रौतहट, ५ साउन– सवारी साधन चलाउन अनुमत्ति प्रदान गर्ने कार्यालय करारका पियनको भरमा संचालन हुन्छ भने पत्यार कसैलाई लाग्दैन । तर यस्तै भईरहेको छ यातायात व्यवस्था कार्यालय गौरमा । अहिले यो कार्यालय पियनको भरमा संचालन भईरहेको छ ।
यातायात व्यवस्था कार्यालय गौरमा ज्यालादारीमा सरसफाईकर्र्मी (स्वीपर) मा नियुक्ती पाएका पिन्टु सिंह भन्ने रोशन सिंहले अहिले कार्यालय चलाईरहेको स्थानीयले आरोप लगाएका छन ।
कार्यालयमा पुरै हालीमुहाली जमाएका सिंहले दिएको सल्लाह बमोजिम कार्यालय प्रमुखले कामकाज गर्दै आएको स्थानीयको भनाई छ । सवारी चालक अनुमतिपत्रमा सेवाग्राहीलाई पास गराउन सरसफाईकर्मी सिंह बिचौलियाको भूमिका खेल्दै आएको स्थानीयको आरोप छ ।
रोशनले पछिल्लो समय यातायात व्यस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताको मुख्य हर्ताकर्ताको रुपमा गैरकानुनी ढंगले अवैध सवारीचालक अनुमतिपत्र बनाएर रकम असुलीको काम गर्दै आइरहेको स्थानीयले आरोप लगाएका छन ।
कार्यालयको प्रमुखको अघोषित मुख्यहर्ताकर्ताको रुपमा सिंह रहेका छन् । चोरीका भारतीय सवारीसाधनलाई अवैध रुपमा नेपालीकरण गरेर दर्ता गर्ने सम्मको काम गर्दै आइरहेको यातायात कार्यालयका एक कर्मचारीले बताए ।

यातायात व्यवस्था कार्यालय गौरमा गैरकानुनी ढंगले खुलेआम लाइसेन्स बिक्री वितरण हुँदै आइरहेको छ । लिखित तथा ट्रायल परीक्षामा समेत सामेल नभएकाहरुको सेटिङको आधारमा खुलेआम लाइसेन्स बिक्री वितरण गर्ने धन्दा चलाउँदै आइरहेको स्रोतले जानकारी दिएको छ ।
स्पीपर सिंहको सेटिङमा लाइसेन्स बनाउन खोज्नेसँग दुई पाङ्ग्रे सवारीसाधनको लागि १0 हजार र चार पाङग्रे सवारीसाधनको लाइसेन्सको लागि १५ देखि २५ हजार खुलेआम बार्गेनिङ गर्दै आइरहेको स्रोतले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट गौरसँग स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन नहुँदा पनि पटक–पटक जरिवानामा परेका चालकहरुले पनि उन्मुक्ति पाउँदै आइरहेका छन् । केही समय यता सेटिङ्गपछि नयाँ तथा थप लाईसेन्स बन्न सुरु भएको एक स्थानीयले सेवाग्राहीले जानकारी दिए ।स्रोतका अनुसार यातायात कार्यालय गौरमा सेटिङ्गमा लाईसेन्स लिनकाका लागि लिखित परीक्षा दिदा २ देखि ५ वटा प्रश्न चिन्हमा टिक लगाउने र ट्रायलमा पास हुन नसक्नेले प्रवेश पत्र बुझाई मात्र हाजिरी बनाउन लगाउने सोही कार्यालयका एक कर्मचारीले बताए ।
उनका अनुसार रकम बुझाएपछि मात्रै अवैध रुपमा लिखित परीक्षामा सामेल नभएपनि पास हुने र ट्रायल नदिई पनि रकमकै आधारमा सवारीचालकको अनुमतिपत्र हात लाग्ने खालको गैरकानुनी काम हुदैँ आइरहेको छ ।
यातायात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताले केही समय अघि नक्सालस्थित अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा बयानको लागि पुगेको स्वीकारे । सोही कार्यालयमा सरसफाइकर्मी मञ्जु देवी रहेकी छन । कार्यालय सहयोगी बिरेन्द्र यादवको छोरा रोहन यादवले गैरकानुनी रुपले स्मार्टकार्ड बितरण गरिरहेको स्रोतले बतायो ।