गाजाका बजारमा खाद्यान्न अभाव

गढी न्यूज

बेलायत — गाजाका झन्डै १० हजार भोकमरीपीडित परिवारलाई खाद्यान्न किन्नका लागि राहतकर्मीहरूले नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भइरहेको छ ।
संयुक्तराष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले भने बजारमा खाद्यान्नको मूल्यहरू छिनछिनमै उतारचढाव हुने गरेको र अधिकांशका लागि त्यो खरिदको पहुँच बाहिर रहेको बताएको छ ।
इजरायलले राहत सामग्री पठाउन आंशिक मात्रामा अनुमति दिए पनि गाजावासीको गाँसबासका लागि उक्त सहयोग पर्याप्त नरहेको बताइएको छ । सहायता सामग्री बोकेका सवारीसाधनलाई बाटोमा अवरोध पुर्‍याइने र सुरक्षा जोखिम पनि उच्च रहेको छ । महिनौंदेखिको खाद्यान्न अभावले गाजाको जनजीवन झनै कठिन बनेको छ भने, खाद्यान्न खोज्न जाने क्रममा अधिकांश गोलाबारीमा परी घाइते वा मारिने क्रम बढिरहेको छ । विगत दुई दिनमा मात्रै सयभन्दा बढी मानिस खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्तराष्ट्र बाल कोषका उपकार्यकारी निर्देशकले भने, ‘हामीलाई दिनमा करिब ५ सय ट्रक सहायता सामग्री ल्याउन जरुरी छ ताकि स्थिति सुधार होस् र जनताका पीडा कम होस् । सबै नाका र मार्ग प्रयोग गरी गाजामा आवश्यक सामान पुर्‍याउनुपर्छ ।’ इन्धनको आपूर्तिमा पनि समस्या छ । गाजामा केही मात्रामा इन्धन पुगेको भए पनि अझै अत्यन्त कम छ । स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र आपत्कालीन सञ्चारका लागि यहाँ दैनिक लाखौं लिटर इन्धन आवश्यक पर्छ ।
गाजा– जोर्डन, इजिप्ट, जर्मनी, संयुक्त अरब इमिरेट्स ९यूएई०, फ्रान्स र स्पेनले पनि अगस्ट १ मा गाजा क्षेत्रमा संयुक्त रूपमा मानवीय राहत सामग्री खसालेका छन् । जोर्डनको जराकस्थित सैनिक हवाइ अड्डाबाट सुरु गरिएको यस अभियानअन्तर्गत गाजामा करिब ५७ टन अत्यावश्यक सामग्री पठाइएको हो ।
जोर्डनको सेनाले जारी गरेको विज्ञप्तिअनुसार, राहत सामग्रीमा खाद्यान्न, शिशुहरूका लागि दूध र अन्य अत्यावश्यक सामग्री समावेश छन् । यी सामग्रीहरू जोर्डन, जर्मनी, यूएई, फ्रान्स र स्पेनका हवाई जहाजमार्फत गाजामा खसालिएका हुन् । पछिल्लो साता फेरि सुरु गरिएको राहत कार्यअन्तर्गत हालसम्म १ सय ४८ टनभन्दा बढी सामग्री गाजामा पुर्‍याइएको सेनाले जनाएको छ ।
इजरायली सेनाले पनि यस अभियानमा समन्वय गरेको छ । सेनाका अनुसार, गाजामा सहायता अभियानका लागि जर्मनी, फ्रान्स र स्पेन पहिलो पटक सहभागी भएका छन् । यसअघि इजरायल, जोर्डन, इजिप्ट र यूएईबीच मात्र सहकार्य हुँदै आएको थियो । इजरायली सेनाले गाजामा भोकमरी जानाजान गराइएको भन्ने आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर राहत पुर्‍याउने काम जारी राख्ने बताएको छ । राहत सामग्री खसाल्ने कार्यले गाजावासीलाई केही राहत दिएको भए पनि लगातार भइरहेको हिंसा र नागरिक हताहतीले संकट अझै गहिरिएको देखिन्छ ।
गाजामा जारी मानवीय संकट खेपिरहेका पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले घानाका राष्ट्रपति जोन महामाले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरेका छन् । जसले प्यालेस्टिनी जनतालाई भोकमरीबाट जोगाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
‘यस सहयोगमार्फत घानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ,’ राष्ट्रपति महामाले घानाले इजरायल र प्यालेस्टिनीबीच शान्तिपूर्ण सहमतिका लागि हुने वार्तालाई पूर्ण समर्थन रहने पनि बताए । सहायता सामग्रीका लागि घानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति र घानाली जनताप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै उक्त सहयोग गाजाका जनताका लागि निकै महत्त्वपूर्ण भएको बताए ।

Share This Article