मनहरी खोलामा ५२ हजार भुरा छाडियो

गढी न्यूज


हेटौंडा — प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौंडाले मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडेको छ।

प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा खोलामा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले केन्द्रले रहु, नैनी र भकुर जातका माछाका भुरा खोलामा छाडेको हो।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ७ नम्बर वडाध्यक्ष ठाकुर तितुङ, केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत बलराम आचार्यलगायतको सहभागितामा मनहरी पुलनजिकैको खोलामा माछाका भुरा छाडिएको हो।

मनहरीका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकामा माछा मारेर जिविका चलाउने समुदाय रहेको भन्दै खोलामा माछा उत्पादन बढ्दा उक्त समुदायलाई सहयोग हुने बताए। मनहरी र राप्ती खोलामा विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी माछा मार्ने र विभिन्न रसायनयुक्त फोहोरले गर्दा माछाको संख्या घटेकाले सबै मिलेर यस्तो काम रोक्नुपर्ने उनले बताए ।

केन्द्रका मत्स्य विकास अधिकृत आचार्यले खोलामा भुरा छाड्दा माछा मारेर जीविकोपार्जन गर्ने समुदायलाई फाइदा पुग्नुका साथै जैविक विविधता कायम रहन सहयोग पुग्ने बताए। केन्द्रले २ महिनाअघि कर्रा खोलामा २५ हजार भन्दा बढी भुरा छाडेको थियो ।

Share This Article