
द गार्डियनले सन् २०२५ मा सम्झिने ती तस्बिरहरुको कथा भनेको छ, जसमा नेपालको जेन-जी आन्दोलनका तस्बिर पनि समेटिएको छ ।
सिरियामा ५३ वर्षे सत्ताको पतन

जनवरी ५ मा सिरियाको होम्स क्षेत्रको डेर अटियाहमा पूर्वराष्ट्रपति हाफेज अल–असदको विशाल मूर्ति ढालेर ध्वस्त पारिएको तस्बिर विद्रोही आक्रमणपछि ५३ वर्षे असद परिवारको सत्ताको अन्त्यको प्रतीक बन्यो । विद्रोही कारबाहीलाई कतिपयले ‘राजनीतिक मुक्तिको क्षण’ मानेका छन् । फोटो पत्रकार लियो कोरेयाले भने, ‘यो तस्बिरले देश पुनर्निर्माणको आवश्यकता र शान्तिको आशा दुवै बोल्छ ।’
संकटबीच जन्मिएको आशा

स्पेनको लान्जारोटे तट नजिक ६ जनवरी २०२५ मा एक भरिभराउ रबर डुंगामा आप्रवासी महिलाले शिशु जन्माएको तस्बिरले २०२५ को सुरुआतमै विश्व सञ्चारमाध्यमको ध्यान तान्यो । उत्तर–पश्चिम अफ्रिकी तटबाट क्यानरी टापुतर्फको ६० जनाभन्दा बढी यात्रु बोकेको उक्त डुंगामा डेढ दशकयताकै सबैभन्दा जोखिमपूर्ण मानिने एट्लान्टिक महासागर पार गर्ने क्रममा एक बालकको जन्म भएको हो ।
समुद्री उद्धार सेवा साल्भामेन्तो मारितिमोले खिचेको तस्बिरमा डुंगाभित्र रहेका यात्रुहरू नवजात शिशुको आमालाई घेरेर बसेका देखिन्छन्। यो तस्बिर केवल एक जन्मको समाचार होइन महासागरको कठोर छालाबीच पनि मानव जीवनले आशा जन्माइरहन्छ भन्ने सन्देश बोकेको २०२५ को सबैभन्दा शक्तिशाली दृश्य कथामध्ये एक बन्यो ।

त्रास र आस्थाको संगम

२९ जनवरी २०२५ मा भारतको उत्तर प्रदेशस्थित प्रयागराज (अलाहाबाद) मा गंगामा स्नान गरिरहेका हिन्दु तीर्थयात्री तथा नागा साधुहरूको तस्बिर २०२५ का परिभाषित दृश्यहरूमध्ये एक बनेको छ। उक्त दिन बिहानको आध्यात्मिक स्नान अनुष्ठान डरलाग्दो भागदौड (स्ट्याम्पिड) का कारण करिब १२ घण्टा ढिलो सुरु भएको थियो, जसमा ४० भन्दा बढी श्रद्धालुको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएका थिए ।
फोटो पत्रकार एल्के स्कोलियर्सले खिचेको उक्त तस्बिरमा गंगामा समूहगत स्नान गरिरहेका नागा साधु (हिन्दु धर्मका पवित्र साधक) हरू देखिन्छन्, जसले पापमोचन र मोक्ष प्राप्तिका लागि नदीमा डुबुल्की लगाउने परम्परागत अनुष्ठान निर्वाह गरिरहेका थिए। फोटो पत्रकार घटनास्थलमा पुग्दा रातको करिब १:३० बजेतिर भागदौड चलिरहेको थियो, जहाँ उनले मृतकहरूको शरीर जमिनमै लडिरहेको, उद्धारकर्मी र स्वास्थ्य टोली तनावपूर्ण अवस्थामा रहेको र थप भागदौडको जोखिम कायमै रहेको दृश्य देखेकी थिइन्।
अमेरिकामा मानवताको संकट

फेब्रुअरी ११ मा अमेरिकाको संघीय प्लाजामा आईसीई (इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट) द्वारा इक्वेडोरियन नागरिक पक्राउ परेपछि उनकी श्रीमती र बच्चाहरू रोइरहेको दृश्यसँगै सुरक्षा गार्डसमेत भावविह्वल भएको तस्बिरले २०२५ को कठोर आप्रवासन नीतिको मानवीय प्रभावलाई सतहमा ल्यायो । फोटो पत्रकार क्यारोल गुजीले परिवारको रोदन मात्र होइन, ‘कर्तव्यभन्दा माथि उठेको मानवता’लाई समेत क्यामरामा उतारेकी थिइन् । उनले भनेकी छन्, ‘सुरक्षा गार्डहरू सामान्यतया काममै सीमित हुन्छन्, तर त्यो क्षणमा उनी पनि मानिस नै बने ।’
अन्टार्कटिकामा ह्वेलको पुनरागमन

फेब्रुअरी २२ मा अन्टार्कटिकाको नेको हार्बरमा हिमखण्डबीचबाट सतह तोड्दै निस्किएको हम्पब्याक ह्वेलको तस्बिरले प्रकृतिको सुन्दरता मात्र होइन, अस्तित्व र संरक्षणको सफलता समेत बोल्यो । रोई गालिट्जले ड्रोनमार्फत खिचेको तस्बिरमा ह्वेलले श्वास फेर्न सतहमा आउँदा बरफ छरिँदै फूलको आकृति बनेको देखिन्छ । कुनै समय लोपोन्मुख अवस्थामा पुगेका हम्पब्याक ह्वेलहरूको संख्या बढ्दै गएकामा फोटोग्राफरहरूले उत्साह व्यक्त गरेका छन् । तस्बिरले ह्वेलको विशाल आकार र जैविक महत्त्वलाई समेत झल्काउँछ।
प्रश्नमाथि राज्यको बल

२३ मार्च २०२५ मा टर्कीको इस्तानबुलमा सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले एक अनौठो तर शक्तिशाली दृश्य क्यामरामा कैद गर्यो । भ्रष्टाचार आरोपमा पक्राउ परेका इस्तानबुलका मेयर एक्रेम इमामोउलु, राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिस्पर्धी समेत हुन् । उनका समर्थकहरूले उक्त गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएपछि विरोध प्रदर्शन तीव्र बनेको थियो ।
कैयौं दिनसम्म चलेको झडपका बीच क्रिस म्याक्ग्राथले खिचेको तस्बिरमा ग्यास मास्क लगाएका एक प्रदर्शनकारीलाई प्रहरीले पेपर स्प्रे प्रहार गरिरहेको देखिन्छ । फोटो पत्रकारका अनुसार ती व्यक्ति सुफी समुदायका धार्मिक सदस्य नभएर, सांस्कृतिक पहिरनमार्फत ‘शान्त प्रतिरोध’को सन्देश दिन चाहने एक सर्वसाधारण प्रदर्शनकारी भएको अनुमान गरिएको छ । यो तस्बिर २०२५ को राजनीतिक उथलपुथलबीच संस्कृति, विरोध र राज्य शक्तिको टकरावलाई एकै फ्रेममा उतार्ने चर्चित दृश्यमध्ये एक बनेको छ ।
गाजाको व्यथा

गाजा युद्धको सुरुआतदेखि निरन्तर रिपोर्टिङ गर्दै आएका रोयटर्स फोटो पत्रकार अहमद अल–अरिनीले २१ जुलाई २०२५ मा गाजा सिटीमा यस्तो तस्बिर खिचे, जसले युद्धको विनाश मात्र होइन, भोकमरीले थिलथिलिएको मानव जीवनको कहालीलाग्दो यथार्थ पनि उजागर गर्यो । तस्बिरमा एक आमा आफ्नो डेढ वर्षे कुपोषित छोरा मुहम्मदलाई काखमा च्यापेर बसेकी देखिन्छिन् । उनका शरीरका हड्डी छालाभित्रै प्रस्ट देखिने गरी कमजोर अवस्थामा छन् ।
उनले खिचेको यो दृश्य गाजाका नागरिकको ‘भोकलाई हतियार बनाइएको युद्ध’को प्रतीकात्मक फ्रेम बनेको छ। फोटोग्राफरका अनुसार मुहम्मदकी आमा युद्धमा श्रीमान् गुमाएपछि दुई सन्तानसहित एक ध्वस्त भवनको भग्नावशेषभित्र बनाइएको टेन्टमा आश्रय लिएर बस्दै आएकी थिइन् । त्यहाँ न खाना थियो, न शिशुका लागि दूध, न डाइपर, न औषधि–उपचारको सहज पहुँच । ‘मुहम्मद भुइँमा लडेर रोइरहेका थिए । म आफैं बिहानदेखि केही खाएको थिइनँ । उनलाई देखेपछि म आफैंलाई सम्हाल्न सकिनँ,’ अल–अरिनीले तस्बिर खिचिएको क्षणबारे सुनाए, ‘यो तस्बिर संसारसम्म पुग्नैपर्छ, ताकि मानिसहरूले देखून् यहाँ केवल बम र गोली मात्र होइन, भोकले पनि मानिस मारिरहेको छ ।’
गोलीबीच उभिएको पुस्ता

सेप्टेम्बर ९ मा काठमाडौंको सिंहदरबार परिसरमा युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गरेको प्रदर्शन २०२५ को सबैभन्दा हिंसात्मक आन्दोलनमध्येको एक बन्यो । एपीका लागि निरञ्जन श्रेष्ठले कैद गरेको तस्बिरमा सरकारी भवनमा आगो लागिरहेको पृष्ठभूमिमा युवाहरू सेल्फी खिचिरहेको देखिन्छ । आन्दोलनको अघिल्लो दिन सुरक्षा बलको गोली र बल प्रयोगमा दर्जनौं युवाले ज्यान गुमाएका थिए । फोटो पत्रकारले घटनाबारे स्मरण गर्दै भनेका छन्, ‘गोली चलिरहेका बेला छातीमै लाग्ला जस्तो भयो। त्यो रात क्रान्ति सुरु भएको अनुभूति थियो ।’ तस्बिरमा देखिएका युवा आगो लगाउने पक्ष होइन, हिंसा र निराशाबीच उभिएका साक्षी मात्र रहेको उनले उल्लेख गरेका छन् ।
न्युयोर्कको चुनावी उल्लास

नोभेम्बर ५ मा न्युयोर्क सिटीका मेयर जोहरान मम्दानीको जितपछि उनका समर्थकहरू ब्रुकलिनस्थित प्यारामाउन्ट थिएटरमा उल्लास मनाइरहेको तस्बिर रोयटर्सकी श्यानन स्ट्यापलटनले खिचेकी थिइन् । ‘ज्युज फर जोहरान’ लेखिएको टोपी लगाएका समर्थकको हर्षोल्लासले मेयरले सामाजिक सञ्जालमार्फत युवा, विविध समुदाय र अल्पसंख्यक मतदातालाई आकर्षित गरेको तथ्यलाई बल दिन्छ । फोटो पत्रकारहरूले यसलाई २०२५ को ‘सामाजिक सञ्जाल–सञ्चालित राजनीति’को प्रतीकात्मक दृश्य मानेका छन्।
हङकङको आगलागी

नोभेम्बर २६ मा हङकङस्थित ताई पोको वाङ फुक कोर्ट हाउजिङ स्टेटमा भीषण आगलागी भयो । रासायनिक फोम र असुरक्षित बाँसको मचान (ब्याम्बु स्काफोल्डिङ) का कारण आगो तीव्र रूपमा फैलिएको अनुमान गरिन्छ । उक्त घटना दशकौंयताकै सबैभन्दा विनाशकारी आगलागी मानिएको छ । आगोले एकपछि अर्को टावर समात्दै जाँदा स्थानीयवासी त्रसित हुँदै घरबाहिर निस्किएका दृश्यले २०२५ को सबैभन्दा दर्दनाक क्षणमध्येको एक सम्झायो ।
फोटो पत्रकार टाइरोन सिउले घटनास्थलमा कैद गरेको तस्बिरमा ७१ वर्षीय मिस्टर वोंग आफ्नी श्रीमती आगोमा फसेको भन्दै प्रहरीसँग गुहार माग्दै चिच्याइरहेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि विश्वभर भाइरल बनेको थियो । केही दिनपछि पुनः भेटिएका वोंगका छोराले भने, ‘घर अब रहेन भन्ने लाग्यो, तर घर अझै यहाँ छ- बुबा, दिदीबहिनी र परिवार सँगै छौं ।’ आगोले घर नष्ट गरे पनि परिवारको एकता ‘घर’कै परिभाषा बनेर बाँकी रहेको उनको भनाइ थियो । साभार कान्तिपुर अनलाईन

