
काठमाडौँ- बिरेन्द्रनगर बस्ने इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले धेरैलाई झस्काइदिएको छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको र त्यसमा संलग्न दोषीहरू अहिलेसम्म पत्ता लाग्न नसकेको घटना बिर्सिन नसकिरहेको नेपाली समाजका लागि इनिसाको घटनाले फेरि झस्काइदिएको छ। २०७८ सालयता कर्णाली प्रदेशमा मात्रै ८ सय ८२ वटा जबर्जस्ती करणीका घटना भएका छन्। तिनै घटनामध्ये इनिसाको घटना एउटा थियो। तर यो घटना कसरी भयो? यसको पृष्ठभूमि के थियो र यो घटनालाई कसरी बुझ्ने? यस्तो प्रश्न उब्जिएको छ ।
वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन्। इनिसाका बाबु इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन्। वीरेन्द्रनगर–६ स्थित एकतले घरमा इनिसा आमा र भाइसँग बस्दै आइरहेकी थिइन्। गाउँमा घर भए पनि आमा तिला छोराछोरीलाई पढाउन सजिलो होला भनेर पाँच वर्षदेखि यहाँ बस्दै आएकी थिइन्। छोरीको हत्या भएको खबर पाएपछि बाबु इन्द्रबहादुर दुबईबाट भारत हुँदै सुर्खेत आइसकेका छन् ।

शनिबार बिहान ६ बजेको कुरा हो। इनिसा ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। अघिल्लो दिन नै उनी आमा तिलासँग गुर्भाकोटस्थित गाउँ जाने योजना थियो। इनिसाले पढेर १–२ घण्टामै फर्किने र गाउँ जाने योजना घरमै बनेको थियो। ८ बजेसम्म फर्किन्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि तिलाले छोरीलाई फोन गरिन्। तर उनको फोन अफ थियो। केही बेरमा उनलाई नचिनेको नम्बरबाट फोन आयो—इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भनेर। उनी हतारिँदै सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा थियो। उनी पुग्दा प्रहरी पनि घटनास्थल पुगिसकेको थियो। ‘शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन्, ‘नग्न भएकाले शरीर कालो ज्याकेटले छोपिएको थियो। त्यो हेर्न नसकी म त्यहीं बेहोस भएछु।’ त्यस दिन बिहान प्रहरीलाई करिब ९:१५ बजेतिर घटनाबारे खबर पुगेको थियो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयले हतार–हतार झन्डै १० मिनेट दूरीमा रहेको प्रदेश अस्पताल पुर्याए। तर उपचार सुरु नहुँदै डाक्टरले मृत घोषणा गरे। प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ।
पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अरबिन्द शाक्यले बताए।
विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा इनिसाको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भई भएको पुष्टि गरेको छ ।
यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले आइतबार थप तीन जनालाई पक्राउ गर्यो। आइतबार पक्राउ परेका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन्। परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी उजुरी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले बयानका क्रममा किशोरीसँग शारीरिक सम्पर्क गर्दा अत्यधिक रक्तस्राव भएको बताएका छन्।
पीडितका परिवार, नागरिक समाजका सदस्यहरू र महिला हकअधिकारमा काम गर्ने संघसंस्थाहरू यो घटनामा प्रहरीले निष्पक्ष अनुसन्धान नगर्ला कि भन्ने आशंकामा निरन्तर आन्दोलित छन्।
घटनाको पाँच दिनसम्म पनि वास्तविकता सार्वजनिक नभएको भन्दै पीडित परिवार र विभिन्न संघसंस्था आन्दोलित भएका छन्। पीडितहरूले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए। अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आमा तिला लगायतको टोलीले ज्ञापनपत्र बुझाएका थिए ।
तुलसीपुरस्थित ज्ञानज्योती माविका विद्यार्थीले विकको बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको मागसहित प्रदर्शन गरेका छन्। त्यस्तै जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी संगठन, नेपाल, गुर्भाकोटका युवाहरूलगायतले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।



