शान्तिसुरक्षाको प्रत्याभूति नभएसम्म चुनावी वातावरण बन्न नसक्ने दल प्रतिनिधिकाे भनाइ

गढी न्यूज

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका नेताहरूले फागुन २१ मै निर्वाचन गर्ने हो भने सरकारले इमानदारितासाथ विश्वासको वातावरण बनाउनुपर्ने बताए । सरकारले शान्तिसुरक्षाको स्थिति सुधार्न नसकेकामा उनीहरूले प्रश्न उठाए । शान्तिसुरक्षाको प्रत्याभूति नभएसम्म चुनावी वातावरण बन्न नसक्ने उनीहरूको भनाइ छ ।

चुनावमा सहभागी नहुने भनेर कुनै पनि नेताले नबोले पनि उनीहरूले चुनावी वातावरणलाई लिएर पटक–पटक प्रश्न उठाए । कतिपयले यस्तो वातारणमा चुनाव हुन नसक्नेसमेत दाबी गरे । बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनबारे अझै पनि आम मानिसमा आशंका भएकाले सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।

बैठक स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेल शान्तिसुरक्षाको सवालमा कडा रूपमा प्रस्तुत भएका थिए । उनले २३ र २४ भदौका घटनाक्रमलाई अलग–अलग ढंगले हेरिनुपर्ने बताएका थिए । ‘२३ भदौमा जेन–जीको आन्दोलन थियो । प्रदर्शन हिंस्रक भयो । सरकारका तर्फबाट बल प्रयोग भयो । त्यसको छानबिन होस्, ठीक छ । तर, २४ भदौको घटनालाई पनि त्यसैसँग जोड्न मिल्दैन,’ उनले भने, ‘दोस्रो दिनको घटना लुटपाट, आगजनी र डकैती हो । त्यसलाई त्यहीअनुसार हेरिनुपर्छ । त्यसमा संलग्नहरूलाई कारबाही हुनुपर्छ ।’ २४ भदौमा अराजकता मच्चाउने, हत्या, आगजनी र लुटपाट गर्नेलाई कारबाही नगरिएसम्म शान्तिसुरक्षाप्रति आम नागरिकको भरोसा जाग्न नसक्ने उनको भनाइ छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि प्रहरीका हतियार लुटिएको र जेलहरूबाट कैदी भागेको स्थितिमा शान्तिसुरक्षामाथि गम्भीर प्रश्न उठाए । प्रहरीको मनोबल खस्किनु पनि शान्तिसुरक्षाका लागि चुनौती रहेको उनले बताए । कांग्रेस निर्वाचनको पक्षमा भए पनि सरकारले भरपर्दो काम गर्नुपर्नेमा उनको जोड छ । ‘सरकारले उपयुक्त वातावरण बनाएको छैन । समाजमा त्रास छ । यस्तोमा कसरी चुनाव हुन सक्छ भन्ने आशंका छ,’ उनले भने ।

सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा मुछिएकाले उनले गर्ने काम निष्पक्ष नहुने एमालेका नेताहरूको भनाइ छ । कांग्रेस र एमालेका नेताले सरकारको वैधानिकता, चुनाव घोषणालगायत विषयमा कानुनी परीक्षण पनि बाँकी रहेको प्रश्न उठाएको स्रोतको दाबी छ । समाजमा त्रासको वातावरण कायम भएको उल्लेख गर्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निष्पक्ष, शान्तिपूर्ण र निर्धक्क ढंगले चुनावमा जाने अवस्था नभएको बताए । ‘अहिले त्रासको वातावरण छ । चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका छ । चुनाव भए पनि निष्पक्ष, शान्तिपूर्ण, धाँधलीरहित हुन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने ।

बैठकको प्रारम्भ गर्दै राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको जनाए । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई उनले आग्रहसमेत गरे । निर्वाचनको विकल्प नसोच्न दलहरूलाई पौडेलको आग्रह थियो । राष्ट्रपतिले दलहरूलाई चुनावमा लाग्न र दलहरूले उठाएको सुरक्षाको चिन्तालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जनाए ।

राष्ट्रपतिको सचिवालयद्वारा जारी प्रेस नोटमा प्रधानमन्त्री कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रस्ट जानकार रहेको बताएकी छन् । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्तिसुरक्षाको प्रबन्ध गर्ने उनको भनाइ छ । ‘जेन–जीहरू हामी सबैका छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गदै अगाडि बढ्नुपर्छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शान्तिसुरक्षा कायम गरेर स्वतन्त्र, निष्पक्ष र भयरहित चुनाव गराउन सरकार प्रतिबद्ध छ ।’

तोकिएकै समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध भएकाले त्यसका लागि सहयोग गर्न प्रधानमन्त्री कार्कीले आग्रह गरेको बैठकमा सहभागी एक नेताले जनाए । ‘हामी तोकिएकै समयमा चुनाव गर्छौं । दलहरूले नै निर्वाचनमा भाग लिने हो । त्यसैले निर्वाचनका लागि वातावरण बनाउन दलहरूले सहयोग गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

शान्तिसुरक्षाको विषयलाई दलहरूले जोड दिएपछि राष्ट्रपति पौडेलले पटक–पटक त्यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेताहरूको धारणापछि राष्ट्रपति पौडेलले निर्वाचनको वातावरण बनाउन सरकारले प्रतिबद्धता गरिसकेकाले पार्टीहरूले पनि निर्वाचनका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताएका थिए ।

जेन–जी आन्दोलनको एक महिनापछि पहिलो पटक राष्ट्रपतिको अग्रसरतामा सरकार र राजनीतिक दलहरूबीच संवाद भएको हो । बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री तथा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व रहेका दलका नेताहरूको सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीकै आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री कार्की बिहीबार अर्थमन्त्री रामेश्वर खनाल र सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीसहित देशकै अभिभावकका नाताले दलहरूसँग छलफलको वातावरण मिलाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रपति कार्यालयले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई बोलाएको थियो । बैठकमा कांग्रेस, एमाले, माओवादीसहित दलका शीर्ष नेता थिएनन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार खबर पठाउँदा नै दोस्रो तहका जिम्मेवार पदाधिकारीलाई पठाउन भनिएको थियो ।

सरकार आफैं घोषित मितिमा निर्वाचन गराउन सक्नेमा ढुक्क हुनुपर्ने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । ‘सरकार आफैंले चुनाव हुन्छ कि हुँदैन भन्ने हो । तोकिएकै समयमा निर्वाचन गर्छौं भन्नलाई पहिले वातावरण बनाउनुपर्छ,’ उनले भने ।

सैद्धान्तिक रूपमा निर्वाचनमा जाने विषयमा दलहरूबीच मतभेद नभए पनि तोकिएकै समयमा निर्वाचन हुनेमा बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आशंका व्यक्त गरे ।

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी थिए । बैठकमा राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, जनमत, लोसपा र नेमकिपाका प्रतिनिधिको पनि सहभागिता थियो ।

 

Share This Article