किन ? अन्तरिम नेतृत्वमै अड्कियो कांग्रेसमा विभाजित दुई समुहको वार्ता

गढी न्यूज
काठमाडौँ-कांग्रेस विभाजन रोक्ने उद्देश्यले चक्रपथ क्षेत्रमै भइरहेको निर्णायक वार्ता अन्तरिम नेतृत्वको विषयमा अड्किँदा लम्बिएको छ।

वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिने र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा संस्थापन पक्ष केही लचक देखिए पनि तत्काल नेतृत्व फेर्ने प्रस्तावमा भने सहमत देखिएको छैन।

उनका अनुसार आगामी वैशाखसम्म १५औँ महाधिवेशन नहुँदासम्मका लागि अन्तरिम नेतृत्व गठन गर्ने विषयमै सहमति जुट्न सकेको छैन। ‘अन्तरिम नेतृत्वको विषयमा कुरा नमिल्दा अन्य विषय पनि अड्किएका छन्,’ ती नेताले भने, ‘अझै केहीबेर मिलाउने प्रयास जारी छ। सहमति भएन भने आ–आफ्नो बाटो तय हुनेछ।’

वार्तामा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्ना तहमा सहमति जुट्न नसकेको बताए। ‘हाम्रो तहमा कुरा मिलेन। संस्थापन पक्षका नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग थप छलफल गर्न जानुभएको छ। उहाँहरूसँगको छलफलबाट के निस्कन्छ, अहिले नै भन्न सकिँदैन,’ उनले भने।

वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँड सहभागी छन् भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य सहभागी छन्। यस्तै, शेखर कोइराला समूहबाट जीवन कोइराला र मीनेन्द्र रिजाल पनि वार्तामा सहभागी छन्।

विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने पहिलो सर्त अघि सारेका छन्। त्यसपछि विशेष महाधिवेशनले गरेका निर्णय तत्काल कार्यान्वयनमा लैजानुपर्ने, नियमित महाधिवेशन नहुँदासम्म नयाँ अन्तरिम कार्यसमिति बनाएर अघि बढ्ने र नेतृत्वका विषयमा खुला प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव उनीहरूको छ।

वार्ता टुंगोमा नपुग्दा सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठक सुरु हुन सकेको छैन। यता, भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलमा भने नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनको प्रक्रिया अघि बढाइएको छ। मनोनयनका लागि फारम वितरण र भर्ने क्रम जारी छ।

वार्ता सहमतिमा नपुगे नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने देखिएको छ भने संस्थापन पक्ष केन्द्रीय कार्यसमितिबाट कारबाहीको निर्णय गर्ने तयारीमा रहेको बताइएको छ। बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक वार्ता नटुंगिँदा हालसम्म सुरु हुन सकेको छैन।

बार्ता निष्कर्षमा नपुगीरहेको पृष्ठभूमीमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ । राति मतदान गराउन गाह्रो हुने भएकोले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए । ‘अहिले साढे ७ बजेसम्म मनोनयनपत्र पूरा गराउँदैछौं । त्यसपछि हामी छलफल गरेर बाँकी प्रकियाबारे टुंग्याउँछौं,’ संयोजक केसीले भने, ‘राति नै मतदानमा जाने सोच छैन । रातभरि मतदान गर्न गह्रुँगो हुन्छ । भोलि बिहान हुन्छ होला ।’

Share This Article