काठमाडौँ — पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको आरोप लागेकी पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ ।
उजुरी परेको करिब एक महिनापछि अख्तियारले उनलाई बयानमा बोलाएको हो ।
सांसदसमेत रहेकी श्रेष्ठ बयानका लागि बुधबार अख्तियार कार्यालय पुगेकी थिइन् । दुई साताअघि सार्वजनिक भएको घूस ‘डिल’ को अडियोमा सुनिने आवाजसँग मेल खान्छ कि खाँदैन भनेर अख्तियारले उनको स्वर जाँच गरेको छ ।
अडियोमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच घूस ‘डिल’ भएको सुनिन्छ । अख्तियारले मंगलबार उनीहरू दुवैको स्वर जाँच गरेको थियो । विधि विज्ञान प्रयोगशालाले अडियो सक्कली रहेको पुष्टि गरिसकेको छ ।
घूस प्रकरणमा मुछिएपछि गुप्ताले ३१ असारमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । यही प्रकरणमा जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र पूर्वभूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेलसँग पनि बयान लिने तयारी भइरहेको अख्तियारले जनाएको छ ।