गण्डकमा सम्झौता भन्दा बढी पानी भित्रियो

गढी न्यूज

पवन यादव

बीरगन्ज – गण्डक नहरमा यस सिजनमै सोमबार सर्वाधिक पानी आएको छ । भारतीय पक्षले सोमबार नहरमा ८ सय ५७ क्युसेक पानी दिएको छ । नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुरेश प्रसाद साहले सोमबार दिउसो नहरमा ८ सय ५७ क्युसेक सम्म पानी आएको बताए । ‘सम्झौता अनुसार भारतीय  पक्षले ८ सय ५० क्युसेक पानी दिनु पर्ने हो,’ उनले भने, ‘तर यस बर्ष सम्झौता भन्दा पनि बढी पानी आयो ।’ उनले कार्यालयले निरन्तर सम्झौताको पालना गर्दै पानी दिन भारतीय पक्ष समक्ष लबिंग पनि गरी रहेकाले त्यसकै परिणाम स्वरुप भारतीय पक्षले पानी दिएको बताए ।
आइतबार नहरमा ८ सय १ क्युसेक सम्म पानी आएको थियो । त्यस अघि औसतमा नहरमा ७ सय ५० क्युसेक सम्म पानी आएको थियो । नहरमा पर्र्याप्त पानी आउन थालेपछि ब्लक नम्बर १४ अर्थात रौतहको बंकुल भन्दा पूर्व पानी पुगेको छ । यो नहर १५ ब्लकमा बिभाजित छ ।
नहरमा बाराको पूर्वी क्षेत्रमा अझैपनि पानीको माग रहेको छ । त्यस भेगका केही किसानले धान बालीमा पर्याप्त सिंचाई गरेपछि अब माछा पोखरीमा समेत पानी भर्न थालेका छन् ।
नहर अन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित क्षेत्र रहेकोमा पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बा“की रौतहटमा रहेको छ । सम्झौता अनुसार बर्षेनी धान बाली सिजनमा लागि असार १५ र गहु बालीका लागि पुस १० मा भारतीय पक्षले नहरमा पानी दिनु पर्छ ।
भारतले सम्झौता मितिमै पानी दिएपनि पानीको परिमाण भने सम्झौतामा उल्लेख भए जत्ति अर्थात ८ सय ५० क्युसेक हुने गरेको छैन । नवलपरासीको त्रिवेणी भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउपालिकाबाट नेपाल प्रवेश गर्छ । पर्सा,बारा र रौतहटमा गरी १५ब्लकमा बिभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ भने ८१ किलोमिटर रहेको छ । नेपालमा रौतहटको बागमती नदीमा मिसिएर यो नहर समाप्त हुन्छ ।

Share This Article