
जनकपुर – भदौ २३ गते जेन–जीको आन्दोलन उत्कर्षमा पुगेको र २४ गतेको प्रदर्शनले विध्वंस मच्चाइरहेका बेला जनमत पार्टीका तत्कालीन प्रवक्ता शरदसिंह यादवले मधेश प्रदेश सरकारबाट मुख्यमन्त्रीले राजीनामा गर्ने र ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिएको निर्णय सार्वजनिक गरे ।
‘पार्टी अध्यक्ष डा. सिके राउतको सल्लाहमै आफू पदबाट राजीनामा दिँदैछु,’ प्रवक्ता यादवको निर्णयलगत्तै सम्पर्क गर्दा मुख्यमन्त्री सिंहले भनेका थिए, ‘जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्याएको हो, जनता भन्दा ठूलो कोही पनि छैन । जेन–जीको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुःखी बनाएको छ । जनता आक्रोशित छन् ।’
लगत्तै मुख्यमन्त्री सिंहले आफ्नो फेसबुक वालमा नागरिकको ज्यानभन्दा ठूलो अरू केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गरेको ब्यहोरा पोस्ट गरे ।
तर, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी त्यति बेला काठमाडौँमा रहेकाले मुख्यमन्त्री सिंहले लिखित राजीनामा बुझाउन पाएका थिएनन् । प्रदर्शनले सबैतिर अस्तव्यस्त हुँदा मुख्यमन्त्री सिंह पनि केही दिन जनकपुर बाहिर रहे । प्रदेश प्रमुखसमक्ष राजीनामा दिन भदौ २७ गते सोमबार मुख्यमन्त्री सिंह जनकपुर फर्किए ।
‘प्रदेश प्रमुखको निवासमा पुग्दा त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाबाहेक कोही थिएन,’ मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेशकुमार झाले भने, ‘प्रदेश प्रमुख जनकपुर आइनपुग्नु भएको जानकारी मुख्यमन्त्रीलाई गराए । सोधीखोजी गर्दा प्रदेश प्रमुख दुई–चार दिनमा जनकपुर फर्किने जानकारी आयो ।´
प्रदेश प्रमुख भण्डारी काठमाडौँमै रोकिँदा र मुख्यमन्त्री सिंहले राजीनामा दिने हो/होइन भन्ने संशयलाई नै उनकै दल जनमत पार्टीले थप मलजल गरिदियो । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले भदौ २८ गते प्रदेश प्रमुख भण्डारीलाई लेखेको पत्र उनले फेसबुकमार्फत सार्वजनिक गरे । पत्रमा ‘जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता, साथै मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको जानकारीसहित निवेदन छ’ उल्लेख थियो ।
मुख्यमन्त्री सिंहलाई बिच्काउन यो पत्र नै काफी थियो । ‘मुख्यमन्त्री पदबाट राजीनामा गर्न तयार नै छु । प्रदेश प्रमुख नहुँदा मैले कसलाई बुझाउने राजीनामा पत्र ?’ मुख्यमन्त्री सिंहले आफ्ना निकटसँग आक्रोश पोख्दै भने, ‘मसँग जोडिएको पार्टीको आन्तरिक निर्णयहरू क्षणभरमै सामाजिक सञ्जालमा किन राखिन्छ ?’
यसबीचमा मुख्यमन्त्री सिंहले आफ्ना सारथी दल एमाले, कांग्रेस, लोसपाबाट मन्त्री रहेका र उनका नेताहरूसँग पनि परामर्श गर्छन् । विपक्षी दल जसपा, माओवादी (केन्द्र), नेकपा (एस) लगायतका दलका उच्च नेताको छलफलपछि मुख्यमन्त्री राजीनामा नगर्ने मुडमा पुगे ।
राजीनामा किन नदिएको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले एक पटक २४ घण्टे र अर्को पटक ३ दिनको समय दिएर स्पष्टीकरण पनि सोधेको छ । मुख्यमन्त्री सिंह भने पार्टीको निर्देशन र स्पष्टीकरण मामिलामा मौन छन् ।
मुख्यमन्त्री सिंहले राजीनामा नदिँदा आफ्नै दलको नेतृत्वमा रहेको सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सिंह पनि राजीनामा नगर्ने, बरु प्रदेशसभामा विश्वासको मत फेस गर्ने निर्णयमा पुगेका छन् ।
शुक्रबार जनकपुरमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री सिंहले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि पदबाट राजीनामा नगरेझैँ आफू पनि संघीयताको रक्षाका लागि मुख्यमन्त्री पदबाट राजीनामा नगर्ने बताएका छन् ।
‘हो, परिस्थिति अर्कै मोड लिँदा मैले २४ भदौमा राजीनामा गर्ने घोषणा गरेकै हो,’ मुख्यमन्त्री सिंहले भने, ‘तर, गठबन्धन दल र विपक्षी दललगायतले अहिले मुख्यमन्त्री फेरिने क्रम चल्दा संघीयतालाई समस्या पर्न सक्ने विश्लेषण गरेपछि म पछि हटेको हो ।’