पाँचथर — सविता मगरकी श्रीमान् रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । उहाँले त्यहाँको होटलमा काम गर्न थालेको पनि ६ वर्ष पूरा भयो । श्रीमान् विदेशिनुअघि फिदिम नगरपालिका–६ सिवा गाउँमै सानोतिनो व्यापार व्यवसाय चलाउँथ्यौं ।
छोराछोरी हुर्कंदै गए । स्कुल घरदेखि टाढा रहकाले उनीहरूको भविष्यप्रति चिन्ता लाग्न थाल्यो । अब छोराछोरी पढाउन सदरमुकाम झरो । भाडामा लिएको कोठामा छोराछोरीसँग बस्न थालो । म गाउँमा प्रसस्तै श्रम गर्ने मान्छे सदरमुकाममा खाली हात बस्न मन मानेन ।
सानैदेखि केही न केही इलम गर्नुपर्छ भन्ने हेक्का भएकाले पनि केही नगरी बस्न मन नपरेको हुन सक्छ । अब एउटा मेसिन, आइरन र कैंची किनेर सदरमुकाम फिदिमस्थित पुरानो मालपोत लाइनमा पक्की घरको एउटा सटर भाडामा लिएर सिलाइकटाइको काम थालेँ ।
हुन त श्रीमानको कमाइले मात्रै सदरमुकामको महँगी, कोठाभाडा र छोराछोरीको स्कुल फि जस्ता नियमित र भैपरी आउने खर्च गर्दा व्यवहार चल्दैन, बचत गर्न पनि सकिन्न भन्ने हेक्का भएर नै सानै भए पनि व्यवसाय निर्णयमा पुगेकी हुँ । उहाँले ‘घरखर्च तिमीले धान्यौ भने मैले कमाएको बचत गर्न सकिन्छ’ भनेपछि हिम्मतसहित पसल थाल्ने बीउ पुँजी लगानी गर्नुभयो ।
मैले यो व्यवसाय नथालुन्जेल श्रीमान्को कमाइले घरखर्च धाने बचत हुँदैनथ्यो । सुरुवातमा केही कठिनाइ भए पनि बिस्तारै सिलाइकटाइ व्यवसायमा ग्राहकको मन जित्न थालेँ । व्यवसाय पनि फस्टाउन थाल्यो । म विद्यार्थीका पोसाक सिलाउँछु । पसल आकर्षक बनाउन भ्याएकी छैन । अर्डर लिन भ्याइनभ्याइ हुन्छ । शैक्षिक सत्रको सुरुमा ग्राहक नै फर्काउनु पर्छ । त्यसबेला मन अमिलो हुन्छ । अचेल घरखर्चका लागि श्रीमान्को कमाइ खर्च गर्नु परेको छैन ।
उहाँले विदेशमा दुःख गरेर कमाएजति त कमाउन सक्दिनँ तर घरभाडा, सटर भाडा, छोराछोरीको स्कुल फि, औषधिमूलो र भान्छामा आवश्यक पर्ने सामान किन्दा श्रीमान्ले कमाएको खर्च गर्नु पर्दैन । गाउँमै भए पनि जग्गा जोडेका छौं । पसल थापेको घरमा ६ हजार रुपैयाँ सटरर भाडा तिर्छु, ३ हजार कोठाभाडा लाग्छ । नानीबाबुको स्कुल फि तिर्न मासिक ६ हजार रुपैयाँ खर्च हुन्छ । यसबाहेक खानपान र औषधि उपचारसमेत गरी महिनामा २५ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ ।
यो खर्च लगभग पसलकै कमाइले धान्छ । म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तालिम लिएर सूचीकृत पनि भइसकेही छु । अझै व्यवसायलाई परिष्कृत गर्ने योजना छ । तर एक्लो भएकाले भ्याएको छैन । जे काम पनि श्रीमानसँग सल्लाह गरेर गर्छु । व्यवसायमा अझै अघि बढ्ने योजना छ । श्रीमान विदेशबाट फर्केपछि सँगै कमाउने र सँगै रमाउने ठूलो चाहना छ ।