खरानी बन्यो नेपाली राजनीतिक परिवर्तनको साक्षी कोइराला निवास

गढी न्यूज

भीषण आगोको ज्वालाले क्षणभरमै खरानीमा परिणत हुन्छ, नेपाली राजनीतिक परिवर्तनको जीवित साक्षी कोइराला निवास । जेन–जी आन्दोलन पछिको प्रदर्शनमा विराटनगरको मुटु हल्लिरहेको थियो, नेताहरूविरुद्धको नाराको गर्जन सहरभर गडगडाएको थियो ।

त्यही उथलपुथलको घडीमा २००७ साल अघिदेखि गणतन्त्रको घोषणासम्म निरन्तर राजनीतिक बिगुल फुक्दै आएको ऐतिहासिक घर आगोको लप्कामा विलिन भयो । अब इतिहासका पानामा मात्रै सीमित रहनेछ ।

‘शताब्दी घर’ को जग

विसं १९८६ (सन् १९२९) तिर नेपालमा जहानियाँ राणा शासन उत्कर्षमा थियो । छिमेकमा इष्ट–इन्डिया कम्पनीको सत्ता त्यत्तिकै सबल । त्यही कठोर समयको बीचमा विराटनगरको एउटा कुनामा देख्दा सामान्य तर अर्थपूर्ण घर उभियो ।

कपडाको साधारण व्यापार गर्ने कृष्णप्रसाद कोइरालाले आफ्नै मिहिनेत र पसिनाको कमाइले सिर्जिएको त्यो घर एक दिन नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण साक्षी बन्नेछ भन्ने अनुमान कसैले गरेका थिएनन् । खासमा मूल्यवान काठले बनेको त्यो घर मात्रै थिएन, नेपाली लोकतन्त्रको जन्मगृह थियो ।

कृष्णप्रसाद कोइराला पेसाले व्यापारी थिए भने समाज सुधारकको भूमिकामा पनि अग्रणी । उनका तीन छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने– मातृकाप्रसाद कोइराला (२००८), विश्वेश्वरप्रसाद कोइराला (२०१६ जेठ) र गिरिजाप्रसाद कोइराला (२०४८ जेठ) । एकै परिवारबाट तीन प्रधानमन्त्रीको उदय हुनु इतिहासमै अनुपम र दुर्लभ उदाहरण हो ।

सिन्धुलीको दुम्जा गाउँमा जन्मेका कृष्णप्रसाद पछि विराटनगर बसाइँ सरे । उनले देशभरका विभिन्न भन्सार ठेक्का लिएर ठूलो सम्पत्ति कमाए । व्यापारका क्रममा कोलकातासम्मको आवतजावत बढ्दा उनी राजनीतिक क्रियाकलापमा सक्रिय भए । विराटनगरमा विद्यालय स्थापनासँगै महिला समितिमार्फत महिलामाझ चेतना फैलाउने, छोरीहरूको शिक्षा प्रोत्साहन गर्नेजस्ता समाज सुधारका कार्यहरूमा नेतृत्व गरे ।

पछि मातृका, बीपी, गिरिजाहरूकै नेतृत्वमा नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिको बिगुल फुक्यो । जसले प्रजातन्त्रको उज्यालो ल्यायो र पटक–पटक अधिनायकवादको प्रतिरोध गर्‍यो । २००७ साल, ३० वर्षे पञ्चायती कालरात्रि, २०४६ को जनआन्दोलनदेखि २०६२/२०६३ को दोस्रो जनआन्दोलनसम्मै यो घर राजनीतिक केन्द्र बन्यो ।

धेरै विद्रोही आन्दोलन देखेको/भोगेको यो विद्रोही घर जेन–जी विद्रोहको आवेगमा खरानी भयो ।

राणाविरोधी आन्दोलनको उद्गम

सन् १९४७ मा भारतमा बेलायती शासकविरुद्ध ‘भारत छोडो’ आन्दोलन सफलताको बाटोमा थियो । त्यही बेला विराटनगरमा पनि भारतीय आन्दोलनको प्रत्यक्ष प्रभाव महसुस हुन थाल्यो र त्यसैको रापतापमा राणा शासनविरुद्ध सबै एकढिक्का हुँदै गए ।

राणाविरोधी गतिविधि तीव्र बन्दै गएपछि जुट मिल हडतालको आह्वान गरियो । जुट मिल नेपालकै पहिलो उद्योग हो । यो विसं १९९३ मा स्थापना भएको थियो । यही घरको बैठक कोठामा बसेर आन्दोलनको ‘डिजाइन’ तयार पारिएको थियो । कृष्णप्रसादको कोठामा बसेर बीपीले श्रमिक नेताहरूसँग रणनीति तय गर्दै भनेका थिए, ‘अब यसलाई निर्णायक आन्दोलन बनाउनुपर्छ ।’

यहीँबाट पहिलो पटक आम हडताल र जनआन्दोलनको विचार प्रक्षेपण भयो र क्रमशः भुसको आगोझैं देशभर आन्दोलन सल्किँदै गयो ।

खासमा व्यापारी भए पनि कृष्णप्रसादको राजनीतिक चेत निकै उच्च थियो । स्वभावले उनी साहसी र आँटिला थिए । त्यसैले होला, एक पटक तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई किसान र मजदुरको दुःख देखाउन कृष्णप्रसादले फाटेका लुगा दरबारमा पठाएका थिए । त्यही कारण राणा प्रधानमन्त्री चन्द्रशमशेरले सर्वस्वहरण गरेपछि कृष्णप्रसाद सन्तानसहित भारत निर्वासित भए ।

विराटनगर महानगर १२ का ८३ वर्षीया जगत अर्याल सम्झिन्छन्, ‘कृष्णप्रसाद भन्थे, दरबारलाई जनताको पीडा देखाउनै पर्छ, तब मात्र परिवर्तन सम्भव हुन्छ ।’

पञ्चायत प्रतिरोधको गढ

विसं २०१७ पुस १ गते, तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी पञ्चायती शासनको आरम्भ गरे । बीपीले तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी जीवन बिताए ।

उनी जेलमा रहँदा पनि कोइराला निवास फेरि पञ्चायतविरुद्धको प्रतिरोधको गढ बनेको थियो । घरको आँगनमा कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसका नेताहरू रणनीति तय गर्थे, गोप्य छलफल हुन्थे र आन्दोलनको तयारीमा जुट्थे । जेलबाट छुटेपछि बीपी आफैं आन्दोलनको अग्रपंक्तिमा देखिन थाले ।

आधुनिक नेपाली लोकतन्त्रका ‘जननेता’ बीपी कोइराला यही घरमा बस्दै सात सालको क्रान्तिमा सहभागी भए । २०१५ सालको पहिलो आमनिर्वाचनमा बीपी यहीँबाट उम्मेदवार बनेर विजयी भए र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

२०३७ सालको जनमत संग्रहमा बहुदल पक्षको प्रचारप्रसारको सचिवालय पनि यही घर थियो ।

२०४२ को सत्याग्रह, पञ्चायतकालीन दमनको प्रतिरोध, २०४६ को जनआन्दोलन र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवास नै विराटनगरको राजनीतिक केन्द्र बनिरह्यो ।

कोइराला निवास निरन्तर बैठक, गोप्य योजना र राजनीतिक छलफलको अड्डा पनि थियो । यो घर नेपाली लोकतन्त्रको अनेकौं निर्णायक क्षणको साक्षी बनेको थियो । कहिले पञ्चायतको अधिनायकवादसँगको संघर्ष, कहिले प्रजातन्त्रको उज्यालो फैलाउने तयारी । प्रत्येक बैठक, प्रत्येक रणनीतिले यही घरको आँगनमा आकार लिन्थ्यो । अनि राष्ट्रको राजनीतिक दिशालाई निर्देश गर्थ्यो ।

नेपाल–भारतको साझा थलो

कोइराला निवास नेपाली नेताका लागि मात्र होइन, भारतीय लोकतन्त्रका महत्त्वपूर्ण पात्रका लागि पनि आश्रयस्थल बनेको थियो । भारतका पूर्वप्रधानमन्त्री र समाजवादी नेता चन्द्रशेखर अक्सर कोइराला निवासमा आउजाउ गर्थे । कोइराला परिवारकी सदस्य पाना उराँउ सम्झिन्छिन्, ‘एक पटक भारतीय नेता चन्द्रशेखर आउनुभएको थियो । उहाँ गिरिजाबाबुको खटियामा सुत्नुभएको थियो । उहाँले आफूलाई कोइराला निवास घरजस्तो महसुस भएको बताउनुभएको थियो ।’

नेपाली राजनीतिका बीपी साहित्यका विश्वेश्वर थिए । भारतीय नेताहरू त आउने नै भए, साहित्यकार पनि आइरहन्थे । त्यसैमध्ये पर्थे, चर्चित साहित्यकार फणीश्वरनाथ रेणु । उनी बीपीसँग साहित्यका कुरा गर्न रेल चढेर विराटनगर ओर्लिन्थे । केही समय कोइराला निवासको राजनीतिक र साहित्यिक धड्कन सुनेर फर्किन्थे । उनी भन्ने गर्थे, ‘यो घर राजनीतिक केन्द्र मात्र होइन, दक्षिण एसियाली राजनीतिक मित्रताको अनुपम नमुना पनि हो ।’

लेखक चन्द्रमणि गौतमका अनुसार २००३ सालको मजदुर आन्दोलनदेखि २००७ सालको ऐतिहासिक जनक्रान्तिसम्म रेणु विराटनगरमा बस्दै बौद्धिक र भौतिक दुवै तरिकाले सक्रिय रहे । उनी लेखक मात्रै थिएनन्, स्वतन्त्रता नेपालको प्रजातन्त्र प्राप्तिका सेनानी पनि थिए । ‘आन्दोलनको उग्र क्षणमा उनी गोली लागेर घाइतेसमेत भए तर स्वतन्त्रता र सामाजिक न्यायका लागि उनको साहस अडिग रह्यो,’ गौतमले लेखेका छन् ।

कोइराला निवासबारे जानकार विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने भन्छन्, ‘कसैले कल्पना पनि गर्न सक्दैन, एउटा साधारण व्यापारीको घर यति धेरै ऐतिहासिक–राजनीतिक घटना र अन्तर्राष्ट्रिय भेटघाटको साक्षी बनेको कुरा ।’

गिरिजाप्रसाद–गणेशमानको ऐतिहासिक रात

२०५१ सालको एउटा राजनीतिक घटनाले यो घरको ऐतिहासिकतालाई थप उजागर गर्छ । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद्मा प्रस्तुत आफ्नै नीति तथा कार्यक्रम अस्वीकार भएपछि संसद् विघटनको घोषणा गरे ।

यसको जड भने केही वर्षअघिको पार्टीभित्रको आन्तरिक कलह थियो । २०४८ सालमा कोइराला प्रधानमन्त्री बनेपछि उनी र सर्वोच्च कमान्डर गणेशमान सिंहबीच मतभेद तीव्र हुँदै गएको थियो ।

विवादको सुरुवात राष्ट्रिय योजना आयोगको उपाध्यक्ष कसलाई बनाउने ? भन्ने विषयबाट भएको थियो । कोइरालाले रामशरण महतलाई उपाध्यक्ष नियुक्त गरे तर गणेशमान त्यो नियुक्तिको खिलाफ उत्रिए ।

उनले चुनावमा पराजित व्यक्ति नियुक्त गर्नु उपयुक्त नहुने तर्क मात्रै राखेनन्, पदीय भागबन्डामा सधैं ‘बाहुन–क्षत्री’ लाई मात्र प्राथमिकता दिने प्रवृत्तिको पनि आलोचना गरे ।

यसरी सुरु भएको असहमति क्रमशः गहिरिँदै गएर अन्ततः संसद् विघटनको निर्णयसम्म पुग्यो । गिरिजाप्रसाद राजीनामा दिएर बसेका थिए ।

नेपाली कांग्रेस चरम रूपमा आन्तरिक विवादमा जकडिएका बेला पार्टीका सर्वोच्च कमान्डर गणेशमान सिंह देशव्यापी जनजागरण यात्रामा निस्किए ।

त्यही मेसोमा गणेशमान आइपुगे विराटनगर । यी परिघटनाहरूले गिरिजासँग उनको सम्बन्ध चिसिएको आम बुझाइ थियो । त्यसैले उनले पक्कै गिरिजालाई भेट नगर्लान् भन्ने आम आकलन फेल खायो । सिंहले गिरिजालाई भेटेनन् मात्रै त्यो रात कोइराला निवासमै बिताए । राति गिरिजासँगै सुतेका गणेशमानले बिहानै पत्रकार सम्मेलन गरे । अरू बेला गिरिजाले यही घरको बार्दलीबाट पत्रकार सम्मेलन गरी महत्त्वको राजनीतिक घोषणा गर्थे । कुनै बेला विवादास्पद टिप्पणी गरेर आलोचित पनि बन्थे । तर त्यो बेला गणेशमानले गिरिजाविरुद्ध फायर मात्रै खोलेनन्, पार्टी नै परित्यागको घोषणा गरे, जसले कांग्रेसको राजनीतिमा नयाँ कोर्सको सुरुवात भयो ।

खरानी बनेको सम्पदा

यो घरमा नेपाली कांग्रेसका अमूल्य अभिलेख, ऐतिहासिक दस्ताबेज, महाधिवेशन प्रतिनिधिहरूको सूची, बीपीका हस्तलिखित पत्र, राणाविरोधी गोप्य योजनाका टिपोटदेखि विभिन्न कालखण्डका दुर्लभ तस्बिरसम्म सुरक्षित थिए ।

केही वर्षअघि सुन्दरीजलको बीपी संग्रहालयमा केही पुराना कागजात पुर्‍याइएको भए पनि बाँकी सबै यतै थिए । बीपी, गिरिजाका पुराना सम्झनादेखि गाडीसम्म सबै आगोमा स्वाहा भए ।

विराटनगर आउनेबित्तिकै कांग्रेस नेता शेखर कोइराला सधैं यही घरमा बस्ने गर्थे । जसरी विगतमा काका गिरिजा बस्थे, उसैगरी शेखरले यो घरलाई संरक्षण गरिरहेका थिए ।

बीपी र गिरिजाका माइला दाजु केशव कोइरालाका छोरा हुन्– शेखर । उनी भन्छन्, ‘यो घर यसरी एकैछिनमा मासिन्छ भन्ने कुरा हामीले सपनामा पनि सोचेका थिएनौं ।’

घरका प्रमुख उत्तराधिकारी डा. शेखर अहिले पुनर्निर्माणको योजना बनाइरहेका छन् । उनको भनाइमा यो घर काठ, इँटा र ढुंगाको थुप्रो मात्र होइन, नेपालको लोकतान्त्रिक यात्राको जीवित स्मृति हो । यसलाई पुरानो स्वरूपमै फर्काउने योजनामा उनी छन् ।

विराटनगर महानगर नेपाली कांग्रेसका सभापति दीपक चापागाईं भन्छन्, ‘यो घर जनताको अधिकारका लागि राणा र राजाविरुद्ध लडेको प्रतीक हो । जेन–जीका नाममा योजनाबद्ध रूपमा जलाइएको हाम्रो दाबी छ, यो गलत भयो ।’

नेपाली कांग्रेस सुनवर्षीका नेता यज्ञ कार्कीले आफू विद्यार्थी रहँदा पटक–पटक कोइराला निवास आएको स्मरण गर्दै नोना आमाले खाना पकाएर खुवाएको बताए । भने, ‘यो घरमा सबैका लागि सधैं भात पाक्थ्यो । जसले आएर खाँदा पनि हुन्थ्यो ।’

पञ्चायतकालमा पनि पटक–पटक आक्रमणको ‘तारो’ बनेको यो घर यस पटक भने कसैले जोगाउन सकेनन् । ‘पहिले हरेक आक्रमणबाट स्थानीयवासी ढाल बनेर जोगाउँथे तर यस पटक भने कसैले जोगाउन सकेनन्,’ उनी भन्छन् ।

कोइराला निवासको अगाडि पसल सञ्चालन गर्ने एक प्रत्यक्षदर्शी सम्झिन्छन्, ‘अचानक थाम्नै नसक्ने भीड आयो । भीडले हाम्रो कुरा सुन्ने अवस्था नै थिएन ।’

ऐतिहासिक धरोहरहरू जोगाउने जिम्मा राज्यको थियो । तर, त्यो अराजक भीडसामु राज्य आफैं निरीह थियो । सुरक्षाकर्मी आत्मसमर्पण गरेर बसेका थिए । ‘त्यो एक दिन भीडतन्त्र थियो । भीडले गरेको निर्णय अन्तिम निर्णय थियो,’ विराटनगरकी पुराना बासिन्दा उमा पोखरेलले भावुक हुँदै सुनाइन्, ‘भीडतन्त्रले लोकतन्त्रको केन्द्र खरानी पार्‍यो ।’

लामो परिवर्तनको साक्षी कोइराला निवास अब खरानीमा बदलिएको छ । तर यसको योगदान अझै नेपाली जनताको चेतनामा ज्वलन्त छ । जेन–जीको विद्रोह होस् वा अर्को पुस्ताको आन्दोलन, लोकतन्त्रको बाटो यही स्मृतिको खरानीमाथि पुनः अंकुराउनेछ ।

पाना उराँवको पहरेदारी

विसं २०३४ साल । विराटनगरको कोशी अस्पताल छेउको पुरानो घर, कोइराला निवास ।

त्यही घरमा पहिलो पटक आदिवासी युवती पाना उराँवले ढोका ढकढक्याइन् ।

त्यसबेला जननायक बीपी कोइराला जीवित थिए, यो घर राजनीतिक रस्साकसीको केन्द्र थियो ।

त्यो दिनदेखि आजसम्म, करिब पाँच दशकयता पाना यो घरको अदृश्य छाया बनेर बसिरहिन् ।

यसबीचमा कति सदस्य बिते, कति नयाँ जन्मिए, कति राजनीतिक आँधीबेहरी आए–गए । तर पानाको जीवन भने त्यही पुरानो ढोका, त्यही बुइगल, कौसी आँगनसँग अडिएर रह्यो ।

पानाले विवाह गरिनन्, छुट्टै संसार बनाइनन् । किनकि कोइराला निवासको रखवाली गर्दागर्दै उनले फुर्सदै पाइनन् ।

‘कोइराला निवास नै मेरो परिवार हो, माइती पनि यही, मावली पनि यही,’ उनको प्रस्ट स्वरमा घरको इतिहासजस्तै गहिरो दृढता सुनिन्छ ।

कृष्णप्रसाद कोइरालाले जग हालेको यो घरलाई पानाले आफ्नो रगत–पसिनासँग गाँसेर जोगाइन् ।

आज ६५ वर्ष पुगेकी उनी अझै यहीँको सेवामा समर्पित थिइन् ।

तर, २४ भदौको डरलाग्दो घटना देखेपछि उनी विचलित भइन् । त्यसअघि उनलाई कहिल्यै त्यस्तो भएको थिएन । आँखा अघिल्तिर इतिहास जलेको दृश्यले अझैसम्म उनी काँपिरहेकी छन् ।

जीवनभर कोइराला निवासको पहरेदारी गरेकी उनी त्यो दिन बिलकुल मौन रहिन् । ‘मलाई त ऐंठन भएझैं भयो,’ त्यो घटना सम्झिन्छिन्, ‘कसोकसो ज्यानचाहिँ जोगियो ।’

त्यो घटनापछि उनी पहिलो पटक कोइराला निवास छाडेर बाहिर निस्किइन् । सााभार कान्तिपुर

Share This Article