४० प्रतिशत पदयात्री पर्यटकले गरे बुकिङ रद्द

गढी न्यूज

पोखरा — समय ठिकठाक हुँदो हो त पोखराकी ट्रेकिङ गाइड हिरा मल्ल अस्ट्रेलियाका पदयात्री पर्यटकको समूह लिएर यति बेला घोरेपानी–पुनहिलमा हुन्थिन् । उनको आफ्नै कम्पनी मल्ल सिस्टर्स वुमन एडभेन्चर गाइड्सबाट पदयात्रामा आउन लागेका ती पर्यटकले हालैको प्रदर्शनपछि नेपाल अशान्त बनेको भन्दै ‘बुकिङ’ रद्द गरेका छन् ।

मल्लले पछिल्लो प्रदर्शन अनि आगजनी र तोडफोडपछि नेपाल असुरक्षित रहेको भन्दै पदयात्रामा आउने विदेशी पर्यटकले बुकिङ रद्द गरेका कैयन खबरहरू आफूले सुनेको बताइन् । ‘पर्यटकीय सिजनको मुखैमा प्रदर्शन हुँदा नकारात्मक सन्देश गएको छ,’ उनले भनिन्, ‘नेपाल आउन चाहने पर्यटक पनि ढुक्क हुन सकिरहेका छैनन् ।’ उनले आफ्नो कम्पनीबाट ५ असोजबाट घारेपानी पदयात्रामा निस्कने योजना बनाएको ११ जना अस्ट्रेलियाका पर्यटकको समूहले बुकिङ रद्द गरेको र असोजको मध्यतिर मनास्लु पदयात्रा मार्गमा जाने तय भएको एउटा क्यानडेली समूह पनि नआउने भएको बताइन् ।

पोखरामा भदौको अन्तिम सातादेखि पदयात्रामा जाने पर्यटकको आगमन सुरु हुन्छ । असोज र कात्तिकमा यो संख्या उच्च हुन्छ । अन्नपूर्ण क्षेत्रमा छोटो र लामो दूरीका पदमार्गमा जाने पर्यटककै कारण पोखराको पर्यटन चलायमान हुन्छ । तर ‘जेन–जी’ आन्दोलनको प्रभावले यस सिजनमा आउने पर्यटकको संख्यामा कमी हुने भएको छ । ‘पर्यटन जस्तो संवेदनशील क्षेत्रलाई सानो घटनाले पनि असर पार्छ,’ मल्लले भनिन्, ‘अब नेपाल सुरक्षित छ भनेर अन्तर्राष्ट्रिय रूपमा नेपाल सरकारले नै सन्देश पुर्‍याउनुपर्छ ।’ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार पोखरामा पदयात्रामा आउने पूर्व योजना बनाएका ४० प्रतिशत विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । प्रदर्शनमा पर्यटकलाई हानी नपुगे पनि सामाजिक सञ्जालका कारण नेपाल आउन असुरक्षित महसुस गरिरहेको उनले बताए । ‘कोरोनापछि यसपल्ट पर्यटन अलि लयमा आउने देखिएको थियो,’ उनी भन्छन्, ‘चेन होटलहरुमा आगजनी, लेक साइडकै बीच बजारमा आगजनी हुँदा नराम्रो सन्देश गएको छ ।’

पदयात्रामा आउने पर्यटक बिमा गरेर मात्रै नेपाल आउँछन् । अहिलेको अवस्थामा विदेशी बिमा कम्पनीले पर्यटकको बिमा गर्न नमानिरहेको केही पर्यटन व्यवसायीहरूले बताए । बिमा गर्नेले महँगो रकम तिर्नुपरिरहेकोले पनि बुकिङ रद्द भइरहेको र नयाँ इन्क्वायरी पनि कम आएको आचार्यले सुनाए । ‘आउन चाहने पर्यटकले आफ्ना दूतावासमा सोधपुछ गरिरहेका छन्, केही देशका दूतावासले ट्राभल एड्भाइजरी जारी गरेकोले पनि बुकिङ रद्द हुने र होल्ड हुने भइरहेको छ,’ उनले भने ।

पदयात्रामा आउने पर्यटककै कारण पोखराका होटल, रेस्टुरेन्ट, ट्रेकिङ इक्युपमेन्ट सप लगायत ठूलादेखि साना व्यवसाय चलायमान हुन्छन् । पछिल्लो प्रदर्शनपछि पोखरा सहित पदयात्रा मार्गका होटल, रेस्टुरेन्ट पनि प्रभावित हुने भएका छन् । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार २० देखि २५ प्रतिशत पर्यटकले होटलको बुकिङ रद्द गरेका छन् । पर्यटकीय मौसम सुरु हुने बेला पोखराका होटलमा अत्यन्त न्यून अक्युपेन्सी छ । ‘सेप्टेम्बरको बुकिङ क्यान्सिल नै भएका छन्, अक्टोबरका लागि नयाँ बुकिङ निकै कम छन्,’ उनले भने, ‘भएका पर्यटक भ्रमण छोट्याएर फर्किएको र भारतीय पर्यटकको पनि आगमन कम हुँदा बजार सुनसानजस्तै छ ।’

पोखराका ६ वटा होटल, रिसोर्ट, रेस्टुरेन्टमा प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा झन्डै ३ अर्बको क्षति भएको संघको अनुमान छ । कोभिडअघि पर्यटकीय मौसममा पोखराका होटलमा ९८ प्रतिशतसम्म अक्युपेन्सी रहेको सुवेदीले स्मरण गरे । ‘यो वर्ष कोभिडअघिकै अवस्थामा फर्किन्छौँ भन्ने थियो,’ उनले भने, ‘माओवादी युद्ध, जनआन्दोलन, भूकम्प, नाकाबन्दी, कोरोनापछि पर्यटन क्षेत्रलाई फेरि अर्को झड्का लागेको छ । आन्दोलन भइरहने हो भने उठ्न गाह्रो छ ।’ नेपालमा दुई दिनमै आन्दोलन सकिएको र अब पर्यटकका लागि कुनै असुरक्षा नरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने उनी सुझाउँछन् ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेका अनुसार गत वर्ष यही अवधिको भन्दा यस वर्ष पर्यटकको आगमन ४० प्रतिशतले कम भएको छ । यो सिजनमा पर्यटकको संख्या गत वर्षभन्दा १० देखि १५ प्रतिशतले कम हुने बोर्डको आकलन छ । ‘हिल्टनजस्ता होटल जल्दा खर्चालु पर्यटकमाझ अन्तर्राष्ट्रिय चेन होटल पनि सुरक्षित रहेनछन् भन्ने सन्देश गएको छ,’ उनी भन्छन्, ‘अब सामाजिक सञ्जालमार्फत नै सकारात्मक सन्देश दिने सामग्रीको प्रचारप्रसार गर्ने रणनीति तयार गर्नुपर्छ ।’

आन्दोलनकै बेला पनि पर्यटक बसलाई आन्दोलनकारीले स्वागत गरेको भिडियो भाइरल भएको थियो । यस्ता दृश्यहरूले पर्यटकहरू आन्दोलनमा पनि असुरक्षित हुँदैनन् भन्ने सन्देश दिन सक्ने पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल पर्यटकका लागि सुरक्षित रहेको र अब पुरानै अवस्थामा फर्किएको सन्देश पुर्‍याउनुपर्नेमा लामिछानेले जोड दिए । अन्नपूर्ण संरक्षण क्षेत्रमा आर्थिक वर्ष ०८१/८२ मा २ लाख ७८ हजार १ सय १३ पर्यटक पुगेका थिए । तीमध्ये १ लाख ५७ हजार ७ सय ८६ भारतीय हुन् । यो अंकले पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ भन्ने बुझाउँछ ।

Share This Article