जनकपुर —मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव लैजान सात दलले प्रक्रिया अघि बढाएका छन् ।
‘सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव’मा उपसभामुख बबिता राउतले तोक लगाइसकेकी छन् । तर उक्त पत्र दर्ता भइसकेको छैन ।
सात दलका नेता र सांसद अहिले प्रदेशसभा परिसरमै छन् । कार्यालय समय सकिएको र दर्ता गर्ने कर्मचारी नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको सात दलको भनाइ छ ।प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम (१) बमोजिम ७४ जना प्रदेशसभा सदस्यको समर्थनमा प्रस्ताव पेस गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा नेपाली कांग्रेस प्रमुख सचेतक कुमरकान्त झा, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, लोसपा संसदीय दलका नेता जयनुल राईन, एकीकृत समाजवादीका प्रमुख सचेतक कनिष पटेल नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता उर्मिलादेवी सिंहले प्रस्तावकका रुपमा हस्ताक्षर गरेका छन् ।
जसपा संसदीय दलका नेता सरोजकुमार यादव (बारा) ले सभामुख मण्डलले संसद् सञ्चालनमा दलीय पक्ष लिएको भन्दै प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको बताए ।