जेनेभा — किशोरी मिचेल अग्येमाङलाई युरो २०२५ खेलिरहेको इंग्लिस महिला फुटबल टिममा ‘वाइल्ड कार्ड’ का रूपमा राखिएको थियो । यी किशोरीका लागि यो सिजन आफैंमा अनौठो रहेको छ । उनकै खेलको सहयोगमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको छ ।
इंग्ल्यान्ड दुई अवसरमा प्रतियोगिताबाटै बाहिरिने स्थितिमा पुगेको थियो । ती दुवै अवसरमा टिमको उद्दार गर्ने खेलाडी रहेकी छन्, १९ वर्षीया आर्सनल फरवार्ड अग्येमाङ । जुरिचमा भएको स्विडेनविरुद्धको क्वाटरफाइनलमा इंग्ल्यान्ड एक समय २–० ले पछाडि थियो ।
यस्तोमा प्रशिक्षक सरिना विगमनले उनलाई अन्तिम २० मिनेट मैदानमा प्रवेश गराइन् । त्यसपछि खेल विस्तारै इंग्ल्यान्डको पक्षमा मोडिन सुरु भयो । लुका ब्रोन्जले इंग्ल्यान्डबाट पहिलो गोल गरिन् भने अग्येमाङले अतिरिक्त समयमा बराबरी गोल थपिन् । त्यसपछि इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा विजयी रह्यो ।
मंगलबार जेनेभामा भएको सेमिफाइनल खेल त अझ बढी नाटकीय रह्यो । त्यस खेलमा अग्येमाङ ८५ औं मिनेटमा मैदानमा छिरेकी थिइन् । त्यति बेला इटाली १–० ले अगाडि थियो । यस्तोमा अग्येमाङले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरिन् । पछि अतिरिक्त समयमा इंग्ल्यान्ड २–१ ले खेल जित्न सफल रह्यो । उनी आफैं भन्छिन्, ‘जसरी हामी खेलिरहेका छौं, ती सबै अनौठो छ ।’
उनी थप्छिन्, ‘यसले अर्कोतर्फ टिम कस्तो छ, त्यो पनि प्रस्ट पार्छ । म आफैं भने भाग्यमानी मानिरहेको छु, किनभने हामी अर्को एक साता प्रतियोगितामा रहने छौं ।’ अग्येमाङको त्यो गोलपछि खेल टाइब्रेकरतर्फ अग्रसर थियो, तर क्लोई केलीले खेलको अन्त्यतिर निर्णायक गोल गरिन् ।
अब इंग्ल्यान्डको ध्यान आफूले तीन वर्षअघि जितेको उपाधि रक्षा गर्ने हुनेछ । त्यति बेला अग्येमाङ इंग्लिस टिममा थिइनन्, न त उनले आर्सनलको सिनियर टिमबाट डेब्यु गरेकी थिइन् । यसअघिको युरोसम्म अग्येमाङ खासमा वेम्बलीकी ‘बल गर्ल’ थिइन् । इंग्ल्यान्डले उत्तरी आयरल्यान्डलाई हराउँदा उनी मैदानमा थिइन् । यो संयोगले इंग्लिस टिमका लागि प्रशिक्षक विगमनको पहिलो खेल थियो । अग्येमाङले सन् २०२२ को नोभम्बरमा आर्सनलबाट पहिलो पटक खेलिन् ।
त्यसपछि अप्रिल आइपुग्दा इंग्ल्यान्डका लागि डेब्युको अवसर नै पाइन् । त्यसमा उनको प्रदर्शन आफैंमा चमत्कारपूर्ण रह्यो, किनभने उनले बेल्जियमविरुद्धको खेलमा मैदान छिरेको ४१ सेकेन्डमै गोल गरिन् । त्यो पनि उत्कृष्ट भलीको माध्यमबाट । यस्तोमा विगमनलाई त्यस्तो खेलाडीको विकल्प तयार भएको थियो, जसले वेञ्चबाट मैदान छिरेर ‘इम्प्याक्ट प्लेयर’ को भूमिका निभाउन सक्छिन् ।
विगमन भन्छिन्, ‘मैले टिमको घोषणामा भनेकी थिएँ, अग्येमाङले टिममा केही विशेष ल्याउने गर्छिन् । अहिले उनी भर्खर १९ वर्षकी भइन् । उनलाई आफ्नो भूमिका के हो, त्यो पनि थाहा छ । आफ्नो प्रभावशाली खेल जारी राख्ने हो भने उनको भविष्य निकै राम्रो छ ।’
आर्सनलले सन् २०२३र०२४ को सिजनमा अग्येमाङलाई ऋणमा वाटफोर्ड पठाएको थियो । उनले वाटफोर्डबाट पनि उत्कृष्ट खेल प्रदर्शन गरिन् । अहिले स्विट्जरल्यान्ड पुगेको इंग्लिस टिममा अग्येमाङ नै सबैभन्दा कान्छी खेलाडी हुन् । उनी फ्रान्सविरुद्धको पहिलो खेलमा पनि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन् । अहिले उनको परिचय नै बनेको छ, ‘सुपर सब’ ।
‘उनले जति मिनेट खेल्न पाएकी छिन्, त्यसमै खुसी छिन्, उत्साहित पनि छिन्,’ प्रशिक्षक विगमन थप्छिन्, ‘अबको दिनमा उनको भूमिका अझ बढ्ने छ ।’
वेम्बली ‘बल गर्ल’ को कमाल