
बारा- चैती छठ ब्रत बसेका व्रतालुले मंगलवार अस्ताउदै गरेका सूर्य देवतालाई अर्घ दिएका छन ।
चार दिन सम्म मनाईने छठ पर्वकाे मुख्य अर्थात तेश्राे दिन अस्ताउदै गरेकाे सुर्यलाई व्रतालुले अर्घ दिएका हुन ।
यस अघि छठ ब्रतकाे पहिलाे दिन आईतवार नहाय खाय, दाेश्राे दिन रसियाव राेटी विधी पुरा गरीसकेपछि आज यसरी अर्घ दिन व्रतालुहरु छठीघाटमा आईपुगेका हुन ।
अहिले बारा सदरमुकाम कलैयाकाे रामजानकी मन्दिर छठीघाट, सिद्धेश्वर मन्दिर छठीघाट, बरेवा स्थित छठीघाट, ब्रम्हपुरी, उत्तरझिटकैया, सिम्राैनगढ, प्रसाैनी, बरियारपुर, गंजभवानीपुर, जितपुर, परवानीपुर लगायतका स्थानमा रहेका छठीघाटलाई सिंगारिएकाे छ ।
छठीघाटमा छठ ब्रतका गितहरु गुन्जीरहेका छन । अहिले व्रतालु तथा तिनका आफन्तहरुबाट छठीघाट भरीभराउ छ ।
चैत महिनामा ब्रत बस्न कठिन हुने भएकाेले यसमा व्रतालुकाे संख्या कम रहेपनि पछि समय चैती छठ ब्रत बस्ने ब्रतालुकाे संख्या बढदै गएकाे स्थानीयले बताएका छन ।
कार्तिक महिनामा मनाईने छठ ब्रतमा व्रतालुकाे संख्या उल्लेख्य रहने गरेकाे स्थानीयकाे भनाई छ ।
बुधवार उदाउदै गरेकाे सूर्य देवताकाे पहिलो किरणलाई अर्घ दिदै व्रतालुले विधिवत ब्रत समापन गर्नेछन ।
छठ व्रत बस्दा मनाेकामना पुर्ण हुने, सन्तान प्राप्ति हुने, चर्मराेग निकाे हुने जनविश्वास रही आएकाे छ ।
लाेक आस्थाको यस पर्वलाई वर्षमा दुई पटक मनाईने गरिन्छ । हरेक वर्ष कार्तिक र चैत महिनामा छठ ब्रत परापुर्वकाल देखी मनाईदै आएकाे जानकारहरुकाे भनाइ छ ।


