बीरगंज- देशभर अविरल वर्षा जारी रहँदा शनिबार दिनभर मधेश प्रदेशदेखि बागमती प्रदेशसम्मका धेरै जिल्लामा बाढी-पहिरोको उच्च जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार विशेषगरी मधेश प्रदेशका सबै जिल्ला र बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दिनभर जलस्रोतको जलस्तर तीव्र रूपमा बढ्दै खतराको तहमा पुगेको छ ।
शनिबार दिनभर वर्षाको मात्रा बढेसँगै मकवानपुर, बारा, रौतहट, ललितपुर, धनुषा, सिन्धुली र पर्साका १९ वटा केन्द्रमा नदीहरूको जलस्तर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले बताए ।
यसैबीच दिनभर सात वटा प्रमुख नदीमा सतर्कता र खतरा स्तर पार भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जल विज्ञान विज्ञ पराजुलीले भने, ‘सात मध्य बागमतीको मनोहरा, खोकना र सिन्धुलीको कमला नदीमा खतराको तह पार गरेको छ ।´
पराजुलीका अनुसार धनुषाको रातु खोला, मकवानपुरको लालबकैया खोला, भक्तपुरको हनुमन्ते खोला, काभ्रेपलाञ्चोकको रोशी खोला सतर्कतको तह पार गरेको छ ।
भोलि कहाँ के हुन्छ ?
विभागले शनिबार बेलुकी ८ बजेदेखि भोलि बेलुकी ८ बजेसम्मका लागि मधेश प्रदेशका सबै जिल्ला र कोशी प्रदेशका पश्चिमी जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ ।
मधेश र कोशी प्रदेशमा वर्षा सर्दै जाँदा बागमतीमा भोलि दिउँसोदेखि वर्षा मथ्थर हुँदै जाने छ । विभागका अनुसार हालको अवस्था जोखिमपूर्ण भए पनि मौसमविद्हरूले भोलि दिउँसोपछि वर्षा क्रमशः मत्थर हुँदै जाने बताएका छन् ।
पर्सिपछि मनसुन नेपालबाट बाहिरिने सम्भावना रहेको उनीहरुले जनाएका छन् । उक्त समयपछि कोशी प्रदेशका केही जिल्लामा मात्र सामान्यदेखि हल्का वर्षा हुने अनुमान गरेको छ ।