
काठमाडौँ-अर्थतन्त्र सुस्त रहेका बेला नेपाल प्रिमियर लिग (एनपीएल) ले विज्ञापन बजारमा केही उत्साह र तरंग ल्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको खेल प्रतियोगिता राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको र यसले लाखौं दर्शकलाई आकर्षित गर्दै कर्पोरेट जगत्को ध्यान खिचेको यसलाई नियाल्नेहरू बताउँछन् ।
यो वर्षको एनपीएल विगतभन्दा थप व्यवस्थित र राम्रो भएको क्यानका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य छुम्बी लामाको भनाइ छ । विज्ञापनदाताहरूले एनपीएलको ब्रान्डलाई माया गरेको र चासो देखाएका कारण साझेदारी खोज्नेको संख्या बढेको उनले जनाए । ‘एनपीएलको ब्रान्डलाई माया गर्ने र जुन हिसाबले विभिन्न ब्रान्डहरू एसोसिएट हुनुभयो, त्यो विगतको तुलनामा बढेको छ,’ उनले भने, ‘यसपालि क्यानसँग १७/१८ ब्रान्ड जोडिएका छन् ।’

एनपीएलसँग साझेदारी गर्नेमा बैंकिङ क्षेत्र, दूरसञ्चार कम्पनी, पेय ब्रान्ड, दुईपांग्रे, चारपांग्रे सवारीसहित फिनटेक कम्पनीसमेत रहेका छन् । एनपीएलले टेलिभिजन, ओटीटी र अनलाइनमार्फत लाखौं दर्शक जुटाएको र हरेक दिन हजारौं दर्शक मैदानमा उपस्थित भएकाले ब्रान्डहरूका लागि ‘भिजिबिलिटी’ दिने प्रभावकारी कार्यक्रम बनेको लामाको भनाइ छ । यसपालि धेरै ब्रान्ड आफैं इच्छुक भएर क्यानसँग जोडिन आएको र यसबाट क्यानलाई मात्रै नभएर समग्र देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनको दाबी छ ।
यसपालि नेपाली ओटीटी प्लाटफर्म र नेपाली ब्रोडकास्टरबाटै एनपीएल प्रसारण गर्नु सुखद पक्ष रहेको र यसबाट साना विज्ञापनदाताहरूले पनि विज्ञापन राख्ने अवसर पाएको विज्ञापन संघका अध्यक्ष सुदीप थापाले बताए । यो सिजनले विज्ञापनदाताहरूमा विश्वास बढाएको र यसले समग्र अर्थतन्त्र गतिशील बनाएको उनले उल्लेख गरे ।






