सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनको एजेन्डामा अझै विवाद

गढी न्यूज

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमत भएका छन् । तर, जेनजी समूहले सर्तका रूपमा अघि सारेको संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन ।
अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राती साढे १० बजेदेखि शुक्रबार बिहानसम्म वार्ता भएको थियो । ‘पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । तर, संसद् विघटको विषयमा भने विवाद कायमै छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको हो । संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर लामो छलफल भएको हो । राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा छ । शुक्रबार फेरि छलफल हुन्छ, सायद सहमति पनि हुन्छ र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।’
बिहीबार साढे १० बजेदेखि पाँच घन्टा वार्ता गरे पनि संसद् विघटको विषयमा सहमति हुन सकेन । शुक्रबार बिहान ९ बजे फेरि छलफल गर्ने तय भएको छ ।
भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो ।
बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए ।
नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए । कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका हुन् ।

Share This Article