
बारा- सुर्यको पहिलो किरणलाई अर्घ दिदै बाराका व्रतालुले बुधवार चैती छठ ब्रत समापन गरेका छन ।
चार दिन देखी निराहार ब्रत बसेका व्रतालुले बुधवार बिहानै देखी छठीघाट स्थित जलाशयमा सुर्याेदयकाे प्रतिक्षामा बसेका थिए ।
लामाे प्रतिक्षापछि व्रतालुहरु जिवनमा सधै प्रकाश फैललीरहाेस भने कामना सहित सुर्यलाई देवता मानी अर्घ दिदै ब्रत समापन गरेका हुन ।
यसअघि चैती छठ ब्रत बसेका व्रतालुले मंगलवार अस्ताउदै गरेका सूर्य देवतालाई अर्घ दिएका थिए ।
छठ ब्रतकाे पहिलाे दिन आईतवार नहाय खाय, दाेश्राे दिन रसियाव राेटी विधी पुरा गरेका थिए ।
व्रतालु तथा तिनका आफन्तले भरीभराउ बनेकाे छठीघाटहरु अहिले सुनसान बन्दै गएकाे छ ।
बारा सदरमुकाम कलैयाकाे रामजानकी मन्दिर छठीघाट, सिद्धेश्वर मन्दिर छठीघाट, बरेवा स्थित छठीघाट, ब्रम्हपुरी, उत्तरझिटकैया, सिम्राैनगढ, प्रसाैनी, बरियारपुर, गंजभवानीपुर, जितपुर, परवानीपुर लगायतका स्थानमा रहेका छठीघाटलाई सिंगारिएकाे थियाे ।

छठीघाटमा छठ ब्रतका गितहरु गुन्जीरहेका थिए । चैत महिनामा ब्रत बस्न कठिन हुने भएकाेले यसमा व्रतालुकाे संख्या कम रहेपनि पछिलाे समय चैती छठ ब्रत बस्ने ब्रतालुकाे संख्या बढदै गएकाे कलैया उपमहानगपालिका वडा नं. १६ निवासी शिवजी प्रसाद पटेलले जानकारी दिए ।
कार्तिक महिनामा मनाईने छठ ब्रतमा व्रतालुकाे संख्या उल्लेख्य रहने गरेकाे पटेलकाे भनाई छ ।
छठ व्रत बस्दा मनाेकामना पुर्ण हुने, सन्तान प्राप्ति हुने, चर्मराेग निकाे हुने जनविश्वास रही आएकाे छ ।
लाेक आस्थाको यस पर्वलाई वर्षमा दुई पटक मनाईने गरिन्छ । हरेक वर्ष कार्तिक र चैत महिनामा छठ ब्रत परापुर्वकाल देखी मनाईदै आएकाे जानकारहरुकाे भनाइ छ ।
