बारामा युवकको मृत्यु भएपछि ठक्कर दिने ट्रक सहित चालक पक्राउ, सिसी टिभीले खुलायो फरार ट्रक र चालकको पहिचान

गढी न्यूज

बारा– युवकलाई ठक्कर दिई फरार भएको एक ट्रक र चालकलाई सिसी टिभी भिडियोबाट पहिचान गरी नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । ट्रकको ठक्करबाट गम्भिर घाईते भएको युवकको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको जनाएको छ ।
बाराको निजगढ नगरपालिका ८ तामागढी गेट स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट कोहल्बी नगरपालिका वडा नम्बर ५ निवासी सुरेश चौधरीका २० वार्षिय छोरा समिर चौधरी घाईते भएका थिए ।
साउन १३ गते राति ११ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट राजमार्गको पोष्टमा खटिएको प्रहरी टोलीले एक पुरुष व्यक्ति अचेत अवस्थामा सडक छेउमा लडिरहेको सूचना पाएपछि घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।
ती युवकको टाउकोमा गम्भीर चोट लागेको थियो र उनी कालो टिसर्ट, कालो पाइन्ट तथा कालो बुटमा थिए । घटनास्थलबाट नजिकै एउटा आर्मी कलरको झोलासमेत फेला परेको थियो ।
प्रहरीले उनलाई तत्काल निजगढको सामुदायिक अस्पतालमा पुर्‍याएको थियो, तर त्यहाँबाट थप उपचारको लागि एल।एस न्युरो अस्पतालमा रिफर गरिएको थियो । अस्पतालमा उपचारको क्रममा भोलिपल्ट अर्थात साउन १४ गते दिउँसो करिब ४ बजे युवकको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
घटनाको अनुसन्धान गर्दै जाँदा मृतक समिर चौधरी पिंक रङको बा। प्र। ०३–००१ ख ३८३७ नम्बरको न्यु डायमण्ड बसबाट राति ११ बाजेमा सकुशल झरेको सीसीटीभी फुटेजबाट देखिएको छ । झरेपछि केही कदम मात्र हिँड्दा उनको निधारमा गम्भीर चोट लागेको देखिन्छ, जुन फलामको चुच्चो भागले लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
त्यसपछि घटनास्थल आसपासका सवारी साधनहरूको सीसीटीभी फुटेज विश्लेषण गर्दा को १ ख ७८०८ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएर भागेको प्रहरी अनुसन्धान बाट खुलेको छ । ट्रक र चालक सन्दीप कुमार भण्डारीलाई इलाका प्रहरी कार्यालय निजगढमा ल्याएर सोधपुछ गर्दा उनले दुर्घटनामा संलग्न भएको स्वीकार गरेका छन् ।

Share This Article