जेनजी आन्दोलनमा देशभरका एक सय ४६ नगर र ४० गाउँपालिका कार्यालयमा क्षति

गढी न्यूज

काठमाडौँ – भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्‍याएको छ । 

देशभरका ५३ प्रतिशत नगरपालिकाहरू कुनै न कुनै प्रकारले क्षति भएका प्रारम्भिक विवरण संकलन गरिएको तथ्यांकमा उल्लेख छ । आन्दोलनका कारण देशभरका १४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको यस्तो तथ्यांकमा देशभरका १७ वटा नगरपालिका भने समावेश छैनन् ।

क्षति विवरणको सारांश अनुसार १३० वटामा कुनै क्षति भएको छैन, ६९ वटा नगरपालिकामा तोडफोड (मध्यम क्षति) भएको छ भने ७७ वटा नगरपालिकामा आगजनी (गम्भीर क्षति) भएको उल्लेख छ ।

आगजनीबाट सबैभन्दा बढी प्रभावित हुने प्रदेश मधेस रहेको छ, जहाँ ३२ वटा नगरपालिकामा आगजनी भएको पाइएको छ । कोशी प्रदेशमा १९, बागमतीमा १०, लुम्बिनीमा ८, सुदुरपश्चिममा ५, गण्डकीमा २ र कर्णाली प्रदेशमा १ वटा नगरपालिकामा आगजनी भएको छ ।
मध्यम क्षति तोडफोडको घटना पनि मधेस प्रदेशमै सबैभन्दा बढी २१ वटा नगरपालिकामा भएको छ । त्यसपछि लुम्बिनीमा १६, बागमतीमा ११, कोशीमा ७, सुदूरपश्चिममा ६, कर्णालीमा ५ र गण्डकी प्रदेशमा ३ वटा नगरपालिकामा तोडफोड भएको पाइएको छ ।

आन्दोलनको क्रममा बागमती प्रदेशका २४, गण्डकीका २२ र कोशी प्रदेशका २१ वटा नगरपालिकामा कुनै क्षति नभएको विवरणमा उल्लेख छ । यसले यी प्रदेशहरूमा आन्दोलनको असर कम देखिएको जनाउँछ ।

देशभरका कुल २९३ नगरपालिकाहरूमध्ये १७ वटा नगरपालिकामा भने सम्पर्क स्थापित हुन नसकेको नगरपालिका संघले जनाएको छ । यसमध्ये सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९ वटा नगरपालिकामा सम्पर्क हुन सकेको छैन । यस्तै, मधेस प्रदेशमा ६ र कोशी प्रदेशमा २ वटा नगरपालिकामा पनि सम्पर्क स्थापित हुन नसकेको नगरपालिका संघले जनाएको छ ।

जेनजी आन्दोलनले क्षति पुर्‍याएका गाउँपालिका भवनको विवरण पनि सार्वजनिक  भइसकेको छ । गाउँपालिका राष्ट्रिय महासंघले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्यांक सार्वजनिक गरेको हो ।  देशभरी रहेका ४६० गाउँपालिका मध्ये २२ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्ण क्षति र १८ आंशिक क्षति पुगेको छ । तथ्यांकअनुसार कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।

कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा ९ र आंशिक रूपमा ५ वटामा क्षति पुगेको छ । वडा कार्यालयको भवन ३८ पूर्ण र २० आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

मधेश प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ६ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको ३ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

बागमती प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ४ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन  ३ वटामा आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

गण्डकी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ३  वटामा आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन एउटामा  आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ३ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन २ पूर्ण र ४ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण रूपमा क्षति भएको छ ।

कर्णाली प्रदेशमा गाउँपालिकाको  प्रशासनिक भवन, वडा कार्यालयको भवन र  गाउँपालिका जनप्रतिनिधिको घरमा कुनै क्षति भएको छैन ।

सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ५ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १३ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण रूपमा क्षति भएको छ ।

समग्रमा, गाउँपालिकाको २२ प्रशासनिक भवन पूर्ण र १८ आंशिक रूपमा, ४१ वडा कार्यालय पूर्ण र ४३ आंशिक रूपमा र १० जनप्रतिनिधिको घर पूर्ण र ३ वटा आंशिक रूपमा क्षति भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पुगेको बताएको छ। महासंघले सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

Share This Article