपन देखाऊ, मनबाट डरको पोको झिकेर फाल ।’
तन्द्रा, सपना वा विपनामा तिनका आकृति ब्युँझनु र सहिद–सहादत सन्दर्भ मनन गर्नु सायद हो– ती प्रतिको अगाध सम्मान । ती हुन्– हाम्रा ज्ञान र चेतनाका अभिन्न हिस्सा, जो इतिहासको प्रिय अँगालोमा सधैं मुस्कुराइरहन्छन् ।
१९९७ को सहिद–काण्डअघि पनि थिए– राणाविरुद्ध प्राण उत्सर्ग गर्ने केही महापुरुष । ‘प्रचण्ड गोर्खा’ आन्दोलनमा जेल परेका खड्गमान सिंह, मैनाबहादुर खत्रीहरूको नाम त्यो लस्करमा आउँछ । इतिहास भन्छ– भीमशमशेरका छोरा–नातिहरूमा उत्पन्न उन्माद र सत्ता लिप्सापछि ‘प्रचण्ड गोर्खा’ को जन्म भयो ।
गंगालालहरूको सहादत शृंखलाकै अर्को महत्त्वपूर्ण कडी हो, तमाम जेन–जी युवाले दिएको जीवन आहुति । त्यो हो– निराशाहरूको घोषणापत्र । संसार बदल्ने स्वप्नयात्री ती युवाको सहादत केवल एक मृत्यु होइन, ‘देश बाँचिरहोस्’ भन्ने हृदयको असल चाहना हो । र, देशनिम्ति उच्च उत्सर्ग हो ।
सहिदको बलिदानी त्यो ऊर्जा हो, जसले सम्पूर्णता दिएर राष्ट्र उज्यालो बनाउँछ । सहिदको रगतले सिञ्चित लोकतन्त्रको रूखलाई हाम्रो सपना, प्रतिबद्धता र प्रयत्नले मात्रै हुर्काउन सकिन्छ ।