मकवानपुरबाट हराएका तीन सय ५१ मध्ये ३४ अझै बेपत्ता

गढी न्यूज

मकवानपुर-मकवानपुर जिल्लामा गत आर्थिक वर्षमा महिला, पुरुष, ज्येष्ठ नागरिक र बालबालिका गरी ३५१ जना हराएका मध्ये ३४ जना अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आव ०८१/०८२ मा सबैभन्दा धेरै महिला हराएका थिए। प्रहरी नायब उपरीक्षक (प्रवक्ता) श्यामु अर्यालका अनुसार उक्त अवधिमा १५७ महिला हराएका थिए, जस मध्ये १४० जना फेला परे तर १७ जना अझै बेपत्ता छन्।

त्यस्तै, विभिन्न उमेरका ८४ पुरुष हराएको लिखित जानकारी आएकोमा ७८ जना फेला परे र ६ जना अझै बेपत्ता छन्। सोही अवधिमा ७१ बालिका हराएका थिए, जस मध्ये ६६ जना फेला परे तर ५ जना अझै हराइरहेका छन्।

प्रहरीका अनुसार २३ बालक हराएको विवरण प्राप्त भएकोमा २२ जना भेटिएका छन् भने १ जना अझै फेला परेको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकी महिला सेल प्रमुख असई नन्दकला टमाटाका अनुसार गत आवमा १६ जना ज्येष्ठ नागरिक हराएका थिए, जस मध्ये ११ जना फेला परे र ५ जना अझै बेपत्ता छन्।

प्रवक्ता अर्यालले भने, ‘गत आवमा हराएका ३५१ मध्ये ३१७ जना भेटिएका छन् तर ३४ जना अझै फेला परेका छैनन्। उनीहरू कता हराए भन्नेबारे खोजी कार्य जारी छ।’

महिला सेलको ठम्याइअनुसार केही व्यक्ति घर फर्किए पनि प्रहरी कार्यालयमा जानकारी नआएको हुनसक्ने अनुमान गरिएको छ।

Share This Article